रावन विश्वकर्मा, बाँसगढी ।
सरकारले घोषणा गरेको लकडाउनका बेला खाद्यान्न ढुवानीको नाममा मेघाश्री नाम गरेको गुट्खा प्रहरीले बरामद गरेको छ । तीन वटा ट्रकमा कैलालीको लम्कीबाट ल्याउँदै गरेको अवस्थामा गुट्खा भुरीगाउँ र बाँसगढीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काका अनुसार भे १ क ५११ नम्बरको ट्रक देउती गुट्खा ईण्डस्ट्रिज लम्कीबाट चित्रालेखी सप्लायर्स बाँसगढीको नाममा आएको थियो ।
मंगलबार बिहान ३ बजे भुरीगाउँमा जाँच गर्दा ४१ हजार १ सय २५ पोका करिब २७ हजार ५ सय किलोको मेघाश्री फेला परेको हो । यसैगरी से १ क ८०० नम्बरको ट्रकमा १६ हजार ८७ किलो १ हजार २ सय ५० पोका भुरीगाउँबाट बरामद गरिएको थियो । उक्त ट्रक भुषाल ब्रदर्श एण्ड सप्लायर्स कोहलपुर, बाँकेको नाममा रहेको प्रहरीले जनाएको छ । सो ट्रक सोमबार राति १० बजे प्रहरीले बाँसगढीमा नियन्त्रणमा लिएको हो । लम्कीकै उक्त सप्लायर्सका नाममा श्री माँ बागेश्वरी ट्रेडर्स नेपालगञ्जका नाममा आएको भे १ क ६३१ नम्बरको ट्रक समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ट्रकमा ४ हजार ८ सय ७५ किलोको ३२ हजार ५ सय प्याकेट गुट्खा बरामद गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनका अनुसार लकडाउनमा अखाद्य वस्तु ओसारपसारसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । साताअघि ना ५ ख ७५७८ नम्बरको ट्रकमा १ सय ६० बोरा गुट्खा प्रहरीले पक्राउ गरेको थियो । लकडाउन सरु भएयता खाद्यान्न ढुवानीका नाममा सुर्तीजन्य पदार्थ र गुट्खाको अवैध कारोबार बढेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका ट्रक र मेघाश्री माथि छानविन अगाडि बढाइएको बर्दिया प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्