12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

होम क्वारेन्टाइनमा नबसे घरका सबैलाई क्वारेन्टाइनमा लगिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २५, २०७७  

सुदीप अधिकारी । बर्दिया ।

लकडाउनका बेला बाहिरी जिल्लाबाट घर फर्केकाहरुलाई यहाँका पालिकाहरुले अनिवार्य सेल्फ होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाएका छन् । तर बाहिरी जिल्लाबाट घर आएका केही व्यक्ति भने खुलेआम गाउँ डुलिरहेको पाइएको छ । अब होम क्वारेन्टाइनमा नबसी खुलेआम बाहिर घुम्ने गरेको पाइएमा त्यस्ता व्यक्तिसँगै उसका घर परिवारका सबै सदस्यलाई पालिकाको क्वारेनटाइनमा लगिने भन्दै सचेत गराइएको छ ।

बाहिरबाट घर फर्केकालाई होम क्वारेन्टाइनमा लगिदै

जिल्लाको बढैयाताल गाउँपालिकाले सामाजिक सञ्जाल मार्फत सुचना जारी गरि यस्तो सचेत गराएको हो । पालिकाले होम क्वारेन्टाइनमा रहेकाहरु होम क्वारेन्टाइनमा बस्दाको नियम उलंघन गरेको पाइएमा त्यस्ता घर परिवारका सबै सदस्यलाई सिधै पालिकाको क्वारेन्टाइनमा लगिने बढैयाताल गाउँपालिकाका प्रशासकिय अधिकृत अर्जुन सुबेदीले बताए । ‘लकडाउनका बेला घर फर्केकाहरुलाई घरमै सेल्फ क्वारेन्टाइनको नियम पालना गरेर बस्न भनेका छौ । नियम नमानेको पाइएमा घरका सबैलाई क्वारेन्टाइनमा लान्छौ, ’ अधिकृत सुवेदीले भने । यस्तो महामारीको बेलामा व्यक्ति, परिवार र समुदायको सुरक्षाका लागि होम क्वारेन्टाइननै उत्तम उपाए भएकाले नियम पालना गरेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको उनले बताए ।

बढैयाताल गाउँपालिका बाँकेको नेपालगंजसँग सीमा जोडिएको पालिका हो । नेपालगंजमा कोरोना संक्रमित व्यक्ति फेला परेपछि यहाँ उच्च सर्तकता अपनाइएको प्रशासकिय अधिकृत सुबेदीले बताए । कोरोनाको जोखिमलाई मध्यनगर गरि बढैयाताल गाउँपालिकाले बाँकेसँगको सीमा पनि पूर्णरुपले शिल गरेको छ । एम्बुलेन्स, सुरक्षा निकय र स्वास्थ्यकर्मीका साधनवाहेक कसैलाई पनि नेपालगंज आवतजावतमा रोक लगाएको छ ।

औषधी उपचारका लागि नेपालगंज जानु परे पालिकाले सहजीकरण गर्ने बताइएको छ । पालिकाको सीमासँग जोडिएको उत्तर बासगढी नगरपालिका, पश्चिम गुलरिया नगरपालिका र पश्चिम उत्तर बारबर्दिया नगरसँग जोडिएका सीमा क्षेत्रबाट समेत अनावश्यकरुपमा यस पालिकामा प्रवेश निषेध गरेको छ । उत्तरतर्फको भारतीय सीमा क्षेत्रमा कडाइका साथ आवतजावत बन्द गरिएको छ । सीमामा चौबिसै घण्टा निगरानी गरिने पालिकाले जनाएको छ । नेपालगंजमा कोरोना संक्रमित फेला परेपछि बाँके जिल्लासँगको सीमाना मानखोलामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानीमा थप कडाइ गरेको छ ।

पालिका भित्र पनि कडाइ गरिएको छ । पालिका भित्र पनि कसैले पूर्व जानकारी विना मोटरसाइकल, साइकल चलाएको पाइएमा त्यस्ता सवारी साधन नियन्त्रणमा लिइने बताइएको छ । अत्यावश्क कामका लागि पालिका भित्रै एक गाउँबाट अर्को गाउँमा जान परेका अनिवार्य रुपमा प्रहरीलाई जानकारी गराइ अनुमती लिएर मात्र आउँजाउँ गर्न पाइने बताइएको छ । नियमितरुपमा औषधी सेवन गर्ने दिर्घ रोगीहरुको औषधी सकिएमा पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नु पर्ने र त्यस्ता दिर्घ रोगीहरुको औषधी ल्याउन पालिकाले आवश्यक सहयोग गर्ने बताइएको छ ।

प्रशासनले तोकेको समयमा पसल संचालन गर्नेले अनिवार्यरुपमा सबैले देख्ने गरि मूल्य सूची राखेर मात्र सामान बिक्रि वितरण गर्नु पर्ने छ । सामान बिक्रि वितरण गर्दा सामाजिक दुरी कायम हुने गरि डेढ मिटरको गोलो घेरा बनाइ बिक्रि वितरण गर्नु पर्ने बताइएको छ । पालिकाबाट अनुगमन हुँदा नियम पालना गरेको नपाइएमा त्यस्ता पसलहरु लकडाउन अवधीभर बन्द गरि नियमानुसार कारवाही गरिने पालिकाले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख २५, २०७७     9:08:49 AM  |