कर्मचारीलाई २० लाख, स्थानियलाई ५ लाख राहत



बर्दिया ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिकामा खटिने जनप्रतिनिधी र कर्मचारीको कोरोना भाइरसका कारण निधन भएमा बर्दियाको एक पालिकाले २० लाख रुपैँया राहत उपलब्ध गराउने निर्णय गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

बढैयाताल गाउँपालिकाले आफनो पालिकामा कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि निरन्तर अग्रपंक्तिमा रहि खटिएका पालिकाका जनप्रतिनिधी, पालिकाले खटाएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक तथा पालिकाबाट खटाइएका अन्य व्यक्तिहरुको कोरोना भाइरस संक्रमणका कारण असमाहिक निधन हुन गएमा राहत स्वरुप २० लाख रुपैँया प्रदान गरिने बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।

यसैगरि आफनो पालिकाका स्थानिय बासीन्दाको कोरोना भाइरसको कारण निधन हुन गएमा निजको परिवारलाई राहतस्वरुप ५ लाख रुपैँया उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले बताए । यसका साथै कोरोना संक्रमण भएका व्यक्तिहरुको सम्पूर्ण उपचार खर्च पनि पालिकाले व्यर्होने बताइएको छ । विपतको समयमा अग्रपक्तिमा रातदिन खटिने व्यक्तिहरुको मनोवल उच्च बनाउन राहतको घोषण गरिएको पालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३० गते शुक्रबार