26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

वन्यजन्तुका लागि धराप बन्दै सडक, ३ वर्षमा ९० वन्यजन्तु मरे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १६, २०७७  

सुदीप अधिकारी । बर्दिया ।

पछिल्लो ३ वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ ।

जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा बढी वन्यजन्तु राजमार्ग दुर्घटनामा परि मरेका छन् । निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३५ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परेर मरेका छन् ।

यसैगरि आर्थिक वर्ष २०७५/०७६ मा २६ वटा र ०७४/०७५ मा २९ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परि मरेका छन् । मर्ने मध्ये सबैभन्दा बढी मृग प्रजाती रहेको निकुञ्जले जनाएको छ । यसपछि मर्ने वन्यजन्तुमा अधिकाशं बँदेल र बादर रहेको पाइएको छ ।

३ वर्षको अवधीमा राजमार्गमा सवारीसाधनको ठक्करबाट एउटा वयस्क पाटेबाघ पनि मरेको छ । निकुञ्ज क्षेत्रमा सिँचाईका लागि बनाइएको संरचनामा परेर पनि अधिकाशं वन्यजन्तु मर्ने गरेका छन् ।

सिँचाईका लागि निमार्ण गरिएको नहरमा खसेर वन्यजन्तु मरेका छन् । गत आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी २१ वटा वन्यजन्तु नहरमा खसेर मरेको निकुञ्जको तथ्याङ्क छ ।

यसैगरि २०७५/०७६मा १७ वटा र २०७४/०७५ मा ४ गरि ३ वर्षको अवधीमा ४२ वटा वन्यजन्तु सिँचाईको नहरमा खसेर मरेका छन् ।

३ वर्षको अवधीमा चोरीसिकारका कारण ९ वटा वन्यजन्तु मरेका छन् । जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा ३ वटा र ०७५/०७६ मा ६ वटा वन्यजन्तु चोरीसिकारका कारण मारिएको निकुञ्ज स्रोतले जनाएको छ ।

प्राकृतिक कारणले ३ वर्षको अवधीमा ५३ वटा वन्यजन्तु मरेको निकुञ्जको तथ्याङ्क छ । यसैगरि ३ वर्षको अवधीमा राजमार्ग दुर्घटना र नहरमा खसेर घाइते भएका १५७ वन्यजन्तुलाई निकुञ्जले उद्धार गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा दुर्घटनामा परेर घाइते भएका सबैभन्दा बढी ७७ वटा वन्यजन्तुलाई निकुञ्जले उद्धार गरेको छ । भने २०७५/०७६ मा ६२ वटा र २०७४/०७५ मा १८ वटा वन्यजन्तुलाई उद्धार गरिएको निकुञ्जले जनाएको छ ।

उद्धार गरिएका मध्ये मृग प्रजातीका वन्यजन्तु नै धेरै छन् । ३ वर्षको तथ्याङ्क हेर्दा राजमार्ग दुर्घटना र नहरमा खसेर वन्यजन्तु मर्ने क्रम बढ्दो देखिएको छ । निकुञ्ज क्षेत्रमा निमार्ण गरिएका पूर्वाधारका संरचना वन्यजन्तु मैत्री नहुनु नै वन्यजन्तु दुर्घटनामा परेर मर्ने प्रमुख कारण भएको निकुञ्जको भनाई छ । निकुञ्ज क्षेत्रमा रहेको राजमार्ग वन्यजन्तु मैत्री छैन ।

सडक पार गर्ने क्रममा नै वन्यजन्तु सवारीसाधनको चपेटामा परेर दुर्घटनामा पर्ने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापा बताउँछन् । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा सवारीसाधन अत्याधिक गतीले चलाउनाले पनि वन्यजन्तु दुर्घटनामा पर्ने गरेको निकुञ्जले जनाएको छ ।

वन्यजन्तुलाई राजमार्ग क्रस गर्नका लागि अण्डर ब्रिज वा ओभर ब्रिजको आवश्यक्ता पर्छ । तर निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा कतै पनि अण्डर ब्रिज वा ओभर ब्रिज बनाइएको छैन ।

निकुञ्ज क्षेत्रमा बनाइएका नहरमा तारजाली नलगाएका कारण वन्यजन्तु नहरमा खसेर मर्ने गरेको निकुञ्जले जनाएको छ । बाँकेका चिसापानीदेखि हर्रेसम्मको रत्नराजमार्ग निकुञ्ज क्षेत्रमा पर्छ । यसैगरि बर्दियाको रम्मापुरदेखि सैनवार र अम्रेनीदेखि कर्णाली चिसापानीसम्म राजमार्ग निकुञ्ज क्षेत्रमा पर्छ ।

वन्यजन्तुको सडक दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न प्रयासहरु गरिएको निकुञ्जको भनाई छ । निकुञ् वभिन्न स्थानमा सचेतनामूलक होडिङ्ग र्बोड राखिएको छ ।

सवारीसाधनको गति नियन्त्रण गर्नका लागि निकुञ्ज क्षेत्रमा सवारी टाइम कार्ड लागू गरिएको निकुञ्जले जनाएको छ । यसको निगरानी नेपाली सेनाले गर्छ । टाइम कार्डमा निकुञ्ज क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरका दरले सवारी चलाउनु पर्ने नियम छ । यो नियम कसैले उलंघन गरेमा जरिवाना तिर्नु पर्ने हुन्छ ।

तैपनि निकुञ्ज क्षेत्रमा वन्यजन्तु दुर्घटनामा पर्ने क्रम नरोकिएको संरक्षणकर्मी बताउँछन् । निकुञ्जका सहकायक संरक्षण अधिकृत अशिम थापा भन्छन्, ‘वन्यजन्तु मैत्री सडक संरचाना नहुँनु र सवारी चालकले निकुञ्ज क्षेत्रमा सावधानी नअपनाउँनु नै वन्यजन्तु सडक दुर्घटना पर्ने मुख्य कारण हो ।’

उनी भन्छन्, ‘वन्यजन्तुको महत्व बुझाउनका लागि विभिन्न स्थानमा सचेतनामूलक बोर्ड राखिएको छ । वन्यजन्तु ओहोरदोहर गर्ने संवेदनशिल क्षेत्र संकेत गरिएको छ । गति नियन्त्रणका लागि टाइम कार्ड लागू गरिएको छ ।

तै पनी चालकले सावधानी नअपउँदा दुर्घटना हुने गरेको हो ।’ पछिल्लो समय निकुञ्ज क्षेत्रमा सवारीको गती जाँच गर्नका लागि स्पिड गन पनि प्रयोग गरेको सहायक संरक्षण अधिकृत थापाले जानकारी दिए ।

पहिलो चरणमा स्पिड गन अम्रेनी कर्णाली चिसापानी क्षेत्रमा प्रयोग गरेको उनले बताए । आगामी दिनमा अन्य क्षेत्रमा पनि स्पिड गन प्रयोगमा ल्याउने निकुञ्जले तयारी गरेको सहायक संरक्षण अधिकृत थापाले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, कार्तिक १६, २०७७     10:58:27 AM  |