प्रवासीको उद्दार गर्ने वडा अध्यक्ष क्वारेन्टिनमा



नेपालगञ्ज ।

क्वारेन्टिनमा बसेका वडाध्यक्ष रामलखन थारु ।

बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारु क्वारेन्टिनमा बसेका छन् । केही दिनअघि उनी आफै नरैनापुर र जमुनाहा नाका पुगेर भारतबाट आएका नेपालीहरुको उद्दार गरेर ल्याएका थिए । वडाध्यक्ष थारु सोही दिनदेखि नै उनीसँगै क्वारेन्टिनमा बस्दै आएका हुन् । ‘भारतबाट आएका नागरीकको उद्दारमा प्रत्यक्ष रुपमा खटिएकोले उहाँहरुसँगै क्वारेन्टाइनम बसेको हुँ’ उनले भने, ‘यसले आफुलाई पनि सुरक्षित हुन मद्दत पु¥याएको छ भने क्वारेन्टिनमा रहेका नागरीकको समेत आत्मबल मिलेको छ ।’

आइतबार नरैनापुरको क्वारेन्टिनमा मृत्यु भएका युवासँगै आएका आफ्ना वडा नागरीकहरुलाई सीमाबाट उद्दार गरेर वडामा रहेको नेपाल राष्ट्रिय माविको क्वारेन्टिनमा राखेका थिए । वडा अध्यक्ष थारु समेत युवाहरुको सम्पर्कमा आएका कारण सोही क्वारेन्टिनमा बसेका हुन् । आफु स्वंय उद्दार गरेर ल्याएका नागरीकसँग क्वारेन्टिनमा बसेपछि उहाँहरु समेत खुसी हुनुभएको उनले बताए । उक्त क्वारेन्टिनमा वडा नम्बर ७ का ४४ जना नागरीकहरु बस्दै आएका छन् ।

क्वारेन्टिनमा बसेको ४ दिन भइसक्दा समेत पीसीआर जाँचको लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीहरु नआएको उनले बताए । ‘क्वारेन्टिनमा बसेको चार दिन पूरा भइसक्दा समेत कसैको स्वाब संकलन गरिएको छैन’ वडाअध्यक्ष थारुले मिसन टुडेसँग भने, ‘यहाँ बसेकाहरु मृतक युवासँगै आएकाले सबैजना त्रसित बनेको अवस्था छ ।’ उक्त क्वारेन्टिनमा वडाले खाने बस्ने र सुत्ने लगायतको राम्रो व्यवस्थापन गरेको छ । उक्त क्वारेन्टिनमा रहेकाहरु सबै भारतबाट आएकाहरु मात्रै रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ६ गते मंगलबार