‘सहकारीका माध्यमबाट नै आर्थिक समृद्धि सम्भव’



विश्व महामारीका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) का कारण देशका हरेक क्षेत्रमा ठूलो प्रभाव परेको छ । करिब चार महिना लामो लकडाउनले गर्दा सबै क्षेत्र जस्तै देशको अर्थतन्त्रका मेरुदण्डका रुपमा रहेका सहकारीका क्षेत्रमा असर समेत परेको छ । अहिलेको यो समयमा लकडाउनले गर्दा सहकारीमा परेको असर, यो विषम परिस्थितिमा सेवा प्रवाह, आगामी दिनमा सहकारी क्षेत्रलाई अगाडी बढाउने कार्ययोजना लगायतका विविध विषयमा केन्द्रित नेपाल केन्द्रिय कृषि सहकारी संघका केन्द्रिय सदस्य देब बहादुर केसीसँग मिसन टुडेका यानबी साहुले गरेको कुराकानीको सम्पादीत अंश  :
१. कोरोना कहरपछि लामो समय जारी गरिएको लकडाउनले सहकारी क्षेत्रमा कस्तो असर प¥यो ?

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा असर परेको अवस्थामा नेपाल जस्तो मुलुकमा यसको असर नपर्ने त कुरै भएन । देशका सबैजसो क्षेत्रमा यसको असर परिरहेको परिप्रेक्षमा सहकारी क्षेत्रमा पनि अछुतो रहन सकेन । सहकारी क्षेत्रमा विशेष गरेर दुई वटा असर परेको देख्न सकिन्छ । सहकारीहरुले राखेको निक्षेप कृषकहरुको पैसा लगानी गर्न गाह्रो भयो । त्यसले गर्दा मुलुकको अर्थतन्त्रमा समेत बाधा पुगेको छ भने अर्को तर्फ सहकारीले कृषकहरुलाई दिनुपर्ने सेवाहरुमा पनि केहि असहजकता आयो । तर पनि हामीले असहज परिस्थितिको सामना गर्दै शेयर सदस्य तथा कृषकहरुलाई सेवा प्रदान गर्न सफल भयौं । लकडाउनको समयमा कृषकहरुले उत्पादन गरेका कृषिजन्य उपजहरुलाई बजारीकरणका लागि सहकारी अर्थात् कृषि एम्बुलेन्स मार्फत उपभोक्तहरुमाझ सहज रुपमा पु¥याउन सफल भइयो । यसको मतलब सहकारीमा लकडाउनले कुनै असर गरेन भन्ने होइन, असहज परिस्थितिका बावजुत पनि शेयर सदस्य र उपभोक्ताहरुको सहजताका लागि सहकारीका विभिन्न गतिविधि सञ्चालन र उपभोक्ताहरुको सहजताको लागि कृषिजन्य उपजहरुलाई उपभोक्तासम्म सहजै पु¥याउन सफल भयौँ ।

२. अहिले पछिल्लो समय सहकारीहरुले के कसरी आफ्ना काम कारवाहीहरु सञ्चालन गरिरहेको अवस्था छ ?

