बर्दियामा पहिलो पटक कोरोनाका कारण एकको मृत्यु



कोहलपुर । 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा मंगलबार विहान मृत्यु भएका बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ९ का ७८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार उनी निमोनिया र मधुमेहका रोगी थिए । कोरोनाबाट मृत्यु भएको बर्दियाको यो पहिलो केस हो ।उनको नेपाली सेनाको टोलीले दाहसंस्कार गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । बर्दियामा अहिलेसम्म संक्रमितको संख्या तीन सय तीन पुगेको छ ।कोभिड–१९ लेभल ३ को रुपमा रहेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ५ जना संक्रमितको मृत्यु भइसकेको छ ।

यसअघि बाँकेका दुई जना, कैलाली र अछामका एक एक जनाको मृत्यु भएको थियो ।अहिले एकजना रुकुमकी संक्रमित महिलाको उपचार भईरहेको छ । सातदिन अघि भर्ना भएकी ती महिलाको दोस्रो पटक गरिएको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको डा. श्रेष्ठले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ३ गते बुधबार