बाँकेमा स्वाब संकलन गर्ने संक्रमित



कोहलपुर ।

बाँकेका एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत कोहलपुर नगरपालिका २ घर भएका ३९ वर्षिय स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथको स्वास्थ्य चौकीमा कार्यरत उनी ल्याब टेक्निसियन हुन् । उनी पीसीआर परीक्षणका लागि मानिसहरुको स्वाब संकलन कार्यमा समेत खटिदैं आएका थिए ।

कोहलपुरमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिदैं ।                                                                   फाइल फोटो

३९ वर्षिय ल्याब टेक्निसियनलाई स्वाब संकलन कै क्रममा कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग स्रोत व्यक्ति नरेश श्रेष्ठले स्वाब संकलन गर्ने टेक्निसियनलाई कोरोना पुष्टि भएको बताए । ‘बाँकेका पहिलोपटक स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ’ उनले भने, ‘उहाँलाई स्वाब संकलन गर्ने क्रममा नै कोरोना कसैबाट सरेको हुनसक्छ ।’

उनी लगायतको स्वाब संकलन गरेर शनिबार परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । स्वाब संकलनमा खटिने संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको काम आज सोमबारबाट गरिने कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । ‘संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको काम सोमबारदेखि सुरु गर्नेछौं’ उनले भने, ‘सम्पर्कमा आएका व्यक्तिहरुको तथ्यांक संकलन गरेपछि स्वाब संकलन हुनेछ ।’ यसअघि बाँके खजुरा गाउँपालिकामा कार्यरत एक स्टाफ नर्समा समेत कोरोना संक्रमण देखिएको थियो । उनी अहिले कोरोना जितेर काम फर्किसकेकी छन् । यसैबिच आइतबार भेरी अस्पतालको प्रयोगशालामा गरेको पीसीआर परीक्षणको क्रममा विभिन्न जिल्लाका १० जनामा कोरोना पुष्टि भएको थियो । तीमध्ये बाँकेका १ जना, सल्यानमा २, दाङ्गका ३ र रोल्पाका ४ जनामा कोरोना पुष्टि भएको हो ।
खाली हुँदै क्वारेन्टिन

बाँकेमा आइतबार साँझसम्म क्वारेन्टिनमा बस्नेहरुको संख्या ८९ जना मात्र रहेको छ । जिल्लाका ६ वटा क्वारेन्टिनमा ८९ जना मात्र बसिरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइतबार क्वारेन्टिनबाट ७ जना घर गएका थिए भने २० जना थपिए । अहिलेसम्म ७१ जना पुरुष र १८ जना महिला मात्र क्वारेन्टिनमा रहेका छन् । आइतबारसम्म बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ८९ जना पुगेको छ । तीमध्ये ३२ महिला र ३३४ पुरुष गरी ३६६ जना कोरोना जितेर घर फर्किसकेका छन् । ४ महिला र १७ पुरुष गरी अहिले जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण बाँकेमा एक पुरुष र एक महिला गरेर दुई जनाको मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमबार