कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दमाथि छानविन हुने भएको छ ।
कोहलपुरका व्यवसायी माइकल सापकोटालाई नीजि गाडीमा नेपाल प्रहरी लेख्न दिएको घटनाकाबारे उनीमाथि छानबिन तथा अनुसन्धान गर्न छानबिन समिति बनेको हो ।
शनिबार प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रबिन्द्र बहादुर धानुकको निर्देशनमा बाँके प्रहरीले छानविन समिति गठन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले नीजि गाडि प्रहरी लेखेको बारे छानबिन तथा अनुसन्धान गर्न एक टोलीलाई जिम्मा दिएको बताए ।
‘यो हाम्रो सामान्य प्रक्रिया हो’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘आफ्नो मातहतको प्रहरीको बिषय भएकाले के रहेछ भनेर बुझ्नको लागि टोलीलाई जिम्मा दिएको छु ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहको संयोजकत्वमा शनिबार पाँच सदस्यिय छानविन समिति गठन भएको हो । बाँके प्रहरी स्रोतका अनुसार उक्त घटनाकाबारे आईतबारदेखि नै गम्भीर रुपमा अनुसन्धान सुरु हुनेछ ।
अहिले अनुसन्धानका लागि कोहलपुरका डिएसपी चन्दसँग छानबिन समितिले कुरा बुझ्ने र आवश्यक परे उक्त घटनामा जोडिएका कोहलपुरका व्यवसायी सापकोटामाथि पनि छानबिन हुने प्रहरी बताउँछ ।
कोहलपुरमा लकडाउन प्रभावकारी बनाउन नसकेको आरोप लागिरहेका बेला डिएसपी चन्दमाथि आफु निकट व्यवसायीलाई नेपाल प्रहरी लेख्न लगाएर दुरुपयोग गर्न दिएकोबारे छानविन हुन गइरहेको हो ।
प्रदेश पाँचका डिआईजी धानुकले लकडाउनको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी चन्दले के कति करणले स्थानीय माइकल सापकोटाको गाडीमा नेपाल प्रहरी लेख्न दिइयो ? र दुवैजनाबीचको सम्बन्ध के हो ? राम्रोसँग अनुसन्धान गरि सवै रिपोर्ट तुरुन्त पठाउन मातहतलाई निर्देशन दिएका छन् ।
नीजि गाडिमा नेपाल प्रहरी लेख्ने सापकोटाले भने आफ्नो खल्तीको पैसाबाट ड्यूटीमा चोक–चोकमा खटीएका प्रहरीलाई चाउचाउ, फ्रुटी र पानी वितरण गर्नलाई गाडीमा नेपाल प्रहरी लेखेर चलाएको बताइसकेका छन् ।
‘मेरो खल्तीबाट अहिलेसम्म डेढ लाख जति खर्च भइसक्यो ड्यूटीमा बसेका प्रहरीलाई चाउचाउ, फ्रुटी, पानी, चिसो गाडीमा लगेर खुवाईरहेको छु ’ उनले सेतोखरीसँग भनेका छन्, ‘जिल्ला प्रशासनमा पास लिन गए, नदिएपछि नेपाल प्रहरी गाडीमा टाँसेको हुँ ।’
व्यवसायीको गाडिमा प्रहरीलाई नास्ता बाँड्ने नाममा नेपाल प्रहरी नै लेख्नु दुरुपयोग भएको एक पुर्व प्रहरी अधिकृतले बताए । ‘प्रहरीलाई खाजा नास्ता बाँड्नु राम्रो मान्न सकिदैन’ ती पुर्व अधिकृतले भने, ‘सधैभरी खाजा नास्ता बाँडे दुई चार दिनमात्र बाँडे त्यो कुराको पनि खोजी गर्नुपर्छ ।
कुनै प्रहरी अधिकारीसँग व्यक्तिगत सम्बन्ध भएको नाममा गाडिमा नेपाल प्रहरी लेख्नु नेपाल प्रहरीको दुरुपयोग गरेको हुनसक्छ । यसबारे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चन्दले लकडाउनको सुरुवाती चरणमा गाडिको अभाव भएकाले प्रहरी छोड्न र गाडी बाँड्नको लागि उनको सहयोग लिइएको बताए ।
‘हाम्रो प्रहरी छोड्न र अफिसबाट नास्ता पु¥याउनको लागि उक्त गाडि प्रयोग भएको सत्य हो’ उनले भने, ‘गाडिमा नेपाल प्रहरी लेखेपनि कतै दुरुपयोग भएको छैन ।’ गाडि धनि सापकोटा र डिएसपी चन्दको भनाई बाँझीएको छ ।
सापकोटाले आफ्नै रकमले खाजा नास्ता बाँडेको बताएका छन् भने प्रहरीले भने अफिसबाट ड्युटीमा खटिएका प्रहरीलाई खाजा नास्ता पु¥याउन मात्र गाडि सहयोग मागिएको बताएको छ । स्थानीयबासी समेत सबैजनामाथि अनुसन्धान गरेर कारबाही गर्नुपर्ने बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्