कोहलपुर ।
जिल्ला प्रहरी कार्यालय बाँकेले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर पहाडी जिल्लामा बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको पत्रकार सम्मेलनमा पछिल्लो समयमा मोटरसाइकल चोरी भएको भन्ने व्यापक जनगुनासोको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले चोरीको गिरोह नै पक्राउ गरेको जानकारी गराइएको थियो । उक्त अवसरमा प्रहरीले ६ जनालाई विभिन्न जिल्लाबाट पक्राउ गरी सार्वजनिक समेत गरेको छ ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले नेपालगञ्ज २० का प्रतिक गुरूङले माघ ५ गते मोटरसाइकल चोरी भएको गुनासो गरेको बताए । यस्तै यातायात कार्यालय, मालपोत कार्यालय,भेरी अस्पताल, नर्सिङ होम अगाडिबाट मोटरसाईकल चोरी भएको गुनासो आइरहेका थिए । सोही आधारमा अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा प्रहरी टोली खटाइएको थियो ।
उक्त टोलीले स्थानीय प्रहरीसँग समन्वय गर्नुका साथै अनुसन्धान गर्दै जाने क्रममा प्युठान जिल्लामा बिक्री गरेको भन्ने जानकारी प्राप्त भएपछि थप अनुसन्धानपछि आफूहरु गिरोह नै पक्राउ गर्न सफल भएको पनि रानाको भनाइ छ । उनका अनुसार पक्राउ पर्नेमा खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीका ३५ वर्षीय रामबहादुर थापा, जुम्लाको चन्दनाथ नगरपालिकाको कालेखोली घर भइ हाल नेपालगञ्जमा किराना पसल सञ्चालन गर्दै आएका ३१ वर्षीय धिरेन्द्र बिक्रम शाही र दाङको गढवा गाउँपालिका वडा नम्बर ४ खड्कपुरका वर्कशपका मिस्त्री काम गर्ने इरसाद मुसलमान रहेका छन्।
यस्तै रोल्पा जिल्ला लुग्री गाउँपालिका वडा नम्बर १ पाङका जीप चालक छविलाल पुन मगर, रोल्पा जिल्लाको लुग्री गाउँपालिका वडा नम्बर ५ गुम्चालका २४ वर्षीय नवराज रोका क्षेत्री, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का वर्कसपका मिस्त्री २८ वर्षीय रंजित शर्मा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्