घरदैलोमै पढ्न पाउने भए वन विज्ञान



सुदीप अधिकारी । बर्दिया ।

जिल्लाको बारबर्दिया नगरपालिकाले आफ्नै नगरमा वन विज्ञान विषयको पढाई सुरु गर्ने भएको छ । नगरका गरिव तथा विपन्न किसानका छोराछोरीहरुलाई नगरमै सर्वसुलभ तरिकाले व्यवहारिक तथा प्रविधिक शिक्षा प्रदान गर्नका लागि वन विज्ञान विषय पढाउन लागिएको नगरपालिकाले जनाएको छ । वन विज्ञान विषय पढाउनका लागि पालिकाले नगरमै सहिद विष्णु धनि स्मृति बहुप्राविधिक शिक्षालय स्थापन गरेको हो । सिटिईभिटीको सहकार्यमा पालिकाले वनविज्ञान विषय पढाउन लागेको हो ।

नगरपालिकाले यस वर्ष ३६ जना विद्यार्थीलाई वन विज्ञान पढाउने भएको छ । जसमा १० जना विद्यार्थीलाई सशुल्क पढाइने छ । भने २६ जना विद्यार्थी छात्रवृतीमा पढ्न पाउने छन् । जसमा १५ जना गरिव तथा विपन्न विद्यार्थीलाई निशुल्क रुपमा वन विज्ञान विषय पढाइने नगरपालिकाले जनाएको छ । पचास प्रतिशत छात्रवृतिमा दलित तथा विपन्न एक जना, विपन्न जनजाती २ जना गरि तीन जान विद्यार्थीले पढन पाउने छन् । पचहत्तर प्रतिशत छात्रवृतिका लागि विपन्न दलित एक जना, विपन्न जनजाती ३, सुकुम्बासी २ जना र सहिद, वेपत्ता तथा घाइते परिवारका सदस्य २ जना गरि ८ जनाले वन विज्ञान विषय पढन पाउने नगरपालिकाले जनाएको छ ।

यसैगरि १५ जना विद्यार्थीले निशुल्करुपमा वन विज्ञान पढाउने नगरपालिकाको योजना छ । जसमा विपन्न दलित, विपन्न जनजाती, सीमान्तकृत जाती, सुकुम्बासी, सहिद तथा वेपत्ता, अपाङ्ग र मुक्तकमैया कमलरी गरि जम्मा १५ जनाले निशुल्क वन विज्ञान पढन पाउने बारबर्दिया नगरपालिका शिक्षा शाखा अधिकृत टिकानाथ गोसाईले जानकारी दिए । छात्रवृत्तीमा ५० प्रतिशत महिला अनिवार्य समावेश गरिने अधिकृत गोसाईले बताए । महिला नभएमा मात्र अन्यलाई छात्रवृतीमा समावेश गराउने पालिकाको योजना रहेको छ । शिक्षण अवधी ३ वर्षको हुने बताइएको छ । एसईई परीक्षा पास भएका विद्यार्थीहरु यसमा सहभागी हुन सक्ने छन् ।

प्राविधिक शिक्षामा नगरका सबै नागरिकको पहुँच सुनिश्चित गरि उद्यमी, श्रमप्रति समर्पित, सक्षम र दक्ष जनशक्ति उत्पादन गर्ने नगरपालिकाको उदेश्य रहेको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए । वन विज्ञान विषयको अध्ययनबाट स्थानिय तहको शिक्षा, स्वास्थ्य, कृषि, वनविज्ञान लगाएतका क्षेत्रमा आवश्यक जनशक्ति स्थानिय स्तरमै उत्पादन गरिने नगरप्रमुख थारुले बताए । उनले भने, स्थानिय स्तरमै स्थापना गरिएको प्राविधिक शिक्षालयले गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुको गुणस्तरिय प्रविधिक शिक्षामा पहँच बिस्तार हुने विश्वास छ ।

यो कार्यक्रमबाट राष्टिय स्तरमा विदेशबाट ल्याउनु पर्ने दक्ष जनशक्ति र सो वापत खर्च हुने रकम कम हुने नगरप्रमुख थारुले विश्वास व्यक्त गरे । विपन्न परिवार विद्यार्थीले घरदैलोमै वन विज्ञान पढ्न पाउने भए पछि आफुहरु निकै खुशी भएको स्थानिय सुन्दरलाल थारुले बताए । पढ्ने रुची र क्षमता भएपनि गरिवीका कारण यस्ता विषय पढ्नबाट वञ्चित भएका विद्यार्थीहरुका लागि नगरपालिकाले ल्याएको शिक्षाको योजना निकै उपयोगी भएको अंशुवर्मा माविका प्रधानाध्यापक पोमराज शर्माले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रबार