नेपालगञ्ज ।
बाँकेमा कोरोना भाइरस समुदायमा सरेपछि संक्रिमतको संख्या बढेर आइसोलेसन वार्ड अभाव हुन सक्ने भन्दै विकल्पको खोजी गर्न थालिएको छ । नेपालगञ्जमा मात्र तीन दिनमै १६ जना कोरोना संक्रमित भेटिएपछि आइसोलेसन वार्ड अभाव हुने देखिएपछि थप आइसोलेसन वार्ड व्यवस्थापन गर्न लागिएको हो । नेपालगञ्जका एक व्यक्तिबाट कोरोना भाइरस समुदायमा सरेपछि संक्रिमतको संख्या बढेर एकैदिन १५ जना नयाँ थपिएका थिए । सोमबार राती १० बजेसम्मको तथ्यांक अनुसार बाँकेको नेपालगञ्जमा १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ बाँकी नै रहेकाले कोरोना संक्रमितहरुको संख्या अझै बढ्नसक्ने स्वास्थ्यकर्मीहरुले आंकलन गरेका छन् । सोमबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल नेपालगञ्ज पुगेरै कोरोनाविरुद्धको तयारी र कोरोना अस्पताल निर्माण गर्न सक्ने स्थान बारे छलफल गरेका थिए । बाँके र बर्दियाका कोरोना संक्रमित व्यक्तिहरुलाई खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा राखिनेछ । हाल त्यहाँ १६ जना संक्रमितहरुलाई राखिएका छन् । उक्त अस्पतालमा ४० आइसोलेसन, ३ भेन्टिलेसन र ६ आईसीयू वार्ड रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
मन्त्री बरालले चिकित्सक र सुरक्षा अधिकारीहरुको छलफलमा संक्रमित व्यक्तिहरुलाई उपचारका लागि राख्न ठाउँ अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए । खजुराको क्यान्सर अस्पतालमा आइसोलेसन वार्ड भरिए नेपालगञ्जको धम्बोझी रोडमा रहेको लायन्स क्लबको डेन्टल अस्पतालमा राख्ने व्यवस्था मिलाइएको छ । त्यहाँ २६ वेड बनाइएका छन् । संक्रमित व्यक्तिहरु थपिदै गए नेपालगञ्जका होटेल पनि आइसोलेसन कक्ष बनाउन सकिने सुझाव दिइएको छ । संक्रमित व्यक्तिहरुको अप्रेशन गर्नु परे कोहलपुरस्थित शिक्षण अस्पतालका चिकित्सकहरु प्रयोग गर्न सकिने अस्पताल प्रमुख डा.सुरेशकुमार कनौडीयाले बताए ।
‘अप्रेशनका लागि हामीसँग जनशक्ति छ । तर अस्पताललाई कोरोना अस्पताल बनाउन मिल्दैन’ उनले भने, ‘किनभने कोरोनाबाहेक सयौं बिरामी उपचारका लगि यहीँ आउँछन् ।’ समुदायमा कोरोना भाइरस फैलिएपछि नेपालगञ्ज उपमहानगरपालिका ८ जोलहनपुरवाका तीन सय जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमतिहरुको सम्पर्कमा आएका थप व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास जारी रहेको छ ।
कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरुको आज मंगलबार स्वाबं संकलन गरेर पीसीआर परीक्षणको लागि भेरी अस्पतालको प्रयोगशालामा पठाइने बताइएको छ । कन्ट्याक्ट ट्रेसिङको लागि स्वास्थ्य कार्यालय, सुरक्षाकर्मी र नेपालगञ्ज उपमहानगरपालिकाको टिम खटिएका छन् । शनिबार नै संकलन गरिएका मध्ये अझै पनि ३९ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी नै रहेको छ ।