बाँकेमा खोप अभियान, शुभारम्भमा देखियो उत्साह !



कोहलपुर ।

बुधबार बिहान साढे १० बजे नेपालगञ्जस्थित भेरी अस्पतालमा उल्लासको वातावरण थियो । त्यहाँ उपस्थित सबै उत्साहित देखिन्थे । कारण, देशभर झै बाँकेमा पनि कोभिड–१९ विरुद्धको खोप अभियानको सुरुवात गरिदै थियो । पूर्व निर्धारित समयअनुसार औपचारिक कार्यक्रम सुरु भयो ।छोटो औपचारिक कार्यक्रम र खोप हस्तान्त्रण कार्यक्रम लगत्तै खोप लगाउने प्रक्रिया थालियो ।

उक्त स्थानमा सबै आवश्यक प्रक्रिया पुरा गरेर बाँकेमा पहिलो पटक खोप लगाउनको लागि डाक्टर प्रकाश बहादुर थापा चिकित्सकको नजिक पुगे। उनलाई त्यहाँ उपस्थित सरोकारवाला तथा पत्रकारहरुले घेरिरहेका थिए ।तर उनी भने निकै आत्मविस्वासी देखिन्थे ।करिब दुई मिनेटमा भेरी अस्पतालका प्रमुख समेत रहेका उनलाई खोप लगाएर कोभिड– १९ विरुद्धको खोप अभियानको शुभारम्भ भयो । खोप लगाउने प्रक्रियामा रहेको बेला पत्रकारहरुलाई प्रतिक्रिया दिदै उनले भने,–‘रमाइलो अनुभव भइरहेको छ ।एकदम खुसी ।सोचेका भन्दा चाँडै भ्याक्सिन आयो ।सबैले देख्न पाइयो ।यसलाई एकदम ठूलो उपलब्धी मान्नुपर्छ ।’

यस्तै उनले साधारण खोपको रुपमा समेत लिइरहेको उक्त अवसरमा बताएका थिए । लगत्तै पत्रकारहरुलाई खोप र आफ्नो अनुभवका विषयमा व्रिफिङगर्दै डाक्टर शाहले खोप अभियान सुरु हुनु सिंगो नेपाली जनताको लागि खुसीको कुरा भएको जानकारी दिए । लामो समयको भय र डरबाट मुक्त भएर खोप लगाउने चरण सम्म पुग्यो सबैका लागि उत्साहको कुरा भएको उनको भनाइ छ । उक्त अवसरमा उनले भने, खोप लगाउने सम्मको चरणमा हामी आइपुगेका छौ । अभियान सुरु समेत भइसकेको छ । यसमा हामी सबैले खुसी हुनुपर्छ । अब संक्रमित हुने दर पनि घट्ने भयो । खोपको साइट इफेक्टका बारेमा पत्रकारहरुले राखेको जिज्ञासामा डाक्टर थापाले कोरोना खोप अन्य खोपहरु जस्तै सामान्य रहेको बताए ।भ्याक्सिन हजारौँ, लाखौँ करोडौमा लगाइन्छ ।

यसमा दुई चार जनामा केही लक्षण देखिनु सामान्य प्रक्रिया हो । केहीमा यस्तो देखिहाल्छ । यस्तै उनले सम्पूर्ण नागरिकलाई ढुक्क भएर खोप लगाउन आग्रह गरेका थिए । कोभिडशिल्ड पहिलोपटक भएकोले सबैमा एक प्रकारको डर देखिएको भन्दै विश्वका अन्य देशमा सफल देखिएकोले नेपालमा पनि सफल हुने उनको भनाइ थियो । उनलाई पहिलो पटक खोप लगाएर अभियानको शुभारम्भ गर्ने कर्मचारी हुन्,कमला शाह ।उनी भेरी अस्पतालको क्लिनिकमा कार्यरत छिन् ।उनले लजाउँदै आफू एकदमै खुसी भएको प्रतिक्रिया दिइन् ।शाहका अनुसार आफूले बाँके जिल्लामा पहिलो पटक खोप लगाएकोले सफल होस भन्ने आशा छ ।

यस्तै खुसी जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्वले समेत व्यक्त गरे ।उनले भने,‘भारत सरकारलाई धन्यावाद ।हामीलाई खोप सहयोग गरेकोमा । बाँकेमा पनि खोप अभियान सुरु भएको छ । अब हामी कोरोनाबाट मुक्त हुने भयौ । यसबाट कोही पनि डराउनुपर्दैन ।’ यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोरोना विरुद्धको अभियानमा बाँकेमा प्रभावकारी कामहरु भएको बताए । जिल्लामा खोप पुगेर लगाउन सुरु हुनुको सिंगो बाँकेबासीहरुको लागि खुसीको कुरा भएको उनको भनाइ थियो । बुधबारदेखी सुरु भएको अभियान बाँकेमा ११ दिन चल्नेछ ।

उक्त अवधिमा सात हजार पाँच सय जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयले पहिलो दिन चार सय जनालाई खोप लगाएको छ । आगामी दिनमा करिब सात सय जनालाई खोप लगाउने कार्यालयका खोप अधिकृत भेषराज शर्मा बताउँछन् । उनका अनुसार सबै बाँके बासीले ११ दिनसम्म भेरी अस्पतालमा आएर खोप लगाउन सक्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १५ गते बिहीबार