19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

हिरासतमा थुनुवाको मृत्यु प्रकरणः परिवारको अनुपस्थितिमै पोष्टमार्टम, शव बाटोमै अलपत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ५, २०७७  

नेपालगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवा डुडुवा गाउँपलिका–३ वनकटवाका बाबुलाल रैदासको मृत्युको खबर चारैतिर फैलियो । बाबुलालले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीलाई उदृध गर्दै विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरे ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासमाथि प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो । टाउकोमा बाँधेको कपडा (घुम्टो)को पासो लगाएर रैदासले शुक्रबार विहान साढे ५ बजे हिरासतको शौचालयमा आत्महत्या गरेको बाँके प्रहरीले जनाएको छ । यद्यपी मृतकका आफन्तले बाबुलालको मृत्यु प्रहरीको यातनाबाट भएको दावी गरेका छन् ।

उनको मृत्युका विषयमा मृतकका आफन्त र प्रहरीबीच विवाद बढेको छ । हिरासतमै रहेका बाबुलालले आफ्नै लुगाको पासो लगाएर शौचालयमा झुण्डिएको प्रहरीको भनाईलाई मृतकका आफन्त मान्न तयार छैनन् । मृतकका आफन्त र स्थानीयबासीले प्रहरीको यातनाबाट उनको मृत्यु भएको भन्दै छानविनको माग गरेका छन् ।

‘हिरासतमा रहेको व्यक्तिले कसरी आत्महत्या गर्नसक्छ ?’ मृतकका भिनाजु पतिलाल रैदासले भने, ‘प्रहरीको सुरक्षा घेराभित्र कसरी आत्महत्या गर्नसक्छ ? यो कुनै हालतमा आत्महत्या होइन, प्रहरीको यातनाबाट बाबुलालको मृत्यु भएको छ ।’ उनले प्रहरीमाथि गम्भीररुपमा छानविन हुनुपर्ने माग गरेका छन् ।

उनले प्रभावकारी छानविनको माग गर्दै मृतकका भिनाजु पतिलालले भनेका छन्, ‘हिरासत कक्षभित्र डोरीजस्ता बस्तुहरु राख्नै मिल्दैन । बाबुलालको आत्महत्या होइन, हिरासतमा प्रहरीले यातना दिएर हत्या गरेको हो । स्थानीय प्रशासन, मानव अधिकारवादी लगायत सरोकारवाला निकायले घटनाको निश्पक्ष र प्रभावकारी छानविन गर्नुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुभाष खड्काले यातना दिएको भन्ने आफन्तको दावी गलत रहेको बताए । उनले भने, ‘प्रहरीले यातना दिए नदिएको पोष्टमार्टम रिपोर्टले देखाउँछ । हामीसँग सिसी क्यामराको पनि रेकर्ड सुरक्षित छ । आफन्तहरुले लगाएको आरोप त पोष्टमार्टम रिपोर्टले नै पुष्टि गरिहाल्छ ।’

प्रहरी प्रवक्ता खड्काले विहानै शौच गर्न जाने बहानामा शौचलयमा रहेको भेन्टिलेशनमा पगरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेलगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि र स्थानीय प्रशासनका अधिकारीहरुको रोहबरमा मुचुल्का बनाएर पोष्टमार्टम गरिएको बताए । उनले भने, ‘पोष्टमार्टम भइसक्यो, रिपोर्ट आउन बाँकी छ ।’

प्रहरीले मृतक बाबुलालको शव पोष्टमार्टमका क्रममा परिवार र आफन्त कसैलाई प्रहरीले मुचुल्का गर्दा नबोलाएपछि घटना थप रहस्यमय बनेको छ । ‘घरमा बुवाआमा वृद्ध हुनुहुँदोरहेछ, अरु आफन्तलाई बोलाउन सकेनौं । उहाँहरु आउनसक्ने अवस्था नभएपछि वडाध्यक्षलाई बोलाएका थियौं, उहाँकै सल्लाह अनुसार पोष्टमार्टम गरेका हौं,’ प्रहरी प्रवक्ता खड्काले भने ।

प्रहरी हिरासत कक्षभित्रै रहेका बाबुलालको आत्महत्या नभई हत्या भएको दावी गर्दै आएको परिवार र उनका आफन्तको अनुपस्थितिमै शवको पोष्टमार्टम गरेपछि आफन्तहरु प्रहरीप्रति थप सशंकित छन् । ‘हिरासतमै उनको हत्या किन गरियो भन्ने प्रश्न अनुत्तरित नै छ । आत्महत्या नै हो भने पनि बाबुलालले आत्महत्या गर्नुपर्ने कुनै कारण देखिँदैन,’ भिनाजु पतिलालले भने ।

उनले आफ्नो सालाको हिरातमा प्रहरीकै यातनाबाट मृत्यु भएको दावी गरे । उनलाई प्रहरीले कात्तिक १४ गते अभद्र व्यवहार र ज्यान मुद्दामा पक्राउ गरेर हिरासतमा राखेको थियो । २१ दिनसम्म हिरासतमै रहेका बाबुलाल शुक्रबार विहान साढे ५ बजे शौचालयमा झुडिएको अवस्थामा फेला परेका थिए ।

आधा घण्टासम्म पनि उनी शौचालयबाट बाहिर ननिस्कएपछि अन्य थुनुवा र सेन्ट्रीमा खटिएका प्रहरीले शौचालयको ढोका तोडेर हेर्दा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरी प्रवक्ता खड्काले बताए । पोष्टमार्टमअघि मुचुल्का गर्दा आफन्तलाई नबोलाएको प्रहरीले पाष्टमार्टमपछि घरपरिवार र आफन्तलाई जानकारी नै नदिई शव उनको घरमा पठाएको छ ।

उक्त शव अहिले बाटोमै अलपत्र अवस्थामा राखिएको छ । ‘कसको समन्वयमा शव पठाइएको हो । हामीलाई कुनै जानकारी नै छैन । पोष्टमार्टममा समेत आफन्तलाई नबोलाएको प्रहरीले पाष्टमार्टमपछि हामीलाई जानकारी नै नदिई शव पठाउँदा प्रहरीको व्यवहारप्रति अझ धेरै शंका बढेको छ । छानविन नहुँदासम्म शव बुझ्दैनौं,’ भिनाजु पतिलालले भने ।

कुनै राजनीतिक आस्थामा नलागेका र निम्न वर्गका परिवारको रुपमा रहेका बाबुलालको आत्महत्या नभई हत्या गरेको भन्दै प्रहरीले यसको चित्तबुझ्दो जवाफ नदिएसम्म र घटनाका विषयमा आवश्यक छानविन नभएसम्म शव नबुझ्ने भिनाजु पतिलालको अडान छ । ‘हामीलाई चित्तबुझ्दो जवाफ र निश्पक्ष छानविन चाहिन्छ,’ पतिलालले भने ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ५, २०७७     2:01:00 PM  |