अहिलेको समयमा कोरोना महामारीका कारण अन्य बैंक तथा वित्तिय संघ–संस्थाहरुले सहजै रुपमा सेवा प्रवाह गर्न नसकिरहेको अवस्था छ । यो समयमा सहकारीहरुले गाउँ सहरदेखि दूरदराजसम्मका नागरिकहरुलाई सहज रुपमा सेवा दिइरहेका छन् । बाँके जिल्लामा कोरोना संक्रमण देखा परेदेखि अहिलेसम्मको समयमा लकडाउन पनि कहिले खुल्ने कहिले बन्द हुने हुँदै आएको छ । पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएकोले लकडाउन जारी रहेपनि सहकारीहरुले आफ्ना आन्तरिक कार्यहरु सञ्चालन गरिरहेका छन् । यसले गर्दा सहकारीका शेयर सदस्य तथा आम नागरिकहरुलाई सहजता भएको हामीले महशुस गरेका छौँ । अहिलेको यो विषम परिस्थितिमा पनि हामीले सहकारीका माध्यमबाट शेयर सदस्यहरुलाई निरन्तर सेवा प्रदान गरेर जनताको विश्वास जित्न सफल भएका छौँ । उनीहरुले पनि के महशुस भएको छ भने साँच्चीकै हामी सहकारीको सदस्य भएर ठिक गरेछौँ । राम्रो काम गरेका रहेछौँ । सहकारीले दुःखको बेलामा हामीलाई साथ दिएका छन् । बैंक तथा वित्तिय संस्थाहरु बन्द रहेको बेलामा पनि निरन्तर सेवा पाइरहेका छौँ भन्ने भइरहेको छ । यसरी सहकारीहरुले अहिलेको विषम परिस्थितिको बीचमा पनि आफ्ना शेयर सदस्य तथा नागरिकहरुलाई निरन्तर सेवा प्रदान गरिहेको अवस्था छ ।
३. सहकारी विभागले यहि साउन ९ गते सहकारीका सदस्यहरुले लिएको ऋण एक वर्षसम्म नतिरे हुने र म्याद थप भएको समयको व्याज पनि नलिन सबै सहकारीहरुलाई निर्देशन पनि जारी गरेको छ । यो बाँकेमा लागू भएको छ ?

सहकारी विभाग भनेको नेपाल सरकारको एउटा निकाय हो । यसले सहकारीहरुको अनुगमन तथा नियमन गर्ने कार्य गर्दछ । तर यसले सहकारी अभियानता, छातासंगठन, महासंघसँग कुनै पनि समन्वय नगरेरै विभिन्न १० बँुदे निर्देशन सहितको पत्राचार ग¥यो । शेयर सदस्यहरुले लिएको ऋण एक वर्षसम्म नतिरे हुने, ब्याज पनि नलाग्ने भन्ने निर्देशन जारी त ग¥योे । तर कुरा कहाँनेर हुन्छ भने विभागले कुन अर्थमा बोल्यो, बुझ्न सकिएन । यति भनिरहँदा फेरि मैले विभागको कुनै विरोध गरेको होइन । असार मसान्तमा वार्षिक आर्थिक वर्षको अडिट हुन्छ । अडिटमा एक वर्षसम्मको पैसा उठेन, ब्याज उठेन भने लेखापरीक्षणमा रिपोर्ट राम्रो रिजल्ट आउँदैन । त्यहि निकायले अहिले १० बुँदे निर्देशन जारी गरेको छ । भोलि फेरि त्यहि निकायले अडिट रिपोर्टमा यति प्रतिशत भाका किन नाघ्यो, अथवा यस्तो किन भयो भनेर भन्न सक्छ । लागू गर्दा पछि फेरि त्यसलाई केहि बुँदाहरु संशोधन गरिएको छ । संशोधन अनुसार नै लागू भएको छ । म बैजनाथमा रहेको एभरेष्ट सहकारीको अध्यक्ष भएको नाताले हामीले त्यहाँका शेयर सदस्यहरुलाई ब्याजमा १० प्रतिशत छुट र हर्जना शतप्रतिशत मिनाहा ग¥यौ । अहिले पनि सदस्यहरुलाई किस्तामा कुनै ताकेता गरेका छैनौँ । तर उहाँहरु आफैले सहकारीबाट लिएको ऋण तिर्नु पर्छ भनेर तिरिरहनु भएको छ ।

४. कयौँ सहकारीहरुले लकडाउनको समयमा पनि सदस्यहरुबाट ऋण असुलीका लागि ताकेता गरेको भन्ने सुनियो । यस्तो भएकै हो ?

सहकारी संस्थाहरुबाट यस्तो कार्य भएको छ भन्ने कुरामा म विश्वास नै गर्दिन । किनकी कुनै पनि सहकारी संस्थाहरुबाट यस्तो कार्य हुनै सक्दैन । नेपाल सरकारको सोच सहकारी मार्फत वित्तिय पहुँच पु¥याउनु पर्छ भनिरहेको बेलामा बैंकहरुले पनि आफ्ना लघुवित्तिय शाखाहरु चलाएका छन् । अहिले गाउँ गाउँमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । कतै उनीहरुले गरेको ताकेतालाई सहकारीमा जोड्न खोजिएको हो कि भन्ने लागेको छ । नत्र सहकारी संस्थाहरुबाट शेयर सदस्यहरुलाई किस्ता तिर्न ताकेता गर्ने, छिटो बुझाउन आग्रह गर्ने जस्ता कार्यहरु भएजस्तो लाग्दैन ।

५. आगामी दिनमा सहकारीहरु के कसरी अगाडी बढाउने भन्ने योजनाहरु बनाउनु भएको छ ?

सहकारी क्षेत्रलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा हामीले भन्दा पनि विशेष गरेर नेपाल सरकारले नै ल्याएको सहकारी ऐनमा स्पष्ट उल्लेख गरिएको छ । जसअनुसार प्रकृतिअनुसार कारोवार गर्ने, एक व्यक्ति एक सहकारीको निती ल्याएको छ । यस अवस्थामा हामीले सहकारी अभियान्ताको तर्फबाट शेयर सदस्यहरुलाई जो जहाँ शेयर सदस्य छ, त्यहिबाट मात्रै कारोवार गर्नुहोस्, कृषि सहकारीमा भए कृषिमा मात्रै आफ्नो व्यापार व्यवसाय गर्नुहोस्, बहुउद्देश्यीयमा हुनुहुन्छ भने त्यहि उद्देश्यअनुसार र बचत तथा ऋणमा आवद्ध हुनुहुन्छ भने त्यसमै आवद्ध रहेर कारोबार गरेर आर्थिक समृद्धिमा जोडिनुपर्छ भनेर लागिरहेका छौँ ।

६. सहकारी निती अनुसार एक व्यक्ति एक सहकारी भएपनि अझै पनि एउटै व्यक्ति धेरै सहकारीमा आवद्ध भएको पाइन्छ नि ?

यसको लागि नेपाल सरकारले नै सहकारी ऐन २०७४ मा स्पष्ट उल्लेख गरेको छ । एक व्यक्ति एकै प्रकृतिको सहकारी बाहेक अर्को सहकारीमा आवद्ध हुन पाउने छैन । यदि एउटै प्रकृतिको अर्को कुनै सहकारीमा पनि त्यो व्यक्तिले सहकारी ऐन जारी गरेको मितिले ३ वर्षभित्र छोडिसक्नु पर्ने यदि त्यस्तो नपाइएमा कारवाहीको भागिदार हुने उल्लेख गरिएको
छ । अर्को कुरा एउटै व्यक्ति धेरै सहकारीमा आवद्ध नभएको होइन । यताको ऋण उताबाट ल्याएर तिर्ने, उताउता गरेर कारोबार गर्नाले आर्थिक समृद्धि होइन, झनै दुर्गती भइरहेको अवस्थामा विश्व सहकारी इतिहासलाई हेर्ने हो भने भारत सहकारीकै माध्यमबाट समृद्ध भएको छ । जापान जस्तो देशमा हेर्ने हो भने जम्मा पाँच हजार सहकारीले देश समृद्ध भएको छ । इजरायलमा कृषिको क्षेत्रबाट सहकारी चिनिएको छ । पछिल्लो समय नेपालमा पनि सुरुवात भएको छ । त्यति मात्र होइन, अहिले सहकारी विभागले कोकोविस सुरु गरेको छ । कोको विस भन्नाले एक जना व्यक्ति कुनै एउटा सहकारीको कोड लिएर इन्ट्री गरिसकेको अवस्थामा त्यो व्यक्ति नेपालका अन्य कुनै पनि सहकारीमा आवद्ध हुन खोज्यो भने कोड नम्बर क्लिक गर्ने बित्तिकै उसको सम्पूर्ण वायोडाटा नेपालको जुनसुकै सहकारीबाट पनि हेर्न सकिने सिस्टम रहेको छ । यो सिस्टम अहिले सबै जिल्लामा सुरु भएको छ । यसले गर्दा दोहोरो सदस्यता र अन्यौलताको अन्त्य छिटै हुन्छ ।

७. सरकारीकै कारण कतिपय व्यक्तिहरुको घरवास नै उठिवास लाग्यो भन्ने गरेको पनि पाइन्छ ? साँच्चिकै सहकारी कै कारण हो त ?

