सुदीप अधिकारी । बर्दिया ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको ठेगाना र संख्यासहित शनिवार विहान बर्दियाको नार्खु–११ की १ जना महिला भनेर विज्ञप्ती
निकाल्यो । तर बर्दियामा नार्खु भन्ने कुनै पालिका नै छैन । पालिका मात्र होइन जिल्ला भरमा नार्खु भन्ने कुनै टोल नै छैन ।
स्वास्थ्य मन्त्रालयले बर्दियाको नार्खु ११ मा एक महिलामा कोरोना पोजेटिभ देखिएको भनि प्रेस विज्ञप्ती जारी गरेपछि बर्दियामा नार्खु भन्ने ठाउँ नभए पनि गुलरिया नगरपालिकाको वडा नं ११ लालपुर गाउँ हो की भनेर आशंका गरिएको छ ।
आशंकामै लालपुर गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताएका छन् । ‘नार्खु भन्ने ठेगाना अझैँ पत्ता लागेन, नार्खु चाईँ होईन, स्थानियसँग सोधपुछ गर्दा गुलरियाको लालपुर हो की भन्ने आशंका गरिएको छ, अझैँ एकिन भएको छैन, तरपनि आशंकामा अहिले लालपुर गाउँ सिल गरि स्वास्थ्य मन्त्रालयमा थप बुझिरहेका छौँ’ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने ।
काठमाडौं बस्दै आएका बर्दियाको गुलरिया नगरपालिका ११ लालपुर गाउँमा घर भएका पेशाले मासु ब्यवसायी रहेका उनी काठमाण्डौमा छन् । लकडाउन हुनु अघि ट्रक चढेर काठमाडौंबाट बर्दिया आएका र बैशाख मसान्ततिर काठमाडौं फर्केका उनको काठमाडौंमा चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी प्राप्त भएको जनाईएको छ ।
अझैँ पुष्टि भएको छैन, टेलिफोनबाट सोधपुछका क्रममा हुनसक्ने देखिन्छ, पुष्टि भएमा जोखिम बढ्न सक्ने भन्दै हाल गुलरिया नगरपालिका ११ को लालपुर गाउँलाई सिल गरिएको छ र लालपुर गाउँमा कोरोना परिक्षण गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
मन्त्रालयले भने अनुसार बर्दियामा नार्खु नाम गरेको कुनै गाउँ नै नरहेको र संक्रमित व्यक्ति पनि महिला नभएर बर्दिया गुलरिया ११ लालपुर गाउँका पुरुष भएको हुनसक्ने स्थानियसंगको सोधपुछपछि आशंका गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।
स्वास्थ्य मन्त्रालयले शनिबार विहान बर्दियाको नार्खु ११ का एक महिलामा कोरोना पोजेटिभ देखिएको प्रेस विज्ञप्ती जारी गरेपछि बर्दियामा नार्खु भन्ने ठाउँ पत्ता नलागेपछि स्थानियमा त्रास फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा बर्दिया नार्खु ११ का संक्रमित भन्ने अपुष्ट ठेगानाले जिल्लाभर त्रास फैलिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लामीछानेले बताए ।
ठेगाना अपुष्ठ भएपनि मन्त्रालयले निकालेको विज्ञप्ती अनुसार कोरोना संक्रमित बर्दियाकै रहेको वा नरहेको पुष्टि भने अझैँ भएको छैन ।









प्रतिक्रिया दिनुहोस्