बाँसगढीमा निषेधाज्ञा



बाँसगढी ।

एकैदिन ४२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बर्दियाको बाँसगढीमा एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला विपत व्यवस्थापन समिति बर्दिया र बाँसगढी नगरपालिका विपत व्यवस्थापन समितिको समन्वयमा निषेधाज्ञा जारी गरिएको हो । आइतबार मात्र बाँसगढीमा रहेको सिजी फुड्समा कार्यरत कामदारहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज बिहान ६ बजेदेखि भदौं २८ गते मध्यरातसम्म बाँसगढी नगरपालिका भित्र निषेधाज्ञा जारी भएको छ । नगर प्रमुख सालिकराम अधिकारीले कोरोनाको थप संक्रमणको जोखिम न्यूनिकरण तथा रोकथामको लागि एक सातालाई निषेधाज्ञा जारी गरिएको जानकारी दिए । ‘बाँसगढीमा कोरोना जोखिम बढेकाले यसको संक्रमण फैलिन नदिनको लागि निषधाज्ञा जारी गर्ने निर्णय गरेका छौैं’ उनले भने, ‘यो समयमा ४२ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर सबै जनाको पीसीआर परीक्षण गर्नेछौं ।’

निषेधाज्ञा बाँसगढी नगर क्षेत्र अन्तरगत पर्ने पुर्वमा मानखोला, पश्चिममा ग्यांङ नदि, दक्षिण बढैयाताल गाउँपालिकाको सीमा र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज सीमासम्म लागू हुनेछ । निषेधाज्ञाको समयमा सबैलाई घरभित्र बसेर सहयोग गरिदिन बाँसगढी नगरपालिकाले नगरबासीमा आग्रह गरेको छ । बैठकले वडाध्यक्षको संयोजकमा गठित कोभिड– १९ न्यूनिकरण तथा रोकथाम समितिमार्फत सचेतना कार्यक्रम गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार