कोहलपुर ।
बर्दियाको बाँसगढीमा शनिबार बिहान दुई जना मृत अवस्थामा फेला परेका छन् । बाँसगढी नगरपालिका वडा नम्बर ३ शान्तिपुरको एक घरमा दुई जना मृत अवस्थामा फेला परेका हुन् । शनिबार बिहानै कोही नउठेपछि छिमेकी हेर्न जाँदा एउटै कोठामा दुई जना मृत अवस्थामा देखिएका थिए । लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।
प्रहरी घटनास्थल पुग्दा एउटै कोठामा दुई जना मृत अवस्थामा फेला परेको उनले बताए । प्रहरी निरीक्षक सुनार अनुसार मृत फेला पर्नेमा घरधनि ३० वर्षिय पार्वती खड्का र बाँके बैजनाथ गाउँपालिका ६ सम्झना चोक घर भएका ३१ वर्षिय ललित थापा हुन् । ‘हामी घरमा पुग्दा खड्का झुण्डीएको अवस्थामा मृत फेला परेकी थिइन’ उनले मिसन टुडेसँग भने, ‘उनको छेवैमा रहेको खाटमा थापा पनि मृत भेटिए ।’ उनीहरुको रहस्यमय तरिकाले मृत्यु भएको स्थानीयहरुले बताएका छन् । खड्काका माइती पक्ष दाङबाट आउँदासम्म प्रहरीले दिउँसो २ बजेसम्म घटनास्थललाई सुरक्षा दिएर राखेको थियो ।
माइती पक्ष आएपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवंहरुलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल बर्दिया पठाएको थियो । मृतक दुवै जना बाँसगढीमा रहेको सिजी फुड्स इन्टरप्राइजेज प्रालिमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । खड्काको झुण्डीएर मृत्यु भएको हुनसक्ने बताइए पनि थापाको भने मृत्यु के कारणले भएको हो भन्नेबारे केही खुल्न सकेको छैन । खाट लगाइएको झुलभित्र सामान्य अवस्थामा नै उनी मृत अवस्थामा भेटिएका थिए । ‘घटना केही रहस्यमय देखिन्छ’ घटनास्थललाई हेरेका एक स्थानीयले भने, ‘महिला झुण्डीएको अवस्थामा देखिएपनि पुरुष भने सुतेकै अवस्थामा मृत भेटिएका थिए । त्यसैले घटना कसैले गराएको पनि हुनसक्छ ।’ उनीहरु मृत अवस्थामा भेटिएको कोठाको ढोकामा समेत भित्रबाट चुक्कुल लगाइएको थिएन ।
थापा हात छातिमाथि राखेको अवस्थामा अण्डरवेयर मात्र लगाएको अवस्थामा मृत भेटिएका थिए । उनले लगाएका अन्य कपडा सिरानीमुनी र खाटमुनी फेला परेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । थापा शुक्रबार राती साढे आठ बजेको समयमा घर जान्छु भन्दै आफु कार्यरत सिजी फुड्स इन्टरप्राइजेजबाट साथीको साइकल मागेर हिडेका थिए । उनी घर पुग्नुको साटो सहकर्मी महिलाको कोठामा उनीसँगै शनिबार बिहानै मृत अवस्थामा फेला परेका हुन् । मृतक थापाका श्रीमती एक छोरा र एक छोरी रहेका छन् । उनले प्रयोग गरेको साइकल भने घटनास्थल नजिकै सडकमुनी फेला परेको थियो । मृतक खड्का केही समयअघि श्रीमान्ले दोस्रो श्रीमती ल्याएपछि छोरीसहित एक्लै सो घरमा बस्दै आएकी थिइन् । लकडाउनपछि उनले छोरीलाई समेत माइतीघर दाङ पठाएकी थिइन् ।
उनको श्रीमान्सँग डिभोर्स गर्ने प्रक्रियामा रहेको स्थानीयहरुले बताएका छन् । मृतक थापाका आफन्तहरुले शरिरमा कुनै चोटपटक नदेखिनु र कोठामा समेत कुनै हानिकारक औषधी प्रयोग गरेका प्रमाणहरु फेला नपरेकाले कसैले हत्या गरेर फालेको हुनसक्ने आशंका गरेका छन् । ‘छोराको शवं हेर्दा आफै नमरेर कसैले हत्या गरेको जस्तो देखिएको छ’ मृतकका बुबाले भने, ‘प्रहरीले सत्यतथ्य छानविन गरेर हामीलाई न्याय दिलाउनुपर्छ ।’
प्रहरीले अवैध सम्बन्धका कारण हत्या वा आत्महत्या भएको हुनसक्ने आशंकामा सोही अनुसार अनुसन्धान अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक सुनारले घटनाबारे सुक्ष्म रुपमा थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । ‘हामीले सुक्ष्म रुपमा घटनाबारे अनुसन्धान थालिसकेका छौं’ उनले भने, ‘मृतकहरुको पोस्टमार्टम रिपोर्ट आएपछि केही खुल्ला ।’
प्रतिक्रिया दिनुहोस्