19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

प्रदेशसभामा सांसदले गरे तोडफोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २०, २०७७  

काँग्रेसका सांसदहरु वीरेन्द्र कनौडिया, वसिउद्धिन खान, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलगायतले आफ्नो आवाजको सुनुवाइ नभएपछि तोडफोडमा उत्रिएका थिए । बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा उनीहरु नाराबाजी गर्दै तोडफोडमा उत्रिएका हुन् ।


कोहलपुर ।

प्रदेशसभामा तोडफोड गर्दै नेपाली काँग्रेसका सांसदहरु ।

प्रदेश ५ को प्रदेशसभामा सोमबार नेपाली काँग्रेस र समाजवादी पार्टीका सांसदहरुले तोडफोड गरेका छन् । आफुहरुको विरोध हुँदाहुँदै सभामुख पूर्णबहादुर घर्तीले बैठकलाई निरन्तरता दिएको भन्दै काँग्रेस र समाजवादीका सांसदहरुले प्रदेशसभामा तोडफोड गरेका थिए । सोमबार पहिलोपटक एक बजे सुरु भएको बैठक काँग्रेसले विरोध गरेपछि स्थगित भएको थियो ।

प्रदेशसभामा तोडफोड गर्दै नेपाली काँग्रेसका सांसदहरु ।

दुई घण्टासम्म पनि कुनै सहमतिको विन्दु नभेटिएपछि फेरी सुरु भएको बैठक काँग्रेसले पुनः अवरुद्ध गर्न खोज्यो । तर, सभामुखले बैठकलाई निरन्तरता दिएपछि काँग्रेसले तोडफोडमा उत्रिएको हो । बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा काँग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । मन्त्री केसीलाई प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइकमा तोडफोड गरे । ‘संसदीय मर्यादा पालन गर’ भन्ने नारा लगाउँदै काँग्रेस र समाजवादीका सांसदले बैठककक्षमा तोडफोड गरेका थिए । सांसदहरुको तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न सफल भए । सभामुख घर्तीले तोडफोडकै बीच बैठक अघि बढाए ।

प्रदेशको स्थायी राजधानी दाङ देउखुरीलाई बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा पेश गरेपछि सोही विषयलाई लिएर तनाव सिर्जना भएको हो । सोमबार नै भएको पहिलो बैठक काँग्रेसले अवरुद्ध गर्दा आधा घण्टा संसद बैठक स्थगित भएको थियो । काँग्रेसले राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको थियो । प्रदेशसभामा राजधानी र नामाकरण सम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै काँग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो । बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा राजधानी सार्नु गलत रहेको बताएका थिए । ‘मुख्यमन्त्री भनेको प्रदेशभरको हो, उहाँ शालिन नेता हो । तर भेगीय राजनीतिमा लाग्नुभयो । राजधानीको प्रस्ताव ल्याउदा सहमति हुनुपर्थ्यो । खुसीको दिन हो, हर्ष हुनुपर्ने हो । तर बाहिर निषेधाज्ञा छ । मान्छे पक्राउ गरिएको छ । यो तानाशाही शैली भयो, उनले भने ।

बैठकमा सांसदहरु भोजप्रसाद श्रेष्ठ, सांसद विष्णु पन्थी, विजयबहादुर यादव, तारा जिसी, दीपेन्द्र पुन, हरि रिजाल लगायतले छलफलमा सहभागिता जनाएका थिए । छलफलमा भाग लिएका सांसदले मिश्रित प्रतिक्रिया दिए । छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री केसीले प्रदेशको नाम र राजधानी सरकारले तोके अनुसारकै हुने बताएका थिए । उनले हरेक दृष्टिकोण र बैज्ञानिक ढंगबाट राजधानी सही ठाउँमा तोकिएको दावी गरे । संसदमा काँग्रेस र जसपाका सांसदले गरेको तोडफोड निन्दनीय रहेको उनले जनाए । बैठक आज मंगलबार दिउँसो १२ बजे बस्ने गरी स्थगित भएको थियो । सम्भवत् आज बस्ने बैठकले प्रदेशको राजधानी र नामाकरणबारे टुङ्गो लगाउनेछ । सहमतीको आधारमा टुङ्गो नलागेपछि मतदान प्रक्रियाबाट टुङ्गो लगाउने तयारी रहेको छ ।

संसद बैठक अघि बिहान सर्वपक्षीय बैठक बसे पनि सहमति भएन । मुख्यमन्त्री शंकर पोखरेलले काँग्रेस, जसपा र जनमोर्चाका सांसदहरुलाई प्रस्तावित राजधानीमा समर्थन गर्न आग्रह गरेका थिए । तर काँग्रेस सांसदहरुले सहयोग गर्न नसक्ने जनाए । त्यसपछि लगत्तै नेकपा संसदीय दलको बैठक बसेको थियो । बैठकमा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले सांसदहरुलाई निर्देशन दिँदै सरकारले प्रस्ताव गरेको राजधानी र नामका पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए ।

उता संसदमा नाराबाजी र तोडफोडका बीच पनि बैठक चलिरहेको थियो भने बाहिर नेपालगञ्ज रोडमा काँग्रेस, नेकपा लगायत विभिन्न संघसंस्थाले विरोध गरिरहेका थिए । संसद भवन वरिपरी, बुटवल र आसपासको क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज २०, २०७७     9:44:19 AM  |