बाँकेका आठ वटै स्थानीय तहमा कोरोना भाइरस संक्रमण पुष्टि भइरहेको छ । कोरोनाको उपचारपछि घर फर्किनेहरुको समेत संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । बाँकेको खजुरा गाउँपालिकामा अहिलेसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै विषयमा कोरोना कहरमा गाउँपालिकामा भइरहेका गतिविधि र गाउँपालिकाको वर्तमान अवस्था तथा पछिल्लो समसामयिक विषयमा मिसनकर्मी शुभाकर विश्वकर्माले खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विश्वकर्मासँग गरेको कुराकानी ।
१. कोरोना रोकथामका लागि खजुरा गाउँपालिकाले के–के गरिरहेको छ ?
सर्वप्रथम त खजुरा गाउँपालिका कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि निरन्तर सक्रिय रहेको जानकारी गराउन चाहन्छु । जुन नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । त्यही बेलादेखि नै गाउँपालिकामा कोरोनाको विरुद्धमा गर्नुपर्ने काम, गाउँपालिका भरि गरिने क्रियाकलापदेखि क्वारेन्टिन निर्माणसम्मका काम गरिएको थियो । सर्वप्रथम हामीले मैटहवामा क्वारेन्टिन निर्माण गरेका थियौं । त्यसको केही दिनमा कृषि तालिम केन्द्रमा आइसोलेसन निर्र्माण गर्ने काम भयो । क्वारेन्टिनको क्षमता ७३ र आइसोलेसनको क्षमता १५ बेडको निर्माण गरिएको थियो । कोरोनाको कहर शुरु हुन वित्तिकै विभिन्न जिल्ला तथा भारतबाट मानिसहरु आउन शुरु गरे ।
पहिलो चरणमा आएका नागरिक २१ दिन क्वारेन्टिनमा बसेका थिए । कोरोना परिक्षणपछि मात्र गाउँपालिकाले ती नागरिकहरुलाई घर पठायो । पछि संक्रमण बढ्दै जान थालेपछि भने पहिला उद्धार गर्ने, गाउँपालिका बाहिरका तर भारतबाट आएका नागरिकलाई गन्तव्यमा पु¥याउनको लागि सम्बन्धित पालिकासँग समन्वय गर्ने र पालिकाका मानिसलाई सुरक्षाको लागि क्वारेन्टिनमा राख्यांै । अहिले खजुरा गाउँपालिकामा कुल २२ वटा क्वारेन्टिन सञ्चालनमा छन् । जिल्लाकै सबै भन्दा बढि संक्रमितको उपचार भइरहेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा मै पर्छ । त्यसर्थ खजुरा अविरल यात्रामा हिडिरहेको छ कोरेना रोकथामका लागि । यो कोरोना विशेष आइसोलेसन अस्पताल समेत हो । जिल्लाका धेरै संक्रमितको यहाँ उपचार समेत भएको छ । भने निको भएर समेत उत्तिकै संख्यामा मानिसहरु गएका छन् ।
२. गाउँपालिकामा रहेका क्वारेन्टिनमा बस्नेहरुको व्यवस्थापन कसरी भइरहेको छ नी ?
गाउँपालिकामा २२ वटा क्वारेन्टिन रहेका छन् । त्यहाँ थ्रुपै मानिसहरु बसिरहेको अवस्था छ । हामीले भारतबाट आउने र क्वारेन्टिनमा राख्नु पर्ने नागरिकहको सहजताका लागि जुन वडाका हुन् सकभर आफ्नै वडा र गाउँ नजिकै उच्च सुरक्षा सर्तकताका साथ व्यवस्थापन गरेका छौ । क्वारेन्टिनहरु एकदम व्यवस्थित र सरसफाई युक्त छन् । अहिले सम्मको डाटा अनुसार खजुरामा १ हजार ५ सय भारतबाट आएका छन् । उनीहरुको सबैको आरडीटी र पीसीआर परीक्षण भइरहेको छ । अहिले धेरै घर गइसकेका छन् । बाँकी रहेकाहरुको समेत परीक्षण प्रत्येक भइरहेको अवस्था छ । रिपोर्ट नेगेटिभ आएमा बिदाई गर्ने गरिएको छ । भने कोरोना पुष्टि भएमा पनि पायक पर्ने सरकारले तोकेका र स्थानीय सरकारले समेत निर्माण गरेका आइसोलेसनमा लिएर उपचार हुन्छ । महिला र बालबालिकाको लागि समेत छ्टटै संरचना निर्माण गरिएको म हजुरलाई जानकारी गराउन चाहान्छु । उक्त अस्पतालमा कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पछिल्लो समय फेरी गाउँपालिकाले आइसोलेसन निर्माणको लागि प्रक्रिया थालेको छ । जनक शिक्षा सामग्रीको भवन थप आइसोलेसनको रुपमा निर्माण भइहेको छ । क्वारेन्टिनमा बसेका र परीक्षणपछि पोजेटिभ देखिएकाहरुको उपचार कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरमा भइरहेको छ । यो ४० बेड क्षमताको छ । क्वारेन्टिन निर्माण तथा आइसोलेसन निर्माणमा ठूलो मात्रामा बजेट खर्च भएको छ । करिब २ करोड रकम रकमान्तर गरिएको छ । हामी पूर्ण रुपमा कोरोना केन्द्रीत छौं ।
३. गाउँपालिकाका विपन्न नागरिकरुलाई कत्तिको राहत वितरण गरिएको छ जानकारी गराइदिनुन ?
गाउँपालिकाले कुल ८० लाख रकम खर्च गरेको छ । गाउँपालिकाले दुई चरणमा राहत वितरण गरेको थियो । सिंगो गाउँपालिकामा रहेका विपन्न नागरिकहरुको चुल्हो निभ्न नदिनको लागि मापदण्ड नै बनाएर राहत वितरण गरेको हो । यसमा सकभर कोरोनाबाट पीडित समेटिएका छन् । अर्कातिर अहिले क्वारेन्टिनमा धेरै मानिसहरु रहेका छन् । उनीहरुको व्यवस्थापन समेत गर्नु पर्ने बाध्यता रहेको छ । मैले अघि नै भने जस्तै भारतबाट आएका नागरिकहरुको उनीहरुको घर देखि नजिकै पायक पर्ने गरि क्वारेन्टिनमा निर्माण भएका छन् । उनीहरुको अन्य व्यवस्थापन गाउँपालिकाले गरेको छ । तर खाना भने आफ्नै घरबाट ल्याउने सहमति अनुसारका काम भइरहेको छ । यो गाउँपालिकाको एकल निर्णय होइन सर्वदलीय, सर्वपक्षीय बैठक बसेर नै निर्णय भएको हो ।
नागरिकमा अपनत्व होस भन्नको लागि समेत हामीले यसो गरेका छौ । स्वयमसेवक मार्फत यस्तो कार्यको व्यवस्थापन गाउँपालिकाले गरेको छ । त्यति मात्रै होइन उनीहरुको कोरोना परिक्षण गर्ने काम पनि तीव्र भइरहेको छ । समुदाय स्तर सम्म कोरोना नपुगोस भन्नको लागि हामी सचेत भएर लागिरहेका छौ । कोही पनि भोकले मर्नु पर्ने अवस्था छैन । सकेसम्म जनगुनासो नआउने गरि हामीले संयन्त्र मार्फत काम गरिरहेका छौ । अहिले सम्म गाउँपालिकाका स्थानीयले पनि गाउँपालिकाले हामीलाई बेवास्ता ग¥यो भन्ने गुनासो सुनिएको छैन । केही कुरामा गुनासो आइहालेको खण्डमा हामीले के कति ठाउँमा समस्या भयो भनेर समाधानको लागि सधै तत्पर छौ । स्थानीय सरकार मार्फत सहयोग गर्नेहरुले समेत सहयोग गर्न भएको छ । अझै पनि कोही पनि व्यक्ति, सस्था आउन भने एकद्धार प्रणाली मार्फत अघि बढिन्छ ।
४. खजुरामा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
हामी कहाँ सोमबारसम्मको डाटा अनुसार १९ जना संक्रमित छन् । आरडीटि परीक्षण गरिएका मध्ये चार जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म ३ जना कोरोना जितेर घर फर्किएका छन् । उनीहरुको अहिले होम क्वारेन्टिनमा छन् । सम्बन्धित वडा कार्यालयले उनीहरुलाई निगरानीमा राखेको अवस्था छ । अन्य संक्रमितको उपचार आइसोलेसनमा भइरहेको छ । अहिले सम्म झण्डै १५ सय जना जति भारतबाट आएका छन् । उनीहरु मध्येबाटै हो कोरोना देखिएको । अहिलेसम्मको अवस्था हेर्ने हो भने खजुरामा कोरोना पोजेटिभ देखिएमा कोरोनाको लक्षण देखिएको छैन । उहाँको अवस्था सामान्य छ । आइसोलेसनमा लिएर स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको छ । नेपाल सरकारले तोकेको मापदण्ड र समयसिमा भित्र उहाँहरुलाई राख्नैपर्छ । सबै भन्दा बढि आएको भनेको भारतबाटै हो । ती मध्ये अहिलेसम्म कोरोना संक्रमण देखिएका व्यक्तिहरु मुम्बइ र महाराष्ट्रबाट आएका बढि छन् । भारतका अन्य क्षेत्रबाट समेत ठूलो संख्यामा मानिसहरु आउनुभएको छ । उहाँहरुलाई अनिवार्यहरु मा क्वारेन्टिनमा राखिएको छ । भारतबाट आएका केही पनि क्वारेन्टिनमा नबसी घर गएका छैनन् ।
५. सबै भन्दा बढी कोरोना संक्रमितको उपचार यहाँ भइरहेको छ, जोखिम बढि देखिन्छ नी, गाउँपालिकाले कसरी सुरक्षा अपनाएको छ ?
तपाईले सही प्रश्न गर्नु भयो । तपाईले भनेको जस्तो पक्कै पनि हो । यहाँ बाँकेका अन्य पालिकाका मात्रै नभइ अन्य जिल्लाका संक्रमितको समय उपचार भइरहेको अवस्था छ । यो अवस्थामा देखि गाउँपालिका पूर्णरुपमा जानकारी छ । यति मात्रै होइन हामीले गम्भीर संवेदनशिलता अपनाइरहेका छौं । पोजेटिभ देखिएका व्यक्तिहरुलाई खजुरामा ल्याउँदा उच्च सर्तकता अपनाएका छौं । एम्बुलेन्स चालकलाई पूर्ण सर्तकताका साथ उनको सुरक्षाको लागि चाहिने सम्पूर्ण सामग्रीको अभाव हुन दिइएको छैन । त्यति मात्रै होइन भारतबाट आउने नागरिकलाई ओसार्ने गाडीका चालकलाई समेत पूर्ण सुरक्षा दिएका छौं । उनीहरुमा कुनै पनि प्रकारको असुरक्षाको महशुस हुन नदिएको अवस्था हो । यहाँ कोरोना संक्रमण देखिएपनि समुदाय स्तरमा तथा विपत्तिको रुपमा नजाओस् भन्नको लागि हामीले उनीहरुको मनोवल उच्च पार्ने काम गरेका छौ जस्तो लाग्छ । शुरुको अवस्थामा अन्य क्षेत्रका संक्रमित ल्याइएको थियो । स्थानीयहरुमा नबुझेर केही विरोध र असन्तुष्टिको स्वर सुनिएको थियो । पछि हामीले सम्पूर्ण नागरिकलाई चेतना फैलाऔ र भन्यौ तपाईहरुलाई असुरक्षा भन्ने कुरा हुँदैन । त्यसपछि उहाँहरुले कोरोनाका बारेमा बुझ्नु भयो र अहिले उहाँहरुले नै सहयोग गर्नु भएको छ । समुदाय र सरकार मिलेर हामी एकजुट भएर लागि परेका छौं । संक्रमितको सुरक्षा र सुरक्षित रुपमा गन्तव्यमा पु¥याउनको लागि बाक्लो सुरक्षाकर्मी खटिएको थियो । भने बजार लकडाउन जस्ता कार्य समेत हामीले गरेउ । भारतसँग जोडिएका नाकामा समेत सुरक्षा व्यवस्था कडा पारिएको । यहाँका जनता प्रति आभार प्रकट गर्दछु ।
६. लकडाउनको समयमा हिंसाका घटना बढिरहेको बताइन्छ खजुराको अवस्थाका बारेमा पनि जानकारी गराइदिनुस न ?
