दुई सातामा २ हजार बर्दिया भित्रिए



सुदीप अधिकारी । बर्दिया ।

केहिदिन यता भारतबाट घर फर्कनेहरुको लर्को छ । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाका तथा नेपालगञ्ज जमुनाहा नाकाबाट दिनहँ सयौँ मानिसहरु जिल्ला भित्रिरहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जेठ महिना यता करिव २ हजार मानिसहरु भारतबाट जिल्ला भित्रिएका छन् । दैनिक सरदर २ देखि ३ सया जना मानिस भारतबाट घर आएका छन् । ‘ भारतबाट घर फर्कने क्रम दिनहुँ बढ्दो छ । जेठ महिना यता सरदर २ हजारको हाराहारीमा जिल्ला भित्रिएका छन,’ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने । यो क्रम दिनहुँ बढ्दो छ ।

सदरमुकाम गुलरिया, बढैयाताल, बासगढी, ठाकुरबाबालगाएत आठ वटै पालिकामा भारतबाट मानिसहरु घर आइरहेका छन् लकडाउनका कारण भारतमा रोजगारी गुमाएर अलपत्र परेकाहरु धमाधम घर फर्किरहेका छन् । भारतबाट घर आएका जो कोहीलाई पनि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाइएको छ । भारतबाट घर फर्कनेको संख्या बढ्दै गएपछि यहाँका क्वारेन्टाइनहरु पनि भरिन थालेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएपछि व्यवस्थापनमा समेत समस्या बढ्ने देखिएको छ । जिल्ला भित्रने सीमा नाकामा उनीहरुको पालिका पहिचान गरि सम्वन्धित पालिकामा पठाउने गरिएको छ ।

पालिकाले सबैलाई क्वारेन्टाइनमा राख्ने गरेका छन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लाको गुलरिया नगरपालिकामा १८ वटा, बासगढीमा ३ वटा, बारबर्दियामा ४६, ठाकुरबाबामा ४, मधुवनमा १०, राजापुरमा ९ गेरुवामा ७, बढैयातालमा ११, जिप्रकामा १, शसस्त्र प्रहरीमा १ र कारागारमा १ गरि जम्मा १ सय १ वटा क्वारेन्टाइन छन् । यि सबै क्वारेन्टाइनको जम्मा क्षमता ४ हजार ४३९ रहेको छ । हाल पालिकाका विभिन्न क्वारेन्टाइनमा २ हजार ३३६ जान मानिसहरु बसिरहेका छन् । क्वारेन्टाइनमा आउने क्रम दिनहुँ बढ्दो छ । हालकै गतिमा भारतबाट घर फर्कनेको क्रम जारी रहेमा केही दिनमै क्वारेन्टाइन भरिभराउ हुने निश्चित छ । प्रमुख जिल्ला अधिकारी प्रमेलाल लामिछाने भन्छन्, ‘अहिले सम्म त खासै समस्या देखिएको छैन ।

सबैलाई क्वारेन्टाइनमा राखिएको छ । यही गतिमा जिल्ला भित्रने क्रम जारी रहने हो भने क्वारेन्टाइन थप्छौ । ’भारतबाट घर फर्कने क्रम बढेसँगै विभिन्न पालिकाहरुले पनि क्वारेन्टाइनको संख्या बढाउने तयारी गरिरहेका छन् । ‘घर फर्कनेको क्रम दिनहँु बढ्दो छ । भएका क्वारेनटाइन भरिन लागिसके । थप तयारी गर्दै छौ,’ बारबर्दियाका नगरप्रमुख दुर्गाबहादुर थारुले भने । यसअघि नेपालकै विभिन्न जिल्लाबाट घर फर्केकाहरु भन्दा भारतबाट आउनेमा जोखिम बढी रहेको छ । त्यही जोखिमलाई मध्यनजर गरि क्वारेन्टाइनको व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको नगरप्रमुख थारुले बताए । भारतबाट आउने क्रम जसरी बढ्दै जान्छ त्यसरीनै क्वारेन्टाइन पनि थप्दै जाने तयारी गरिएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले बताए । भारतबाट नेपालीहरु घर फर्केसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १६ गते शुक्रबार