पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् । प्रदेश नम्बर ५ मा १०२ जना कोरोना संक्रमित पुगिसकेको अवस्था रहेको छ । बाँकेमा मात्र कोरोना संक्रमित ३३ जना पुगेका छन् । जिल्लाका सबै स्थानीय तह कोरोना विरुद्ध सक्रिय छन् । रेड जोनमा रहेको बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ४ गरिरहेका गतिविधिका विषयमा शुभाकर विश्वकर्माले अध्यक्ष तिरथराम थारुसँग कुराकानी गरेका छन् ।
१. वडा नम्बर ४ मा कोरोनाबाट सुरक्षित रहन के के गरिरहनु भएको छ ?
अहिलेको दैनिकी विशेष छ । एकातिर कोरोना भाइरसको संक्रमण अर्कातिर जनताको सेवामा निरन्तर खटिरहेका छौ । अहिलेसम्म पनि कोरोनाको सन्त्रास कायमै छ । हामी भने जनताको सुरक्षाको लागि खटिरहेका छौ । सुरक्षा रहन अपिल गर्नेदेखि बिरामी जनताहरुको औषधि खरिद गर्नको लागि सहयोगसम्म मैले आफै खटिएर गरिरहेको छु । लकडाउनको पालना गर्ने र गराउने काम त छँदैछ । यस बाहेक हामीले जनचेतना फैलाउने काम गरिरहेका छौ । राहत वितरण, नामावली संकलन, समस्यामा परेकाहरुको उद्धार तथा व्यवस्थापन गर्ने कार्य भइरहेको छ । वडा नम्बर ४ लाई कोरोना भाइरस मुक्त बनाउनको हाम्रो अभियान जारी छ । विभिन्न निकायबाट सहयोग समेत प्राप्त भइरहेको छ । आउने क्रम अहिले पनि जारी छ ।
२. अहिले सम्म वडामा कति जना वडाबासीले राहत पाए ? क–कसले सहयोग गरेका छन् ?
चैत्रको मध्यतिरबाट लकडाउन भयो । सबै काम बन्द भए । मानिसहरुले काम गर्न पाएनन् । नगरपालिकाले राहत दिने जानकारी वडाहरुलाई गरायो । सोही अनुसार हामीले १ सय ८५ जनाको नामवाली पठाऔँ । सोही अनुसार रकम निकासा भयो । २ लाख ३ हजार ५ सय रुपैयाँ प्राप्त गरेका थियौ । नेपाली काँग्रेस नगर समितिले वडा नम्बर चारलाई ५ क्विन्टल चामल उपलब्ध गराएको थियो । प्रति व्यक्तिलाई १५ किलोको दरले राहतको रुपमा उपलब्ध गराऔँ । ३३ जनाले पाए । एक सामाजिक संस्थाले हाम्रो वडाका विपन्नहरुलाई नगद् सहयोग गरेको थियो । प्रतिव्यक्ति २७ सय २० रुपैयाँ उपलब्ध गराउनु भएको थियो । इन्डुरेकले समेत अशक्त र अपांगता भएका चार जनालाई राहत दियो । व्यक्तिगत रुपमा समेत मोहम्मद सफिले पनि एक क्विन्टल राहत दिनु भयो । म आफैले पनि दुई क्विन्टल चामल उपलब्ध गराएको थिए । एक जना अर्का व्यक्तिले पनि चामल सहयोग गरेका थिए । अहिले सम्म वडापालिकाका विपन्न नागरिकहरुले अवस्था हेरेर तेस्रो पटक सम्म पनि राहत पाएको अवस्था छ । कोही आउँदैछन् । वडाले राहत उपलब्ध गराइरहेको अवस्था छ । कति विपन्नलाई हामीले विशेष प्राथमिकता दिएका छौ । दोस्रो चरणको तयारीमा छौ ।
३. वडा मार्फत दोस्रो चरणको राहतको लागि छनोट कार्य भइरहेको छ ?
हो अहिले हामीले छुट भएका, समस्यामा परेका, कुनै पनि किसिमको रोजगारी नभएका तथा विपन्नहरुलाई पहिचान गर्नको लागि टोल टोलमा गएर नाम संकलन गर्ने काम भइरहेको छ । सबैको नाम वडाबाट संकलन हुन्छ । नगरपालिकामा पठाउँछौँ । अनि नगरपालिकाले हामीलाई उपलब्ध गराउँछ । त्यही अनुसार राहत वितरण हुन्छ । लकडाउन बढ्ने सम्भावना रहेकोले पनि काम गरि खाने वर्ग अझैँ समस्यामा पर्ने देखिन्छ । त्यसैले हामी खटिएका छौ ।
४. तपाईको वडामा भारत लगायतका मुलुकबाट आएका व्यक्ति छन् कि छैनन् ?
हाम्रो वडामा अहिले लकडाउनपछि कोही पनि भारतबाट आएका छैनन् । तर के छ भने, ४ नम्बर वडामा मुस्लिम समुदाय छ । र अन्य विपन्न समुदाय पनि । उनीहरु विभिन्न काम सीमावर्ती क्षेत्रबाट गर्छन् । दैनिक उपभोग्य वस्तु देखि औषधोउपचारसम्म । त्यसैले लकडाउन हुनु भन्दा पहिला १ महिनाको लागि जमुनाह नजिकै रहेका सीमावर्ती क्षेत्रका मेडिकलबाट औषधि ल्याउने गरेका थिए । लकडाउनका कारण जान पाएनन् । उनीहरुलाई समस्या भयो । वडामा गुनासो समेत गरे । मैले के गरे भने आफै गएर औषधि खरिद गरेर ल्याइदिए । उनीहरुको प्रतिनिधि भएका कारण पनि म आफै गएर उनीहरुको समस्या टारेको छु । उनीहरु जान सम्भव भएन । उता पनि सीमा खटिएका भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा पूर्ण सुरक्षाका साथ सहयोग गर्ने काम भइरहेको छ ।
५. वडामा नम्बर ४ मा कोरोनाको आंशका गरिएको थियो । खास यर्थात के हो बताइदिनुहोस् न ?