यसमा म के भन्न चाहन्छु भने शतप्रतिशत नै होइन भन्न सक्दिन । कहि कतै भयो होला । पहिले पहिले त्यस्तो थियो । जस्तो महिला दिदीबहिनीहरु ऋण लिनकै लागि धेरै सहकारीको सदस्य बन्ने गरेको पाइन्छ । एउटा सहकारीबाट ऋण ल्याएर अर्को तिर्ने, अर्कोबाट ल्याएर फेरि अर्कोमा तिर्ने जस्ता विकृतीहरु धेरै छन् । यस्तै कार्यहरुले गर्दा नै कसैका घरवास उठिबास लागेका हुन् । महिला दिदीबहिनीहरु धेरै सहकारीमा बस्दा उहाँहरुको सारी फेरियो होला तर आर्थिक अवस्था फेरिएन । झनै त्यस्तो कार्यले आर्थिक प्रगति भन्दा दुर्गती हुन्छ । तर पछिल्लो समय त्यसका बारेमा हामीले सचेतना फैलाउने गरेका छौँ । तपाईहरुले १० वटा समुहमा बसेर १÷१ लाख लिएर १० लाख रुपैयाँ लिएर १० वटा टेन्सन लिनुभन्दा एउटै सहकारीबाट १० लाख रुपैयाँ लिनुहोस् । आफ्नो व्यापार व्यवसाय गर्नुहोस् । हामी त्यो सहयोग गर्न तयार छौँ भन्ने गरेका छौँ । यसले गर्दा अहिले पछिल्लो समय धेरै सहकारीमा आवद्ध भएका दिदीबहिनीहरु पनि एउटै सहकारीमा आवद्ध हुने क्रम बढेको छ । घरवास उठिवास हुने लघुवित्त जस्ता संस्थाहरुमा बढि हुने गरेको पाइन्छ । यसलाई नै भ्रम फैलाउनका लागि वा नबुझेकाले व्यक्तिहरुले सहकारीसँग जोड्ने गरेको पाइन्छ ।

८. सहकारीले आफ्ना शेयर सदस्यहरुको जीवन स्तरमा कस्तो परिवर्तन ल्याएको छ ?

हामीसँग यसको ठ्याक्कै तथ्याङ्क नहुँदा सहकारीका माध्यमबाट शेयर सदस्यहरुको यस्तो यस्तो क्षेत्रमा परिवर्तन भएको छ भन्न नसकिरहेको अवस्था छ । तर कुरा कहाँनेर जोडिन्छ भने कुनै एउटा सहकारीले आफ्ना शेयर सदस्यलाई पाँच लाख रुपैयाँ दियो भने त्यो पैसाले उसले व्यापार व्यवसाय गर्छ । त्यै व्यवसायबाट आएको पैसाले घरपरिवार चलाएको छ । आफ्ना बच्चाबच्चीलाई स्कुल पढाएको छ । व्यापार व्यवसाय वृद्धि गरेको छ । यो सबै सहकारीले गरेकोले सहकारीले नै गरेको हो नि ? अर्थात सहकारीबाट लिएको ऋणबाट नै भएको हो । त्यसैले सहकारीका माध्यमबाट शेयर सदस्यहरुका सबै क्षेत्रमा आर्थिक विकास भएको छ । यसको मतलब सबै शेयर सदस्यहरुको आर्थिक समृद्धि भएको छ भन्ने होइन । जसको समृद्धि भएको छैन । उहाँहरुले पनि जुन उद्देश्यका लागि सहकारीबाट पैसा लिनु भएको थियो त्यो ठाउँमा नलाउन पनि सक्नु हुन्छ । तर अधिकांशको जीवन स्तरमा केहि न केहि आर्थिक परिवर्तन भएको छ ।

९. सहकारी र बैंक तथा अन्य वित्तिय संस्थाहरुमा के फरक छ ? अथवा वित्तिय संस्थाहरुको तुलनामा सहकारीमा कारोबार गर्दा के फाइदा  हुन्छ ?

