रावन विश्वकर्मा, बाँसगढी, बर्दिया,
कृषि विकास शाखा बाँसगढीले किसानलाई अनुदानमा धानको विउ वितरण गर्न सुरु गरेको छ । धानको बिउ राख्ने समय नजिकिदै गर्दा किसानलाई सहजता प्रदान गर्न ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको विउ गर्न थालिएको कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले बताए । सरकारले जारी गरेको लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम राखी मंगलबार देखि वडा नम्बर ७ बाट धानको बिउ वितरण गर्न सुरु गरेको उनले बताए ।
बाँसगढी नगरपालिकाको वडा नम्बर १ देखि ९ वडाका किसानहरुलाई अनुदानमा धानको विउ वितरण गरिने कृषि विकास शाखा बाँसगढीले जनाएको छ । मंगलबार बाँसगढी नगरपालिका वडा नम्बर ७ का सहकारी संस्था, कृषि समुह, किसानहरुलाई व्यक्तिगत रुपमा धानको विउ वितरण गरिएको छ । वडा नम्बर ७ को कार्यालय मार्फत राधा चार ४ सय २० किलो, सावित्री ४ सय ९० किलो र सावाँ धान ३ सय किलो गरी १ हजार २ सय १० किलो धानको विउ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको कृषि विकास शाखा प्रमुख खड्काले बताए । बाँसगढी नगरपालिका कृषि विकास शाखाको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार धानको बिउ वितरण गर्न थालिएको हो ।
\कृषि विकास शाखाले यस बर्ष १ सय २७ कुईन्टल विभिन्न जातको धानको बिउ वितरण गर्ने लक्ष्य लिएको छ । कृषि शाखाले बुधबार वडा नम्बर २ को कार्यालय मार्फत किसानहरुलाई धानको बिउ वितरण गर्ने कार्यक्रम गरेको कृषि प्राविधिक राजु चौधरीले बताए । त्यस्तै जेठ ८ गते विहिबार वडा नम्बर ३ र ४ का विकासलाई कृषि विकास शाखामा, जेठ ९ गते शुक्रबार ६ र ८ वडाका किसानलाई कृषि विकास शाखामा, जेठ १० गते वडा नम्बर ५ का किसानलाई कृषि विकास शाखामा, जेठ ११ गते ९ नम्बर वडाका किसानलाई वडा कार्यालयको भवनमा धानको विउ वितरण गर्ने कार्यक्रम रहेको कृषि शाखाले जनाएको छ । त्यस्तै जेठ १२ र १३ गते वडा नम्बर १ देखि ९ वडाका नाम टिपाउन छुटेका कृषिहरुलाई कृषि विकास शाखा कार्यालयमा र जेठ १५ गते वडा नम्बर १ का किसानहरुलाई वडा कार्यालयको भवनमा धानको विउ वितरण गर्ने कार्यक्रम रहेको छ ।









प्रतिक्रिया दिनुहोस्