शुभाकर विश्वकर्मा, कोहलपुर
नेपाली काँग्रेसकी नेत्री तथा केन्द्रीय सदस्य डिला संग्रौलाले देशभर बढ्दै गइरहेको हत्या, हिंसा र बलात्कारका घटनाप्रति सरकार गम्भीर नरहेको आरोप लगाएकी छन् । बिहीबार कोहलपुरमा भागरथी भट्टको न्यायको लागि भएको विरोध प्रर्दशनमा बोल्दै उनले महिलामाथि हुने गरेका जघन्य अपराधमा समेत सरकारले पीडितलाई न्याय दिन नसकेको बताएकी हुन् ।
लायन्स क्लब अफ कोहलपुर कस्तुरी र मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा भएकोे विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्मला पन्त, सम्झना विक र भागरथी भट्टको न्यायको लागि सबै महिला एकजुट हुन समेत अपिल गरेकी थिइन् । ‘आज हत्या, हिंसा बलात्कार कम्युनिष्ट सरकारको चमत्कार बन्न थालेको छ ।
अझै पनि हजाराँै, निर्मला र भागरथीहरु बलात्कारको सिकार हुनु परेको छ । स्कूल पढ्न गएकी किशोरी घर फर्किन पाउँदिनन् । खै न्याय कहाँ लुकेको छ सरकार ?’ उनले भनिन् । विघठित प्रतिनिधिसभा सदस्य समेत रहेकी संग्रौलाले निर्मला पन्तको हत्या भएको बेलामा सदनमा प्रधानमन्त्री र गृहमन्त्रीलाई निर्मलाका हत्यारा बालुवाटार र सिंहदरबार कहाँ छन्, सार्वजनिक गर ? भनेर प्रश्न गरेको समेत स्मरण गरिन् ।
यस्ता घटनाहरुले दैनिक हजारौँ किशोरी र आमाहरुको मन दुःखेको उनको भनाई थियो । कोहलपुरमा न्यायको लागि पार्टी भन्दामाथि उठेर प्रदर्शनमा आएकालाई धन्यवाद व्यक्त गर्दै उनले देशभरका महिला न्यायका खातिर सडकमा आउनुको विकल्प नरहेको बताइन् ।
उनले नेपालमा हत्या, हिंसा र बलात्कारका घटनाहरु न्यूनिकरणको विकल्प नरहेको पनि बताइन् । ‘अपराधीले संरक्षण पाउने, पीडितले न्याय नपाउने, श्रृंखलाबद्ध रुपमा बालिका र किशोरी माथि बलात्कार हुने, महिलाहरु सडकमा आइसकेका छौँ । हाम्रो आन्दोलन रोकिनेवाला
छैन ।’ केन्द्रीय सदस्य संग्रौलाले भनिन् । बलात्कार विरुद्धको नेपालको कानून कागजको खोस्टो मात्रै भएको र कानुन संशोधन गरेर मृत्युदण्ड र फाँसीको सजाय हुनुपर्ने आफूहरुको माग रहेको उनको भनाई थियो ।
यस्तै उक्त प्रदर्शनमा बोल्दै सहभागी किशोरी पुनम बुढाले किशोरी माथि बलात्कार हुँदा सरकारले पीडितलाई न्याय दिन नसकेको बताइन् । उनका अनुसार बलात्कार जस्ता जघन्य अपराधमा संलग्नमाथि कुनै पनि हालतमा कारबाही हुनैपर्छ । होइन भने देशभरका किशोरी सडकमा आएर आन्दोलन गर्ने उनले चेतावनी दिइन् । उनले भनिन्, ‘हे पुरुष के हजुर आफ्नो बहिनी र हामीमा फरक देख्नुहुन्छ । अहिले एउटा घरमा छोरी जन्मिदा निर्मलाका आँशु झर्छन् ।’
यस्तै उक्त अवसरमा लायन्स क्लब अफ कोहलपुर कस्तुरीका अध्यक्ष संगिता सुवेदीले महिला र किशोरीहरुको न्यायको लागि आफूहरु सडकमा आउनु परेको बताइन् । उनका अनुसार नेपालमा बढ्दै गएको बलात्कारका घटनाले महिलाहरु घरबाट निस्कन समेत समस्या भइसक्यो । उनले भागरथीहरुको न्यायका लागि सबैजना एकजुट भएर न्यायको आन्दोलन लड्नैपर्छ ।
‘म पनि महिला हुँ । देशको अवस्था हेरेर सुरक्षित महशुस गर्न सकिरहेकी छैन । छोरीकी आमा समेत हुँ । छोरीलाई स्कूल पठाउन पनि डर लाग्ने बेला भयो ।’ सुवेदी भनिन् । प्रदर्शनमा विभिन्न विद्यालयका किशोरीहरुको सहभागिता रहेको थियो । उनीहरुले सरकारलाई भागरथीको न्यायको लागि अपराधीलाई तत्काल कारबाही गर्न माग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्