नरैनापुरको कोहोला बाख्रा स्मार्टगाउँ



नरैनापुर (बाँके) ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा रहेको कोहोला गाउँलाई बाख्रा स्मार्टगाउँ घोषणा गरिएको छ । उक्त गाउँलाई बाँके क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सांसद कृष्णा केसी ‘नमूना’को पहल, सक्रियतामा बाख्रा स्मार्टगाउँ केही दिनअघि घोषणा गरिएको हो ।

यो गाउँका किसानहरुलाई बाख्रापालनतर्फ आर्कषित गर्नको लागि बाख्रा स्मार्ट गाउँ घोषणा गरिएको सांसद नमूनाले बताइन् । ‘विस्तारै विकासले काँचुली फेरिरहेको नरैनापुरमा कृषि र पशुपालनको राम्रो सम्भावना देखिन्छ’ उनले भनिन्, ‘प्रदेश सरकार र स्थानीय सरकारले अब यसतर्फ ध्यान दिएको छ ।’ कोहोला बाख्रा स्मार्ट गाउँलाई साँच्चिकै स्मार्ट गराउन जलवायु स्मार्ट, प्रविधि स्मार्ट, पोषण स्मार्ट, सिचाई स्मार्ट, बजार स्मार्ट र अन्तरसम्बन्धित स्मार्टलाई विशेष ध्यान दिएर काम भैरहेको सांसद नमूनाले बताइन् ।

‘बाख्रा स्मार्टगाउँका लागी प्रदेश सरकारले शुरुको वर्षमा ८० प्रतिशत लगानी (५० लाख) गरेको छ’ उनले भनिन्, ‘२० प्रतिशत स्थानीय तह वा सम्बन्धित किसानहरूले नै गर्नेछन् ।’ स्मार्टगाउँका लागी दोस्रोे वर्षबाट प्रदेश सरकारले २५ प्रतिशत सहयोग घटाउँदै लैजाने र ४ वर्षमा समुदाय कार्यक्रम पुरा गरेर स्थानीय सरकार तथा सम्बन्धितलाई हस्तान्तरण गरिने प्रदेश सरकारको लक्ष्य रहेको छ । कोहोला गाउँलाई बाख्रा स्मार्टगाउँ घोषणा गरिएपछि किसानहरू व्यवसायिक बाख्रा पालनतर्फ आर्कषित हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका प्रमुख कमला अधिकारीले बताइन् ।

‘पहिले थोरै मात्रामा बाख्रा पाल्नेहरू पनि स्मार्ट गाउँसँग जोडिएर खोर भरी बाख्रा पाल्न सुरु गरेका छन्’ उनले भनिन्, ‘यसले नरैनापुरको सम्मृद्धिलाई जोड्दै लग्नेछ ।’ कोहोला बाख्रा स्मार्टगाउँमा ५० घर परिवारले अहिले व्यवसायिक रूपमै बाख्रा पालिरहेका छन् । हरेक घरका किसानले १२ देखि ५० वटासम्म बाख्रा पालेको कोहोला बाख्रा स्मार्ट गाउँका संयोजक सविर खाँन बताए ।

बाख्रा स्मार्ट गाउँमा कुल संख्या हेर्ने हो भने ५ सय बढी बाख्रापालन गरिएको छ । बाख्रा स्मार्ट गाउँ स्थापना भएपछि बाख्रालाई सुरक्षित राख्न नयाँ खोर निर्माण गरिएका छन् । बाख्रालाई चाहिने उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधि लगायतको व्यवस्थापन गरिएको छ । प्रत्येक मंगलबार बाख्रा विक्रिको लागी बजार लगाउने, बाख्राको मलबाट व्यवसायिक तरकारी खेती गर्ने योजना अगाडी सारिएको छ । File Photo

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ८ गते बिहीबार