कोहलपुर ।
मुलुक दुई महिनायता देश कोरोना कहरसँग लडिरहेको छ । चीनको बुहानबाट शहरबाट सुरु भएको कोरोना संक्रमण विश्वव्यापी समस्याका रुपमा देखा परेको हो । नेपाल समेत यसबाट अछुतो रहेन । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले जेष्ठ २० गते सम्म लकडाउन जारी रहने निर्णय गरिरहेको छ । विगत दुई महिना जारी लकडाउनको समस्यामा सबैभन्दा बढी मारमा मजदुर वर्ग परेका छन् ।
विपत्तिको समयमा विभिन्न व्यक्ति तथा संस्थाहरुको तर्फबाट राहत वितरण अभियान नै चलिरहेका छन् । कोरोना कहरका कारण यस्ता अभियान सामाजिक संजाल वा अन्य माध्यमबाट समेत यस्ता अभियान चलिरहेका हुन् । कतिपय यस्ता अभियानका कारण कोरोना कहरमा परेका व्यक्तिहरुको चुल्हो बलेको छ । यस्तै बाँकेको कोहलपुरमा समेत यस्तो एक अभियान सञ्चालनमा छ, त्यो अभियानबाट कोहलपुर नगरपालिका क्षेत्रका ३ सय १ जना विपन्न समुदायले राहत प्राप्त गरेका छन् । त्यो फेसबुक अभियानको नाम हो, ‘हुने खानेले हुँदा खानेलाई सहयोग गरौ’ यस अभियानको अगुवाईकर्ता हुन्, कोहलपुरका पूर्ण आचार्य ।
उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाँके सभापति समेत हुन् । यो अभियान उनले लकडाउन सुरु भएको केही समयपछि सुरु गरेका थिए । फेसबुक मार्फत चलाएको अभियान निकै प्रभावकारी बन्दै गएको उनी बताउँछन् । ‘अहिलेसम्म यो अभियान मार्फत कुल ३ सय १ जनालाई राहत वितरण गरिएको छ । यो अभियानमा अहिले २४ जना अभियान्ता तथा सहयोगीहरु जोडिएका छन् । अहिले पनि सहयोग प्राप्त हुने क्रम जारी छ’ आचार्यले भने । उनका अनुसार हालसम्म यस अभियानलाई कुल ६० क्विन्टल चामल, १ क्विन्टल दाल, एक सय लिटर तेल र ८७ किलो नुन प्राप्त भएको छ ।
जुन कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रका नागरिकहरुलाई निःशुल्क बाँडिएको छ । आचार्यले सहयोग जुटाई मात्रै रहेका छैनन् । व्यक्तिगत रुपमा समेत आर्थिक रुपमा विपन्न, भाडामा बस्ने र विशेषगरि समस्यामा परेका विद्यार्थीहरुलाई समेत सहयोग गरेका छन् । उनले अहिले सम्म १० क्विन्टल चामल, ५० के.जी दाल, ५० लिटर तेल र ५० के.जी नुन व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । उनले आफूले फेसबुक मार्फत चलाएको अभियानमा जोडिएर सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यावाद ज्ञापन दिए । अभियान लकडाउन अवधिभर जारी रहने विद्यार्थी नेता तथा अभियान्ता आचार्यले मिसन टुडे दैनिकलाई जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्