मृतक युवामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो



सुर्खेत ।

कर्णाली प्रदेशको दैलेख स्थित दुल्लु नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मृतक युवकको कोरोना परीक्षण पोजिटिभ देखिएको पुष्टि गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञा प्रतिष्ठान जुम्लामा गरिएको नमूना परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

भारतको गुजरातबाट आएर दुल्लु नगरपालिका वडा नम्बर ७ स्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टिनमा रहेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । दुल्लु नगरपालिका ११ का ३५ वर्षीय ती युवक शनिबार बिहान बेहोश भएर ढले लगत्तै मृत्यु भएको हो । १० दिन देखि क्वारेन्टाइनमा रहेका उनको १५ जेठमा स्वाबको नमूना संकलन गरिएको थियो । मृतक युवाको शवंलाई कार्यविधिले तोकेको मापदण्ड अनुसार दाहसंस्कार गरिने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । सातमध्ये ६ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

यसरी आईपुगेका थिए दैलेख

कर्णाली प्रदेशमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका यूवा १० दिनअघि दैलेख आईपुगेका थिए । भारतको गुजरातस्थित अहम्दावाजमा एक होटलमा कुकको काम गर्ने उनी पटक–पटक भारत गइरहन्थे । तर, यसपटक उनी लामो समय भारतमा नै बसेका थिए । उनी भारतमा रेल सेवा सञ्चालनमा आएसँगै काम गर्ने ठाउँबाट घर फर्किएका हुन् । उनी बाँकेको नजिकै रहेको भारत स्थित बहराइच जिल्लामा ७ दिन क्वारेन्टिनमा बसेर फर्केका थिए । बहराइचबाट फर्कदा रात परेपछि रुपैँडियाँमा बास बसे ।

भोलिपल्ट नेपालगञ्जस्थित जमुहाहा नाकाबाट नेपालगञ्ज हुँदै दुल्लु नगरपालिकाले ब्यवस्थापन गरेको गाडीमा सिधंै दुल्लु नगरपालिकामा आइपुगेका थिए । त्यहाँ विद्युत प्राधिकरणको सव स्टेशनमा बनाईएको क्वारेन्टिनमा उनीसहित अन्य २ जना एउटा कोठामा बस्थे । सँगै बस्ने दुई जना मृतककै नजिकका गाउँका हुन् । दुल्लु आएको १० दिनको विहान १० बजे उनको मृत्यु भएको थियो । उनीसँगै बसमा ४२ जना आएका थिए । बाटोमा उनको गाउँ नजिकका ४ जनासँग सम्र्पक भएको बुझिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १८ गते आइतबार