सुर्खेत ।
कर्णाली प्रदेशमा शुक्रबार थप ६२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रशोगशाला सुर्खेत र चौरजहारी नगरपालिकामा गरिएको परीक्षणमा समान ३÷३ जनामा कोरोना पुष्टि भएको थियो ।
शुक्रवार थपिएका ६२ जनासहित कर्णालीमा कुल कोरोना संक्रमतिको संख्या दुई हजार दुई सय २५ पुगेको छ । हालसम्म कर्णालीमा एक हजार नौँ सय ४५ जनाले कोरोना जितेका छन् । भने संक्रमण पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ ।
हाल कर्णालीका विभिन्न आइसोलेसनमा जम्मा दुई सय ७४ जना मात्रै रहेका छन् । कर्णालीमा हालसम्म ५० हजार नौँ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । जुम्लामा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमै फैलिएको बताइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलका अनुसार जुम्लाको हिमा गाउँपालिकामा आठ जना र चन्दननाथ नगरपालिकाका एक जनामा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एकसय २९ जनाको नमुना संकलन गरिएकोमा हिमा गाउँपालिकाका मात्रै ५१ र नाग्मका पाँच जनामा संक्रमण पुष्टि भएको डाक्टर रावलले बताए । हाल प्रतिष्ठानको आइसोलेसन वार्डमा १४ जना संक्रमितको उपचार भइरहेको छ । जुम्लामा एकैदिन धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।









प्रतिक्रिया दिनुहोस्