बर्दियामा पीसीआर परीक्षण न्यून, जोखिम बढ्ने खतरा



सुदीप अधिकारी । बर्दिया ।

केहिदिन यता भारतबाट घर फर्कनेहरुको लर्को छ । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाका तथा नेपालगञ्ज जमुनाहा नाकाबाट दिनहुँ सयौँ मानिसहरु जिल्ला भित्रिरहेका छन् । भारतबाट घर फर्कनेको संख्या बढ्दै गएको छ । तर जिल्लामा पीसीआर परीक्षणको दायरा भने बढाइएको छैन । परीक्षणको दायर नबढाउँदा संक्रमणको जोखिम बढ्दै गएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार पीसीआर परीक्षणका लागि ४ वटा दायरा कायम गरिएको छ । उनका अनुसार आरडीटी पोजेटिभ देखिएका, आइसोलेसनमा रहेका, संक्रमित व्यक्तिको सम्र्पकमा रहेका र आइसोलेसनमा रहेको व्यक्तिको अन्तिम परीक्षणका लागि पीसीआर गरिने व्यवस्था छ । क्वारेन्टिनमा बसेकाहरुको पीसीआर परीक्षण गर्ने कुनै व्यवस्था छैन । जिल्ला प्रशासन कार्यालयका अनुसार जेठ महिना यता २ हजार भन्दा बढि मानिसहरु भारतबाट जिल्ला भित्रिएका छन् ।

भारतबाट घर आएका जो कोहीलाई पनि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाइएको छ । भारतबाट घर फर्कनेको संख्या बढ्दै गएपछि यहाँका क्वारेन्टिनहरु पनि भरिन थालेका छन् । क्वारेन्टिन व्यवस्थापन गर्न पालिकाहरुलाई हम्मेहम्मे परेको छ । स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीका अनुसार हाल जिल्लाका विभिन्न क्वारेन्टिनमा ३ हजार ४३३जना मानिसहरु छन् । स्वास्थ्य कार्यालयको प्रतिवेदन अनुसार हालसम्म जम्मा १ हजार ३०५ जनाको मात्र पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको छ ।

जसमध्ये १ हजार २३७ जनाको रिर्पोट नेगेटिभ आएको छ । ९ जनाको कोरोना पोजेटिभ देखिएको छ । भने ५९ जनाको पीसीआर रिर्पोट आउन बाँकी छ । जिल्लामा पीसीआर परीक्षण किट प्रयाप्त छैन । शनिबार जल्लामा ३ सय वटा मात्र पीसीआर किट आएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । भारतबाट आएर क्वारेन्टिनमा बसेका सबैको पीसीआर परीक्षण गर्नु पर्ने हो । तर परीक्षण गरिएको छैन । क्वारेन्टिनमा बसेकाहरुको ५ देखि ७ वा १० दिन भित्र पीसीआर परीक्षण गरि सक्नुपर्छ । तर यहाँ १४ दिनपछि आरडीटी परीक्षण मात्र गर्ने गरिएको छ ।

आरडीटी रिर्पोट पोजेटिभ देखिएकाहरुको मात्र पीसीआर परीक्षण गरिने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । पछिल्लो समयमा आरडीटी परीक्षण रिर्पोटलाई भरपर्दो मानिएको छैन । पीसीआर परीक्षण नहुँदा क्वारेन्टिनमा बसेकाहरु आक्रोशित छन् । पीसीआर परीक्षण नहँदा क्वारेन्टिनको अवधी पुरा गरेर घर फर्के पनि त्रास रहि रहने क्वारेन्टिनमा बसेकाहरु बताउँछन् । क्वारेन्टिनमा पीसीआर परीक्षण नहुँदा समुदायमा पनि त्रास फैलने स्थानियहरु बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १८ गते आइतबार