कोहलपुर ।
सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।
‘कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट मृत्युबरण गर्न नपरोस् भनेर अहिले अख्तियार गरेको नितिलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको छ’ बैठकपछि उनले भने । उनका अनुसार लकडाउन मन्त्रिपरिषद बैठकले थप छलफल गरेर निर्णय गर्नेछ ।
सदस्य सचिव विडारीले सरकारले कोरोना नियन्त्रणका लागि लिएको बाटो सही भएको पनि बैठकले निश्कर्ष निकालेको पनि जानकारी दिए । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । मंगलबार रातीसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । साथै २५ गतेपछि लकडाउन के हुन्छ भन्नेबारे आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए ।