शिवु खनाल । दाङ ।
दाङको गढवा गाउँपालिका वडा नम्बर ८ खबरी नाकाका स्थानीय व्यवसायी रूपमा घुइया खेति गर्छन् । सुरूमा घरायसी प्रयोगको लागि दुई चार वटा बिरुवा लगाएर सुरु गरिएको र उत्पादन राम्रो हुन थालेपछि व्यवसायी रूपमा घुइया खेतितर्फ आकर्षित हुन थालेको गढवा गाउँपालिका वडा नम्बर ८ खबरी नाका चन्द्रबहादुर बुढाले जानकारी दिए ।
उत्पादन राम्रो भएपछि उनले समेत चार कठ्ठा जग्गामा घुइया खेति गर्ने गरेका छन् । तर उत्पादन गरेको घुइयाले बजार नपाउँदा घरमै कुहिएर जाने गरेको उनी बताउँछन् । ‘बैशाखमा चार हजार बराबरको एक कुण्टल स्थानीय जातको घुइयाको बीउ लगाए । उत्पादनमा वृद्धि भयो । कार्तिक महिनादेखि घुइया विक्रि गर्ने हुन्छ । तर, घुइयाले बजार पाउँदैन’ बुढाले भने, ‘घुइया विक्रि गर्न नेपाल जाने बाटो नहुँदा वनको बाटो हुदैँ भारतको बालापुर लैजानुपर्ने बाध्यता छ ।’
भारतको बालापुर बजारमा नेपाली मूल्य प्रति चालीस किलोको दरले घुइया विक्रि हुने गरेको छ । ‘घुइयाले भनेको जस्तो बजार नपाउँदा वर्षेनि एक कुन्टल भन्दा बढि घरमै कुहिएर जाने गरेको छ । बजार पाएको भए अलिबढि लगानी लगाएर जग्गा लिजमा लिएर व्यवसाय बढाउने इच्छा छ ।’ उनले अगाडि थपे । ‘प्रत्येक वर्ष घुइया उत्पादनमा वृद्धि भएको छ । तर, उत्पादन गरेको घुइयाले बजार नपाउदा हरेक वर्ष घुइया कुहिएर जान्छ’ बुढाले भने, ‘गतवर्ष लगानी समेत उठेन । चार हजार घाटा लाग्यो । घुइयाले बजार नपाएपछि गाउँका स्थानीयलाई निःशुल्क दिने गरेको छु ।’
अन्य नाकाको तुलनामा भन्दा बखरी नाकामा तरकारी खेति राम्रो हुन्छ तर, बजारमा पु¥याउन समस्या रहेको छ । स्थानीय मनमाया गुरूङले पनि डेर कठ्ठा जग्गामा व्यवसायीक रूपमा घुइया खेति गर्दै आएकी छिन् । खबरी नाकामा व्यवसायीक घुइया खेति गर्ने कृषकहरूको संख्या बढ्दैछ । यसवर्ष पन्ध्र घरधुरी संख्याले घुइया खेति गर्न लागेका छन् ।









प्रतिक्रिया दिनुहोस्