प्रहरी रिर्पोट अनुसार तपाईले भनको जस्तो घरेलु हिंसा केही बढेको देखिन्छ । यो त हाम्रो सदियौं देखिको समस्या समेत हो । खजुराको गाउँपालिकाको हकमा न्यायिक समितिमा यस्ता खालका घटना आएका छैनन् । छिटफुट भइ नै रहन्छन् । कोही न्यायलयसम्म पुग्छन् । कोही पुग्दैनन् । तर खजुरामा दुई चारवटा आत्महत्याका घटना भएको जानकारी पाएकी छु । कोरोना र लकडाउन नै कारणले गर्दा हिंसा भएको भन्ने विषयामा न्यायिक समितिमा उजुरीमा रुपमा नपरेको म सबैलाई जानकारी गराउन चाहन्छु । अहिले मिडियाहरुमा यस्ता खाले कुरा पनि आइरहेका छन् । यसमा केही हदमा सत्य पनि होलान् तर खजुराको हकमा भने त्यस्तो छैन । एउटा कुरा मलाई के अनुभूति भइरहेको छ भने,सबै जना लकडाउनका कारण बाहिर निस्कन पाएका छैनन् । लामो समयदेखि छुटिएकाहरु भेटिएका छन् ।
देश भित्रै विभिन्न शिलशिलामा टाढा रहेकाहरु घर आएका छन् । यसमा मुख्य गरि श्रीमान र श्रीमती वीच हुने घटनालाई लिएर हेर्नुपर्ने हुन्छ । जस्तो कुनै पनि व्यक्ति लामो समयसँगै रह्यो भने या त बढि जै नजिक हुन्छ या त उनीहरु बीच केही न केही विषयमा बेमेल हुने गर्दछन् । त्यसैले स–साना विषयमामा मनमुटावका घटना भइरहन्छन् । अलि उग्र भयो भने मात्र न्यायलयसम्म आउने हो । लामो समय विनाकाम घर भित्रैसँगै बस्नु परेकोले यस्तो समस्या देखिन गएको हो । अब विस्तारै लकडाउन खुकुलो भइरहेको छ । यस्तो समस्या पनि दुर हुँदै जाने सम्भावना बढेको छ । यस्तो अवस्थामा घर भित्र हिंसा हुने गर्दछ । यसमा सबै जना सचेत हुनुपर्छ । कुनै पनि बाहनामा हिंसा स्विकारे कुरा होइन । महामारीको सबैेले सबै जना मिलेर बस्नुपर्छ । विपत्तिको सामना सबै जना मिलेर गर्नुपर्छ । हामीले जानकारी भए सम्म हामीले उनीहरुको घरमै गएर मेलमिलाम गराउने समेत गरेका छांै ।
७. कोरोना कहरका बीच गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता के हुन्छ ?
अहिले हामी नीति तथा कार्यक्रमको तयारीमा छांै । प्रकृयागत रुपमा अहिले पनि वडाबाट योजना आउँदैछन् । अर्कातिर सिंगो गाउँपालिकाका कोरोना रोकथामको अभियानमा जुटिरहेको अवस्था छ । यही बेला बजेट समेत बनाउनुपर्ने बेला भएकोले हामीले यसलाई कार्यलाई पनि तिव्रता दिइरहेको अवस्था छ । वडा तथा विषयगत शाखाबाट आएका नीति तथा कार्यक्रम माथि छलफल हुन्छ । अन्त्यमा नीति तथा कार्यक्रम तर्जुमा समितिले अन्तिम रुपमा दिने काम गर्दछ । अनि मात्र गाउँ कार्र्यपालिकामा जान्छ । यस पटकको बजेट कोरोनासँग नै केन्द्रीत रहने कुरा म सबैलाई जानकारी गराउन चाहन्छु । कोरोनापछि उत्पन्न अवस्थालाई सम्बोधन हुने नीति तथा कार्यक्रम र बजेट आउँछ । विदेश तथा भारतबाट धेरै नागरिक बेरोजगार भएर आएका छन् । उनीहरुको रोजगारी दिने खाने कार्यक्रममा आउँछन् । हरेक व्यक्तिको क्षमता अनुसार कार्यक्रम आउँछन् । रोजगार केन्द्र मार्फत अधिकतमलाई रोजगारी दिने खाने कार्यक्रम आउँछ । खजुरामा कृषि र पशुपालनको सम्भावना बढि छ । सोही अनुसार कसरी रोजगारी बढाउने तर्फ ध्यान दिन्छौं ।
८. अन्त्यमा कोरोनाबाट बच्न र बचाउनको लागि सम्पूर्णलाई के भन्न चाहनुहुन्छ ?
पहिल्लो समय लकडाउन खुकुलो भन्दै गएको छ । यस्तो अवस्थामा हामीले थप सुरक्षा अपनाउनुपर्ने बेला भएको छ । हामीले सुरक्षा अपनाउनुको विकल्प छैन । त्यसको लागि सरसफाई र सुरक्षा पहिलो प्राथमिकता हो । सोही अनुसार सुरक्षित रहन म सम्पूर्णलाई आग्रह गर्न चाहन्छु । कोरोना कहर नसकिएको हुँदा स्वयम् व्यक्ति नै सुरक्षित रहनु पर्ने हुन्छ भने विभिन्न योजना र आयोजना, उद्योग, कलकारखानामा सामाजिक दुरी कायम गर्ने र मास्क, सेनिटाइजर र पञ्चाको प्रयोग गर्नुको विकल्प छैन । नत्र भने अहिलेसम्म समुदाय स्तरमा कोरोना फैलिएको छैन । लकडाउन खुकुलो बनाउने र सुरक्षामा ध्यान नदिने हो भने भोली थप संकट नआउला भन्न सकिदैन । त्यसैले सम्पूर्ण जिल्लाबासीलाई नै सुरक्षित रहनको लागि आग्रह गर्न चाहन्छु ।








प्रतिक्रिया दिनुहोस्