चार सय ३१ परिवारलाई राहत वितरण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं.४ ले लकडाउनका कारण समस्यामा परेका ६ सय बढी घरपरिवारलाई राहत वितरण गरेको छ । पहिलो र दोस्रो चरणमा गरी वडाका दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न ६ सय १६ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । पहिलो चरणमा वडाका १ सय ८५ घरपरिवारलाई राहत उपलब्ध गराइएको थियो । जसअन्तर्ग लकडाउनका कारण समस्यामा परेका परिवारलाई प्रतिपरिवार १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन वितरण गरिएको थियो ।

त्यसका साथै राहत वितरण लागि तथ्यांक संकन गर्न छुटेका व्यक्तिहरुलाई पनि वडा स्तरमा गठन गरिएको समितिको सिफारिसमा राहत वितरण गरिएको थियो । यस्तै दोस्रो चरणको राहत पनि वितरण गरिएको छ । दोस्रो चरण अन्तर्गत दैनिक ज्याला मजदुरी गर्ने वडाका चार सय ३१ घर परिवारका दुई हजार २१ जना अतिविपन्न नागरिकलाई राहत वितरण गरिएको हो । तीन दिनदेखि जारी दोस्रो चरणको राहत वितरण कार्य शुक्रबार सकिएको छ ।

पहिलो दिन १ सय ७०, दोस्रो दिन १ सय ४५ र शुक्रबार तेस्रो तथा अन्तिम दिन १ सय १६ घरपरिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष तिरथराम थारुले जानकारी दिए । नगरपालिकाबाट आएको रकमबाट तीन दिनको अवधिमा वडामा रहेको दैनिक ज्याला मजदुरी गरेर खाने अतिविपन्न ४ सय ३१ परिवारका दुई हजार २१ जनालाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको उनको भनाई छ । वडाअध्यक्ष थारुका अनुसार प्रतिव्यक्ति राहतस्वरुप ५ किलो चामल, आधा लिटर तेल, आधा किलो दाल, प्रतिपरिवार एक पोका नुन उपलब्ध गराइएको हो । अझै पनि लकडाउन लम्बिदै गए राहतलाई श्रमसँग जोड्ने योजना रहेको वडा अध्यक्ष थारुले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३१ गते शनिबार