कृष्ण ओली । कोहलपुर ।
बाँकेको दोस्रो ठूलो शहर कोहलपुरमा लामो दुरीको आधुनिक बसपार्क भन्ने पक्का भएको छ । बसपार्क निर्माणको लागि कोहलपुर नगरपालिकाले नगर विकास कोषसँग ऋण सम्झौता गरेपछि बसपार्क बन्ने पक्का भएको हो ।
बसपार्क निर्माणको लागि नगरपालिकाले नगर विकास कोषसँग करिब २८ करोड रुपैयाँ ऋण सम्झौता गरेको छ । कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले नगर विकास कोषसँग शनिबार २७ करोड ९९ लाख १८ हजार रुपैयाँ ऋण सम्झौता भएको जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा शनिबार नगरपालिकाको तर्फबाट नगर प्रमुख लुट बहादुर रावत र नगर विकास कोषको तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा बीच ऋण सम्झौता भएको थियो ।
बसपार्क निर्माणको लागि ६० प्रतिशत नगर विकास कोषको ऋण र ४० प्रतिशत नगरपालिका आफैले लगानी गर्नुपर्नेछ । वार्षिक ८ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षको लागि कोषसँग ऋण सम्झौता भएको नगर प्रवक्ता रिजालले जानकारी दिए ।
‘आधुनिक शैलीको बसपार्क बनाउनको लागि विभिन्न चरणमा छलफल गर्नुपर्ने भएकाले केही समय लागेको हो’ उनले भने, ‘ऋण सम्झौता भइसकेकोले अब बसपार्क निर्माणको काम अगाडि बढ्छ ।’
कोहलपुर–११ चौराहा नजिकै लामो दुरीको बसपार्क बनाउनको लागि नगरपालिकाले २५ वर्षको लागि जग्गा कोहलपुर नगर विकाससँग लिज सम्झौता गरिसकेको छ ।
सो स्थानमा आधुनिक शैलीको बसपार्क निर्माणको लागि ४६ करोड ६५ लाख ३ सय रुपैयाँ लाग्ने स्टमेट नगरपालिकाले गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहलपुरमा लामो दुरीको बसपार्क निर्माणको काम केही समयमा नै सुरु हुने बताए ।
‘लगानी अभावमा हामी योजना अनुसार अगाडि बढ्न सकेका थिएनौं’ उनले भने, ‘शनिबार नगर विकास कोषसँग ऋण सम्झौता भएपछि आर्थिक स्रोत जुटेको छ । अब निर्माणको प्रक्रिया अगाडि बढ्छ ।’ अब बन्ने बसपार्क आधुनिक खालको बन्ने नगर प्रमुख रावतले बताए । नगर विकास कोषबाट लिएको ऋण बसपार्कबाट हुने आम्दानीले नै तिर्ने योजना नगरपालिकाले बताएको छ ।
बसपार्क सञ्चालनमा आएपछि त्यहीबाट भएको आम्दानीले नै ऋणको ब्याज र किस्ता तिर्ने योजना बनाइएको नगरपालिकाका प्रवक्ता रिजालले जानकारी दिए । ‘आधुनिक बसपार्क निर्माण भएपछि आम्दानी हुनेछ’ उनले भने, ‘त्यही रकमले नै ऋण तिर्ने निर्णय नगर कार्यपालिकाको बैठकले गरिसकेको छ ।’
बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स लगायतबाट भाडा बाफत आम्दानी हुने नगरपालिकाले लक्ष्य राखेको छ । आधुनिक बसपार्क र सपिङ्ग कम्प्लेक्सको डिजाइन भइसकेको नगर विकास कोषले जनाएको छ । बसपार्कमा तीनवटा प्लेटफर्म हुनेछन् ।
चौराहादेखि केही मिटर अगाडि लामो दुरीको बसपार्कमा प्रवेशको लागि मुख्य गेट बनाइनेछ । अब बन्ने बसपार्कमा सवारी साधन भित्र जाने र बाहिर निस्कने गेट फरक फरक हुने नगर प्रमुख रावतले बताए । उनका अनुसार अर्को चौराहादेखि चप्परगौडि जाने बाटोको दायाँ बाटो बाहिर जानका लागि आपत्तकालिन ढोका बनाइनेछ ।
बसपार्कमा दुई दर्जन भन्दा बढी लामो दुरीका सवारी साधन राख्न सकिने बताइएको छ । नगर विकास कोषसँग ऋण सम्झौता भएपछि नगरपालिकाले बसपार्क निर्माणको लागि टेण्डर निकाल्ने तयारी थालेको छ ।
निर्माण कम्पनीसँग सम्झौता भएको मितिले दुई वर्षभित्र बसपार्क निर्माणको काम सक्ने लक्ष्य नगरपालिकाले लिएको छ । अहिले कोहलपुरमा लामो दुरीको बसपार्क नहुँदा सवारी साधनका साथै यात्रुहरुले समेत सास्ती पाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्