बाँकेमा थप १४ मा संक्रमण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका, नेपालगञ्ज उप–महानगरपालिका र जानकी गाउँपालिकामा नयाँ कोरोना संक्रमित थपिएका छन् । तीन पालिकामा गरेर शनिवार १४ जना नयाँ कोरोना संक्रमितहरु थपिएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उप–महानगरपालिकामा ६ जना, कोहलपुर नगरपालिका ५ जना, जानकी गाउँपालिकामा २ जना र नेपालगञ्ज मेडिकल कलेजमा १ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिवार नै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका एक जनामा कोरोना पुष्टि भएको थियो ।

बर्दियाको मधुवन नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । कोरोना रोग स्रोत व्यक्ति श्रेष्ठका अनुसार कोहलपुरबाट बिहीवार संकलन गरिएका स्वाबमध्ये एक सय वटा परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कोहलपुर– ११ का चार जना र कोहलपुर– १२ का एक जना रहेका
छन् ।

त्यसैगरी नेपालगञ्ज उप–महानगरपालिका वडा नं.१, २, ६, १०, १६ र १८ का एक÷एक जनामा संक्रमण देखिएको छ भने जानकी गाउँपालिका वडा नम्वर ३ का २ जनामा संक्रमण पुष्टि भएको हो । एक जना भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका रहेका छन् । शनिवार कोरोना पुष्टि भएका ९ पुरुष र ५ जना महिला हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ७ गते आइतबार