बाँकेमा आठ स्थानीय तह छन् । कोहलपुर यहाँको एकमात्र नगरपालिका हो । यहाँ १५ वटा वडा छन् । बाँकेको दोस्रो ठूलो सहरको रुपमा रहेको कोहलपुर तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट समेत हो । अहिले विश्वभरी कोरोना महामारी फैलिएको छ । नेपालमा समेत संक्रमित बढिरहेका छन् । प्रदेश पाँचमा सबै भन्दा बढी संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जमा समेत कोरोना संक्रमितको संख्या २५ रहेको छ । सिंगो प्रदेश नै रेड जोनमा बाँकेमा समेत उच्च सर्तकता अपनाइएको अवस्था छ । यस्तो विषम परिस्थितिमा यहाँका स्थानीय तहले गरिरहेका काम कारबाहीका विषयमा हामीले कोहलपुर नगरपालिका वडा नम्बर १४ का अध्यक्ष टेकचन हरिजनसँग कुराकानी गरेका छौ ।
१. अध्यक्ष ज्यु तपाईको दैनिकी कसरी बितिरहेको छ ?
- पक्कै पनि कोरोना भाइरसको सन्त्रास विश्वभरि छ । हाम्रो देश समेत यसबाट अछुतो रहेन । हाम्रो जिल्लामा समेत कोरोना भाइरसको संक्रमण देखा परेको अवस्था छ । यसै पनि यो महामारीको अवस्था भएकोले विगतको भन्दा केही व्यस्त दैनिकी छ । भने कोहलपुर नरगपालिकाले समेत सुरक्षा अपनाइरहेको अवस्था छ । हाम्रो वडाको हकमा कुरा गर्नु पर्दा हामीले निकै सचेतना अपनाएका छौ । म आफै पनि निरन्तर खटिरहेको छु । जनप्रतिनिधि साथीहरुले सहयोग गरिरहनु भएको छ । वडाका अगुवा, युवाहरुले समेत सघाइराखेका छन् । वडामा कोरोना भाइरस संक्रमण नभित्रिओस भन्ने सचेत भएर सामना गरिरहेको अवस्था छ ।
२. जनताको सुरक्षाको लागि वडाले के गरिरहेको छ ?
सरकारले लकडाउन आह्वान गरेको लामो समय भइसक्यो । हामी पनि अहिले लकडाउनको अवस्था मै छौ ।जनतालाई सचेत गराउनको लागि हामीले प्रचार प्रसारलाई प्राथमिकतामा राखेका छौ । प्रत्येक दिन जस्तो टोल टोलमा पुग्छौ । सामाजिक दुरी कायम गर्न, साबुन पानीने हात धुन, सेनिटाइजर प्रयोग गर्न आग्रह गरिरहेका छौ । भने लकडाउनको पालना गर्नको लागि हामीले निर्देशन समेत दिइएको छ । अर्कातिर वडा कार्यालयले उद्धार तथा राहत वितरण र सहयोगको कार्य गरिरहेको छ । अहिले पनि राहत वितरण कार्यक्रम चलिरहेको छ । लकडाउनमा जनता भोको नहुन भन्ने हाम्रो उद्देश्य हो । सोही अनुसार हामी लागि समेत रहेका छौ । लकडाउनको समस्यामा परेका नागरिकहरुका राहतको लागि विभिन्न निकाय सँग समन्वय समेत भइरहेको छ । समग्रमा कोरोना परास्त गर्नकको लागि एकजुट भएर लागिपरेका छौ । चूनौतीको सामना गरिरहेको छौ ।
३. नेपालगञ्जमा कोरोना भेटिसकेको छ, तपाईको वडामा कत्तिको सचेतना अपनाउनुभएको छ ?
- नेपालगञ्ज हाम्रो नजिकैको स्थानीय तह समेत हो । बीचमा जानकी गाउँपालिका छ । त्यसपछि वडा नम्बर १४ छ । दुरीका हिसाब त्यति धेरै टाढा छैनौ । कोहलपुरका अन्य वडा भन्दा पक्कै पनि जोखिममा छौ । र पनि हामीले वडाको तर्फबाट गर्नुपर्ने तयारी, पूर्वतयारी, सावधानी र सुरक्षा अपनाइरहेको अवस्था छ । जनतालाई बारम्बार आग्रह गरिरहेको अवस्था
छ । कि लकडाउनको पालना गर्नुहोस् । अत्यावश्यक काम बिना बाहिर ननिस्किदिनुहोस् । वडाबाट बाहिरिने र भित्रिने अवस्थामा समेत निकै कडाई भइरहेको छ । हाम्रो वडामा केही ठूला उद्योग समेत छन् । त्यहाँको प्रशासनलाई समेत सामाजिक दुरी कायम गर्नको लागि र अनिवार्य मास्क लगाउने र स्वास्थ्य सुरक्षाको लागि आह्वान गरेको अवस्था छ । कोरोना भाइरसको जोखिमको विषयमा हामी पूर्ण रुपमा सचेत छौ । भने हाम्रो जनताको स्वास्थ्यको समेत ख्याल गरि निरन्तर खटिएका छौ । पूर्ण सुरक्षाका साथ राहत वितरण गरिरहेका छौ । प्रचार प्रसार समेत गरिरहेका छौ ।
४. कोरोना जोखिमको विषयमा सचेत छौ भन्नुभयो, जनताहरुले यसलाई कसरी लिएका छन् ?
