देउसी खेल्न सुर्खेतमा रोक



सुर्खेत ।

आउँदै गरेको तिहारको समयमा कुनै पनि भिडभाड हुने खालका कार्यहरु नगर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ ।

तिहार लगायत स्थानीय स्तरमा मनाइने मेलाहरुमा हुने जमघट, तथा भेलाहरु नगर्न र नगराउन प्रशासनले आग्रह गरेको हो ।

प्रशासले कोभिड–१९ को संक्रमण अझै बढ्ने र अर्कातर्फ घटना, दुर्घटनाा, सामाजिक विकृती तथा अपराधमा पनि वृद्धि हुने भन्दै कुनैपनि गतिविधि नगर्न अनुरोध गरेको छ ।

साथै तिहारमा देउसी भैलो नखेल्न, आगलागी र त्यसबाट हुने क्षतीलाई मध्यनजर गर्दै अतिसबाजी पट्का लगायतका ज्वलनशील पदार्थहरु बेचबिचन र प्रयोग नगर्न आम नागरिकलाई आग्रह गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

उनका अनुसार साँझ ७ बजेपछि अत्यावश्यक बाहेकका कुनैपनि पेशा व्यवसाय, लामो दुरीका सवारी साधन बाहेकका सबै सवारी साधनहरु पनि सञ्चालन गर्नमा रोक लगाइएको छ ।

जुवातास खेलेको वा खेलाएको खण्डमा कारवाही गरिनुका साथै राजनीतिक भेला, सम्मेलन र सभा लगायतका अत्याधिक भिडभााड हुने कुनै पनि गतिविधि आयोजना नगर्न राजनीतिक दलहरुलाई पनि प्रशासनले आग्रह गरेको छ ।

सरकारले नै यसअघि कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै तिहारमा देउसी भैलो नखेल्न आग्रह गरिसकेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २५ गते मंगलबार