एयरलिफ्ट गरेर स्वाब काठमाडौ पठाइयो



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा शनिवार संकलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । नेपालगञ्जमा संकलित ४ सय ५ जनाको थ्रोट स्वाब कोरोना परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपाली सेनाको स्काई ट्रक मार्फत एयर लिफ्ट गरेर स्वाब काठमाडौं स्थित प्रयोगशालामा पठाइएको हो । स्थानीय टांगा स्टेशन क्षेत्रबाट शनिवार संकलन गरिएको १ सय ६२ जनाको र बर्दियाका २ सय ४३ जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको उनले बताए ।

‘भेरी अस्पतालमा रहेको प्रयोगशालामा एक दिनमा एक सय वटा मात्र स्याम्पल परीक्षण गर्न सकिन्छ’ कोरोना फोकल पर्सन श्रेष्ठले भने, ‘बढी संकलन भएका स्वाबलाई काठमाडौं पठाइएको हो ।’ काठमाण्डौ पठाईएका स्वाबको कोरोना रिपोर्ट २४ घण्टाभित्रै आउने भएकाले परीक्षण सहजताका ४ सय ५ वटा स्याम्पल काठमाण्डौ पठाईएको उनले दाबी गरे । टांगा स्टेशनको क्षेत्रबाट संकलन गरिएको स्वाब काठमाडौ पठाइएपनि शनिबार नगर भवन आसपासको क्षेत्र र वडा नम्बर ११ को नाका टोलबाट संकलन गरिएका स्वाबको नमुना भने भेरी अस्पतालमा रहेको प्रयोगशालामा नै परीक्षण हुनेछ ।

५६ को रिपोर्ट नेगेटिभ

बाँकेमा कोरोना भाइरस संक्रमण रोक्नका लागि परीक्षणको दायरा बढाइएको छ । आवश्यक पीसीआर किट आएपछि शनिबारदेखि नेपालगञ्जमा स्वाब संकलन गर्ने कोरोना परीक्षण गर्ने कार्यलाई तिव्रता दिइएको हो । नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको प्रयोगशालामा जिल्लाका विभिन्न क्षेत्रमा संकलन गरिएको ५६ स्वाब परीक्षण गर्दा शनिबार सबैको रिपोर्ट नेगेटिभ आएको थियो । वैशाख २५ गते खजुरा गाउँपालिकाका उढरापुर, सोनपुर, रानीयापुरलगायत स्थानका १७, खजुराका १, नेपालगन्जको बीपीचोकमा ३० र मेडिकल कलेज नेपालगन्जको ८ गरी ५६ जनाको स्वाब संकलन गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको जाँच रिपोर्टमा नेगेटीभ आएको बताए । यसअघि बुधबार १ सय ८३ जनाको ट्रेसिङ गरिएकोमा १ सय ३६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट पनि नेगेटिभ आएको थियो । गत १९ गते एक जनामा कोरोना पुष्टि भएसँगै नेपालगञ्जमा संक्रमितको संख्या २४ पुगेको छ । उनीहरु मध्ये २३ जना नेपालगञ्ज उपमहानगरपालिका ८ का बासिन्दा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २८ गते आइतबार