आँरनले धानेको जीवन, प्रविधिको प्रयोगले काममा सहज



शुभाकर विश्वकर्मा । कोहलपुर ।

साउनको महिना । टन्टलापूर्ण घाम । घरको आँगनमा एक बृद्ध काममा व्यस्त छन् । घरको भित्तामा रहेको प्लग छ । त्यसमा तार जोेडेर आँगनै अगाडिले मेसिले उनी काम गरिरहेका छन् । गाडिको पट्टाबाट मात्रै भन्ने डाले आँसीमा धार लगाउँदैछन् । समय र प्रविधिको विकाससँगै कोहलपुर– १२ का सार्के नेपालीको आँरन पेसाको प्रकृति समेत परिवर्तन भएको छ । ६० वर्षे सार्केले आँरन काम गर्न थालेको मात्रै ३ दशक भन्दा बढि भयो ।

उनको प्रमुख जिविकोपार्जनको स्रोत नै यही आँरन नै हो । पुख्यौली घर जाजरकोट भएका उनको परिवार ८ वर्ष अघि कोहलपुरमा बसाइसराई गरेर आएको थियो । जाजरकोटमा हुँदा पनि आँरन नै काम गर्ने गरेको उनी बताउँछन् । आँरनको उनको पुख्यौली पेसा पनि हो । उनको तीन पुस्ताले आँरनको पेसा गर्दै छ । उनी भन्छन्,‘जिजुबाजेको पाला देखि नै हो । अहिले पनि चलिरहेको छ । मेरो छोराले समेत आँरन पेसा नै गर्दै आएको छ ।’

उनका अनुसार समय अनुसार यो पेसा लोप हुँदै गएको छ । आधुनिधिकरणको चपेटामा आँरन पेसा संकटमा पर्दै गएको उनले बताए । तर आफूले भने आँरन पेसालाई निरन्तरता दिइरहेको उनको भनाइ छ । सार्केले आफूले मात्रै आँरन पेसा गरिरहेका छैनन् । आफ्नो छोरालाई समेत आँरन पेसामा लगाएका छन् । कोहलपुरमा रहेका १५ वटा दलित समुदायका नागरिकको आम्दानीको स्रोत नै आँरन व्यवसाय हो । विशेष गरी कृषि कर्म गर्नको लागि आवश्यक पर्ने सामग्री निर्माण गर्छन् बाबुछोरा । सार्के बृद्ध हुँदै गएकोले परम्परागत आँरनमा बस्न सक्दैनन् ।

त्यसैले उनले प्रविधिको प्रयोग गर्दै बिजुली र मेसिन मार्फत फलामका औजारहरुमा धार निकाल्ने काम गर्छन् । उनका छोराले भने परम्परागत आँरनमा खलातीको माध्यमबाट औजारहरु निर्माण गर्छन् । सार्केले पहाडमा हुँदा काम गरे बापत आफूले अन्न पाउने गरेको पनि बताए । ‘पहिले काम गरेको अन्न दिन्थे । हामीलाई अरु काम नै गर्न पर्दैन थियो । अहिले भने समय फेरीएको छ । पैसामा काम गर्छौ । अन्न र पेसामा धेरै फरक पर्दो रहेछ ।’ साउन दोस्रो साता काम गरिरहेको अवस्थामा भेटिएका उनले मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

अहिले यही पेसाबाट मात्रै बाँच्न मुस्किल छ । खर्च धेरै आम्दानी कम भएका कारण धेरै जसो दलित समुदायका नागरिकले अन्य पेसा समेत रोज्न थालेका छन् । सार्के भने आफ्नो पुर्खाको पुख्यौली पेसा भएकोले बाँचुञ्जेल यही पेसा गर्ने बताउँछन् । आफूहरुले कुटो, कोदालो, बन्चरो, आँसी लगायत कृषि कर्म र घरायसी काममा आउने सामग्रीले बनाउने गरेको सार्केका छोरा धनलाल नेपाली बताउँछन् । यही पेसाले सात जनाको परिवार पाल्न पुगेको उनले बताए । मासिक १५ देखि २० हजार सम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।

उनका अनुसार आँरन पेसालाई व्यवसायिककरण गर्नको लागि गाउँका युवाहरु मिलेर समूह बनाउने कार्य अघि बढिरहेको छ । अहिले पनि आफूले काम गरे बापत कसैबाट अन्न र कसैबाट रुपैयाँ ल्याउने गरेको धनलालको भनाइ छ । आँरनमा न्युनतम ३ सय देखि ८ सय सम्मका औजार निर्माण हुन्छन् । ‘आधुनिक सामग्रीको अभावमा हामीलाई दुःख छ । किन्नको लागि पैसा हुँदैन । त्यसैले हामीले पुरानै प्रविधि अनुसार काम गर्नुपर्ने बाध्यता छ’ उनले भने । स्थानीय सरकारले विभिन्न आधुनिक औजारहरु सहयोग गरेको भए हामीलाई निकै फाइदा हुने थियो ।

आफूहरुले बारम्बार वडा कार्यालयलाई क्षमता विकासको लागि तालिम र औजारहरुको माग गरिरहेको उनले बताए । यता वडा नम्बर १२ का कार्यबाहक अध्यक्ष नैनबहादुर शाही सुन्दरबस्तीमा रहेका दलित समुदायको पुख्यौली पेसा संरक्षणको लागि आफू सहयोग गर्न तयारी रहेको बताउँछन् । उनका अनुसार वडाको बजेट मार्फत चालु आर्थिक वर्षमा क्षमता विकास तालिमको व्यवस्था गरिएको छ । समय अनुसार प्रविधिको पँहुच अभावमा देशभर दलित समुदायको पुख्यौली पेसा लोप हुँदै भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २ गते मंगलबार