सुदीप अधिकारी । बर्दिया ।
जिल्लास्थित जनज्योती माविको क्वारेन्टिनमा १४ दिन पुरा गरेका व्यक्तिहरुको आरडीटी विधिबाट स्वास्थ्य परीक्षण गरियो । जसमध्ये ५ जनाको आरडीटी रिर्पोट पोजेटिभ आयो । उनीहरुको पीसीआर बिधिबाट स्वास्थ्य परीक्षण गर्नका लागि २७ गते स्वाब संकलन गरेर भेरी अस्पताल नेपालगञ्ज पठाइयो । स्वाब पठाएको करिव एक साता बित्नै लाग्यो तर पीसीआर रिर्पोट अझै आएको छैन । उनीहरु क्वारेन्टिनमै छन् । समयमै रिर्पोट नआउँदा उनीहरुमा बेचैनी बढेको छ ।
पीसीआर रिर्पोट पोजेटिभ आएपछि मात्र आइसोलेसनमा लैजाने व्यवस्था छ । रिर्पोट नआउञ्जेल क्वारेन्टिनमै बस्नुपर्छ । क्वारेन्टिनमा उनीहरुसँगै नयाँ व्यक्तिहरु पनि छन् । सबैले एउटै शैचालय, खानेपानी प्रयोग गर्छन् । सँगै बसेर गफिन्छन् । आरडीटी पोजेटिभ देखिएको व्यक्ति लामो समयसम्म क्वारेन्टिन बस्नु पर्दा संक्रमण फैलने सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । क्वारेन्टिनमा बस्नेहरु पनि आफुलाई सुरक्षित ठान्दैनन् । भारतबाट आएर ठाकुरबाबाको एक क्वारेन्टिनमा बसेका एक व्यक्ति प्रश्न गर्छन, ‘संक्रमित साथीले प्रयोग गरेका धारा, शैचालय प्रयोग गर्नु पर्ने बाध्यता छ । आफुलाई कसरी सुरक्षित ठान्नु ।’ जिल्लाका ८ वटै पालिकामा यस्तै समस्या छ ।
समयमै पीसीआर रिर्पोट नआउँदा अन्योलता बढेको छ । पालिकाहरुलाई क्वारेन्टिन व्यवस्थापन गर्न पनि सकस हुँदै गएको छ । जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइन्छ । त्यहाँ स्वाबको चाङ लागेको छ । भेरी अस्पतालमा रिर्पोट आउन किन ढिलो भयो भनेर सोध्दा लाइनमा छ । प्रकृयामा छ भन्ने जस्ता जवाफ आउने गरेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी बताउँछन् । परीक्षण गर्नु पर्ने स्वाब बढ्दै गएको तर मेसिनको क्षमता कम भएकाले रिर्पोटमा ढिलाई हुने गरेको जवाफ भेरी अस्पतालले दिने गरेको स्वास्थ्य कार्यालय प्रमुख गिरी बताउँछन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लाका आठ वटै स्थानियमा हालसम्म जम्मा २ हजार १९ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको छ ।
जसमा हालसम्म १ हजार ७४६ जनाको रिर्पोट आइसकेको छ । २ सय ७३ जनाको रिर्पोट अझै आउन बाँकी छ । परीक्षणमा लामो समय लाग्न थालेपछि जिल्लामै पीसीआर जाँच मेसिन राख्नु पर्ने माग बढ्न थालेको छ । जिल्लामै पीसीआर मेसिन जडान भए निकै सहजता आउने जिल्लाबासीको भनाई छ । यहाँ पनि पीसीआर मेसिन जडान भए नेपालगञ्जको चाप पनि घट्ने र छिटो रिर्पोट आउने भएकाले संक्रमणको जोखिम पनि कम हुने रेडक्रसकर्मी यज्ञ नेपाल बताउँछन् । उनी भन्छन्, ‘जे जसरी भएपनि जिल्लामै मेसिन जडान गरेर पीसीआर परीक्षणको दायरा पनि बढाउनु पर्छ । अनि मात्र समुदाय स्तरमा संक्रमण फैलन सक्ने जोखिम रोक्न सकिन्छ ।’
पीसीआर मेसिनका लागि जिल्लाबाट निर्णय गरेर पठाइएको तर त्यसको कुनै प्रतिक्रिया नआएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । सुरुमा यहाँका पालिकाहरुले क्वारेन्टिनको मात्र व्यवस्था गरेका थिए । आइसोलेसन कक्ष निमार्ण गर्ने तर्फ खासै ध्यान दिएका थिएनन् । तर पछिल्लो समयमा संक्रमण बढ्दै जाने संकेत पाएपछि पालिकाहरुले धमाधम आइसोलेसन कक्ष निमार्ण गरे । अहिले जिल्ला भरमा करिव १ सय बेडको आइसोलेसन कक्ष तयार छ । यसरी नै जिल्लाका सबै पालिकाहरुले पहल गरे पीसीआर मेसिन पनि जडान गर्न सकिने जिल्लाबासी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्