सामाजिक दुरी अपनाउँदै विकास निर्माण



सुदीप अधिकारी । बर्दिया ।

जिल्लाको ठाकुरबाबा नगरपालिकामा विकास निर्माणको काम धमाधम सुरु भएको छ । पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका विकास निर्माणका कार्य सुरु भएको हो । विकास निर्माण गर्दा मजदुरहरुले सामाजिक दुरी र व्यक्तिगत सुरक्षाका उपायहरु पनि अपनाएका छन् । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कामका बखत सामाजिक दुरी र व्यक्तिगत सुरक्षाका उपायहरु अपनाएको हो । काममा खटिने मजदुरले मास्क र गोलोब्सको प्रयोग गर्ने गरेका छन् ।

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ मा १ सय २१ जना स्थानियहरु प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत सडकको ट्याक खन्ने काममा लागेको वडा नं २ का वडा सचिव केशव खनालले जानकारी दिए । उनीहरु सबैले सामाजिक दुरी र व्यक्तिगत सुरक्षाका उपायहरु अपनाएको सचिव खनालले बताए । काममा खटिने सबैलाई वडा कार्यालयबाट मास्क र हातमा पञ्जा उपलब्ध गराइएको छ । काममा खटिएका मजदुरहरुको व्यक्तिगत सुरक्षालाई मध्यनजर गर्दै व्यक्तिगत सुरक्षाका सामाग्री उपलब्ध गराइएको वडा सदस्य विष्णु शाहीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत अति विपन्न परिवारलाई विकास निर्माणका काममा लगाएर नगरबासीलाई रकम प्रदान गरिने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाका नौं वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको नगरपालिकाले जनाएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ सतघरुवा गाउँबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नयाँ बाटो निर्माणको ट्रयाक खोल्ने र कुलो निकाल्ने कार्य सुरु भएको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरिराम थारुले बताए । गत वर्ष कामका लागि फारम भरेकाहरु मध्ये अति विपन्न घरपरिवारलाई छनौट गरि रोजगार प्रदान गरिएको छ । छनोट भएकाहरुलाई विकास निर्माणको काममा रोजगार प्रदान गर्ने र त्यसबापत दैनिक ५सय १७ रुपैँया ज्याला निर्धारण गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरमा यस वर्ष झण्डै ७ सय ५० जनालाई रोजगारी दिने योजना रहेको प्रशासकिय अधिकृत रामहरि रिजालले बताए । रोजगारीका लागि छनौट भएकाहरुलाई सडक, विद्यालय, कुलो, वडा कार्यालयको भवन निर्माण लगायतका काममा खटाइने छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगपालिकाले प्रत्येक वडाबाट ५० देखि १ सय ३५ जनालाई रोजगारका लागि छनोट गरिएको छ । नगरपालिकाका विभिन्न आयोजनामा काम गर्ने गरी प्रत्येक वडामा ५ लाख रुपैयाँसम्मको योजना छनोट भएको बताइएको छ । छनोट भएका कामदारले सरसफाइ, बाटो मर्मत, सिँचाइ कुलो निर्माण, पर्खाल निर्माणजस्ता काममा खटाइने छ ।

आयोजनाका लागि यस नगरपालिकामा संघिय सरकारले ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । कामदारले दैनिक ८ घण्टा काम गर्नुपर्ने जनाईएको छ । यस आर्थिक वर्षमा कम्तिमा १५ देखि २० दिनसम्म रोजगार प्रदान गर्ने जनाईएको छ । यस वर्ष नगरपालिकाको एउटा वडामा ३ सयदेखि ९ सय जनाले बेरोजगार फाराम भरेका छन् । संविधानको धारा ३३ मा उल्लेख भए बमोजिम सबै नागरिहरुलाई रोजगारीको हक भए बमोजिम नेपाल सरकारले बेरोजगार नागरिकहरुलाई लक्षित गरेर अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ठाकुरबाबा नगरपालिकालाई प्राप्त झण्डै ५४ लाख रुपैयाँलाई सबै वडाहरुमा वितरण गरि ९ वडाका विभिन्न कार्यक्रमहरु संचालन भईरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १० गते शनिबार