हो, हाम्रो वडामा कोरोना आंशका गरिएको थियो । सोही अनुसारका जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखाको टोली समेत आएर अनुगमन गरेको थियो । खास कुरा के रैछ भने नगर प्रमुख ज्युले समेत मलाई फोन गर्नु भएको थियो । मैले खासै जोखिम नरहेको बताए । कसैले उहाँलाई भारतमा मुस्लिम समुदायका मानिस आएका छन् भनेर झुठो कुरा बताएको रहेछ । हाम्रोमा मुस्लिम समुदाय अलि बढी छन् । पछि टोली आएर वडा नम्बर ९ र वडा नम्बर ४ मा ३० जनाको स्वाब संकलन गरेको थियो । ती मध्ये म समेत थिए । मेरो पनि स्वाब संकलन गरिएको थियो । अहिले रिपोर्ट समेत आइसकेको छ । खुसीको कुरा सबैको रिपोर्ट नेगेटिभ आएको छ । म सम्पूर्णमा अनावश्यक हल्ला नफैलाइदिन अनुरोध गर्न चाहन्छु ।
६. तपाईको वडामा मस्जिद् र चर्च समेत रहेको सुन्नमा आएको छ, वडाले कसरी व्यवस्थापन गरिरहेको छ ?
तपाईले सहि भन्नु भयो, हाम्रो वडामा चर्च र मस्जिद छन् । यसमा के छ भने चर्चमा शनिबार बाहेक अरु बेला खासै भीड हुँदैन । लकडाउनको समयदेखि त्यो कार्य भएको छैन । अर्कातिर जहाँसम्म मस्जिदको कुरा छ । लकडाउन भएदेखि त्यस्तो केही भएको छ । म आफै मुस्लिम समुदायमा पुगेर यो अवस्था राम्रो छैन । सरकारले समेत धेरै संख्यामा भीडभाड नगर्न आग्रह गरेको छ । तपाईहरु पनि मस्जिद नगइदिनुहोला भनेर मैले अपिल गरेको थिए । यो बैशाख महिना उनीहरुको रमजानको समेत समय हो । त्यसैले बरु घर मै बसेर धर्म कर्म गर्नुहोस्, बाहिर ननिस्कनुहोस, भीड नगरिदिनुहोस भनेर अहिले पनि भनिरहेका छौ । उहाँहरु अहिले मस्जिद् जानु भएको पनि छैन । नमाज पनि घरमै पढ्न अनुरोध गरिएको छ । भारतबाट कोही पनि आएको छैन । उहाँहरुपनि जानु भएको छैन । नगरपालिकामा कसैले गलत सूचना प्रवाह गरेको रहेछ । भारतबाट मौलानाहरु भएको भनिएको रैछ । कोही पनि मौलाना आएको छ । यहाँ एक जना मौलाना आउँनु भएको छ । उहाँ विगत तीन वर्षदेखि यही हुनुहुन्छ । कही पनि जानु भएको पनि छैन । हामी सुरक्षित छौ ।
७. लकडाउन बढ्ने पनि देखिन्छ, काम गरि खाने वर्ग समस्या छ । यस विषयमा वडाले केही योजना बनाएको छ ?
धेरै समस्या भएकोलाई हामीले राहत उपलब्ध गराइरहेका छौ । नगरपालिका र व्यक्तिले दिएको राहत समेत वितरण भइरहेको छ । विपन्नहरुले तीन पटक सम्म पनि राहत पाएको अवस्था छ । तर समस्या के देखिएको छ भने हामी दाल चामल दिन्छौ । उनीहरुलाई नून तेलको समस्या छ । यस विषयमा वडाले पीडितहरुका समस्या बुझेर राहत प्रदान गर्ने सोच बनाएको छ ।उनीहरुको समस्या अनुसार नगरपालिकाले पनि सोचेको छैन । हामी पनि सोचेका छैनौ । खास उनीहरुको माग भनेको छ भने । अहिले खेतीको सिजन आयो लकडाउन पनि छ । अझै लम्बिने सम्भावना देखिन्छ । यस्तो अवस्थामा किसानहरुको आम्दानीको स्रोत समेत केही छैन । बाली लगाउन समस्या आउने देखिन्छ । खेती किसानी गर्न नपाउने अवस्था सिर्जना भएको छ । नपाएपछि विउको समस्या भएको छ । उनीहरुले विउ विजन राहतको रुपमा पाएको भए राम्रो हुने थियो भन्ने उनीहरुको माग छ । कम्तिमा लकडाउन मै भएपछि अहिले खेती गर्न पाए भने राम्रो हुन्छ । अर्कातिर उनीहरुले कर छुटको समेत माग गरेका छन् । यसमा चाही हामीले के भनेका छौ । तपाईहरु निवेदन लिएर आउनुहोस हामी वडाबाट कर छुटको लागि नगरपालिकालाई सिफारिस गछौँ भनेको छु । यो कुरा म कार्यपालिकाको बैठक समेत उठाउने सोचमा छु ।










प्रतिक्रिया दिनुहोस्