- राम्रो प्रश्न गर्नु भयो । नेपालगञ्जमा ठूलो संख्यामा कोरोना भाइरस संक्रमण भेटिएपछि मानिसहरुमा एक किसिमको सचेतना आएको पाएको छु । लकडाउनको लामो समय भइसक्यो । सुरुवातका केही साता भने मानिसहरुले राम्रो सँग पत्याएका समेत थिएनन् । पछि विस्तारै बानी समेत पर्दै भयो । अनि नेपालगञ्जमा देखिएपछि भने उनीहरुमा पनि आफै सचेतना आएको मैले पाएको छु । हामी स्वयम सुरक्षित हुनुपर्छ भन्ने धारणा बसेको छ । त्यसैले गाउँबासी मिलेर समूह, क्लबको माध्यमबाट समेत सक्रियता देखिएको अवस्था छ । जुन निकै सकारात्मक छ । आवातजावत समेत पातलिएको छ ।
५. अहिले सम्म कतिले पाएर वडाबाट राहत ?
- मैले तपाईलाई पहिले पनि भने राहत वितरण निरन्तर भइरहेको छ । म भर्खरै उतैबाट वडामा आएका छु । हाम्रो वडामा राहत वितरणको हकमा चाँहि पहिला वडा नम्बर १४ मा रहेको केएल दुगड गरेको सहयोगबाट सुरु भएको थियो । दुगडले हाम्रो वडाका डेढ सय घरधुरीको लागि खाद्यान्न उपलब्ध गराएको थियो । वितरण भयो । त्यसपछि नगरपालिकाबाट वडाका तीन सय ८८ घरधुरीको लागि आएको थियो । त्यो पनि वितरण भयो । यस्तै नेपाली काँग्रेस पार्टीले समेत पाँच क्विन्टल चामल वितरण गरेको थियो ।
त्यो पनि छुटेका नागरिक विपन्न समुदाय, विद्यार्थी, भाडावालाहरुलाई आवश्यकता अनुसार वितरण भइराखेको छ । अन्य धेरै व्यक्ति तथा उद्योगहरुले समेत सहयोग गरेका छन् । अर्कातिर हामीले वडाबासीलाई के भनेका छौ भने । को कसलाई समस्या गरेको छ भन्नुहोस् । हामी जसरी पनि राहत उपलब्ध गराउँछौ भनेका छौ । वडामा समस्या परेका मानिसहरु आइरहेका पनि छन् । लकडाउन अझै बढ्ने सम्भावना रहेको छ । त्यसैले कुनै सहयोगी निकायबाट मागेर भएपनि हामीले पहल गरिरहेका छौ । राहत वितरण निरन्तर भइरहेको छ ।
६. वडाबासीको सहयोगको लागि निरन्तर राहत वितरण भइरहेको छ त्यसो भए ?
- हजुर, आज पनि भयो राहत वितरण । केएल दुगर्ड र अन्य उद्योगले समेत आफ्ना कामदार बाहेक स्थानीयलाई समेत अल्पकालिन सेवा दिइरहेका छन् । आज पनि एउटा उद्योगले वडामा रहेका कामदारहरुलाई राहत वितरण सुरु गरेको थियो । करिब ५० जना जतिलाई । १० किलो चामल, १ किलो नून, तेल र दाल वितरण गरियो । हाम्रो मान्यता के हो भने कोही पनि नछुटुन, वास्तविक गरिव वर्गले राहत पाऔस भने । हामीले पटक पटक आह्वान समेत गरिरहेका छौ । समस्या भए सिधै वडामा आउनुहोस भनेर । सकेपति सहयोग गर्ने हो । लकडाउनको पालना जनताले गर्ने, जनतालाई वडा र सहयोगीबाट प्राप्त सहयोग वितरण गर्ने काम भइरेहको छ ।
७. अन्त्यमा,नेपालमा कोरोना संक्रमित बढ्दै गएको अवस्थामा स्थानीय स्तरमा कस्तो प्रकारको सुरक्षा अपनाउन सकिन्छ होला ?
- हो त्यस्तै देखिएको छ । सरकारले परिक्षणको दायरा केही बढाएको अवस्था छ । त्यसैले पनि बढी देखिनु स्वाभाविक हो । यस मानेमा हामीलाई भाग्यमानी नै मान्नु पर्छ की अहिले सम्म कसैको मृत्यु भइसकेको छैन । त्यसैले हामीले के बुझनुपर्छ भने जोखिम बढिरहेको छ । आगामी दिनमा झन् सुरक्षा अपनाउनुपर्छ । सुरक्षा अपनाउनु भनेको लकडाउनको पूर्ण पालना गर्नु र सुरक्षित रहनु हो । बाँकेमा चाही सिमा बन्द यथावत राख्नुपर्छ । आवागमन पनि रोक्नुपर्छ । सबै भन्दा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले वडा कार्यालयहरुले समेत सावधानी अपनाउनु नै पर्छ । भने जनतालाई सचेत गराइरहनु पर्छ । लकडाउन बड्न पनि सक्छ त्यो सरकारले निर्णय गर्ला । त्यही भएर हामी आफू चाँहि सुरक्षित हुन जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्