अन्य बैंक तथा वित्तिय संस्थाहरु र सहकारीमा धेरै भिन्नता छ । सबैभन्दा पहिले आम नागरिकले यो बुभ्mन जरुरी छ । बैंक तथा वित्तिय संस्थाहरुमा कृषकहरुले कारोबार गर्छन् तर त्यहाँका कर्मचारी, फाउण्डरहरुले यो हाम्रो सदस्य हो, हाम्रो अन्नदाता हो भन्ने कुरा चिन्दैनन् । जुनबेला त्यहाँ गयो कारोबार ग¥र्यो, काम सकियो, त्यो च्याप्टर पनि त्यहि सकिन्छ । तर सहकारीमा त्यस्तो हुँदैन । सहकारीको शेयर सदस्य आफ्नो सहकारीमा पस्यो के अपनत्व हुन्छ भने यो मेरो सहकारी हो । यसमा मेरो लागानी छ । यो संस्थाबाट आएको फाइदा मैले पनि पाउँछु भन्ने उसमा अपनत्व हुन्छ । अन्तर यो पनि छ कि सहकारीले कमाएको पैसा शेयर सदस्यहरुको लागि पनि विनियोजित हुन्छ । त्यस्तै भईपरि आउने सुत्केरी भत्ता, पोषण भत्ता, किरिया खर्च छुट्याइएको हुन्छ । त्यसका साथै सहकारीले शेयर सदस्यहरुको ऋणको पनि विमा गरिदिएको हुन्छ । यसले गर्दा कुनै बेला पनि त्यस्तो केहि भइहाल्यो भने पनि त्यो साहारा हुनेछ । यस्तो सेवा सुविधा बैंक तथा अन्य वित्तिय संस्थाहरुमा हुँदैन ।

१०. सहकारी क्षेत्रले देशको अर्थतन्त्रमा कस्तो योगदान पु¥याएको छ ?

सरकारले अहिलेको संविधानमा नै तीन खम्बे अर्थनितीको अवधारणा ल्याएको छ । सरकारी, सहकारी र निजि क्षेत्र यी तीन क्षेत्रका माध्यमबाट आर्थिक समृद्धि हाँसिल गर्ने सरकारको निती छ । आर्थिक क्षेत्रका यी तीन खम्बामध्ये सहकारी पनि अर्थतन्त्रको मजवुत खम्बाको रुपमा रहेको छ । त्यसैले सहकारीले देशको अर्थतन्त्रमा विशेष योग्दान रहेको छ भन्न सकिन्छ ।

११. अन्त्यमा सहकारी अभियान्ता, शेयर सदस्यका साथै नागरिकरुलाई के सुझाव दिन चाहनु हुन्छ ?

आम नागरिकहरुसँगै सहकारीमा आवद्ध सम्पूर्ण सहकारी अभियान्ता, शेयर सदस्यहरुलाई म क भन्न चाहन्छु भने सहकारी हामी सबैको हो । सबैले अपनत्वको विकास गरौँ । सहकारीको भित्र पस्ता खेरी नै यो मेरो पनि हो भन्ने अपनत्व हुनुपर्छ र भइरहेको पनि छ । यस्तै अर्को कुरा म के पनि आग्रह गर्न चाहन्छु भने आउनुहोस् सहकारीमा नजोडिएकाहरु पनि जोडिआँै । छुटेका दिदीबहिनी दाजुभाइहरु हुनुहुन्छ भने पनि सहकारीमा जोडिनुहोस् । सहकारीबाट नै आर्थिक कारोबार गर्नुहोस् । सबैले हातेमालो गरेर अघि बढौँ । सहकारीका माध्यमबाट नै आर्थिक समृद्धि सम्भव छ ।

धन्यवाद ! 

अडियो कुराकानी फेसबुक लाइभबाट सुन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।         https://www.facebook.com/watch/?v=216267909813676

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार