जाजरकोट जुनिचाँदे जीप दुर्घटना, मृतकको संख्या सात पुग्यो



सुर्खेत ।

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ । जाजरकोट खलंगाबाट गाउँपालिकाको वडा नम्बर ४ विराखोला जाँदै गरेको बोलेरो जीप वडा नम्बर १ औलखोलामा दुर्घटना भएको थियो । दुर्घटनास्थलमा नै बुधबार नै ६ जनाको शव भेटिएको थियो । बिहीबार वेपत्ता भएका एक जनाको शव फेला परेसँगै मृतकको संख्या सात जना पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

औलखोलामा दुर्घटनाग्रस्त जीप

सदरमुकाम खंलगाबाट यात्रु लिएर जाँदै गरेको भे १ ज ९३५ नम्बरको बोलेरो जीप सडकदेखि एक सय मिटर तल खसेको थियो । बिहीबार वेपत्ता जुनिचाँदे गाउँपालिकाकै १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएको हो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा अन्य नेकपा कर्णाली प्रदेश कमिटी सल्लाहकार चुनीचाँदे गाउँपालिका–११ का कृति बहादुर शाही, जुनिचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमर बहादुर शाही, सोही वडाकै अहेव खेमराज शाही, जुनिचाँदे–५ का कृष्ण बहादुर शाही, चुनिचाँदे–५ कै मालिका बस्नेत र छेडागाड नगरपालिका–५ का कर्ण बहादुर शाही रहेका छन् ।

उनीहरुको शव बुधबार नै दुर्घटनास्थलमा नै भेटिएको थियो । दुर्घटनामा परेर घाइते भएका जुनिचाँदेकै शिक्षक नरबहादुर बुढाको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

आज शवको पोष्टमार्टम

दुर्घटनामा परी मृत्यु भएकाहरुको आज शुक्रबार पोष्टमार्टम हुने भएको छ । मृतकका आफन्तसँग बिहीबार अबेर रातीमात्र सहमती भएपछि आज शुक्रबार शवहरुको पोष्टमार्टम हुने भएको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बराल, राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा दुर्घटनास्थलमा नै पुगेर क्षतिपूर्तीसहित सडक मापदण्डलाई पूरा गर्ने प्रतिबद्धता जनाएपछि आफन्तहरु शव बुझ्न तयार भएका हुन् ।
आज शुक्रबार शवहरुको दुर्घटनास्थलमा नै पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने प्रजिअ बरालले जानकारी दिए ।

चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयहरुले चालक गोरख बस्नेतको छेडागाड ६ सुवानाउलीमा रहेको घुम्ती पसलमा आगजनी गरिदिएका छन् । चालकको मोबाइल गाडीमै फेला परेपनि उनी अझैसम्म फेला पर्न सकेका छैनन् । उनी खोलामा वेपत्ता भएकी फरार भए भन्नेबारे केही खुल्न नसकेको प्रजिअ बरालले बताए । उनको सबैतिर खोजीको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रबार