12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

त्रिपालमुनी मुस्लिमहरुको रोजा ‘कोरोना अन्त्यको कामना’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १५, २०७७  

शुभाकर विश्वकर्मा, कोहलपुर ।

भारतको तेलंगना प्रदेशको हैदरावादका मुस्लिम समुदायका आठ घर दम्पति यतिबेला बाँकेको कोहलपुरमा त्रिपालमा आफ्नो ठूलो पर्व रमजान मनाइरहेका छन् । मुस्लिम समुदायको सबै भन्दा बढी लामो तथा पवित्र पर्वको रुपमा रहेको रमजान पर्व लकडाउनमा कारण उनीहरुले त्रिपालमुनी परदेशमा मनाउनुपरेको हो । उनीहरु लामो समयदेखि नेपालका विभिन्न जिल्लामा भाडाकुडा बनाउने काम गर्छन् । उनीहरु रमजान पर्व मनाउनको लागि भन्दै घर जाने भनेर चैत्र पहिलो साता नै कोहलपुर पुगेका थिए ।

तर कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि कोहलपुरमा नै त्रिपालमुनी बसिरहेका छन् । लकडाउनका कारण घर जान नपाएका आठ घर परिवार मुसलमान समुदायका उनीहरु कोहलपुर नगरपालिका वडा नम्बर ११ को बसपार्क नजिक खुल्ला चौरमा त्रिपाल टाँगेर बसेका छन् । शनिबारबाट सुरु भएको एक महिना लामो रमजानको रोजा उनीहरुले त्रिपालमै भएपनि सुरु गरेका हुन् । ‘विश्व नै कोरोना महामारीमा छ । देश पूर्ण रुपमा बन्द छ ।

घर जान पाइएको छैन । हामी त त्रिपालमा बसिरहेका छौ । यहीबाट कोरोना अन्त्यको कामना गरिरहेका छौं ’ लकडाउनका कारण एक महिना देखि कोहलपुरमा बस्दै आएकी गोइस्या बेगमले भनिन् । ४५ वर्षीय उनले अहिले सम्म कहिल्यै पनि रमजान घर बाहिर मनाएकी थिइनन् । विश्वभरी कोरोना भाइरसका कारण पहिलो पटक देश भन्दा बाहिर पवित्र पर्व मनाएको उनले बताइन् ।

उनका अनुसार भौगोलिक रुपमा जहाँ रहेपनि आफ्नो धर्म र संस्कृति कहिल्यै भुल्नु हुँदैन भनेरै त्रिपालमा भएपनि नमाज पढ्ने र रोजा बस्ने गरिएको हो । मुस्लिमहरुले यो पर्वको अवसरमा ठिक एक महिना लामो नमाज पढ्छन् । यस्तो बेला उनीहरुलै कुनैपनि किसिमको हत्या, हिंसा र नराम्रो सोच त्याग्नु पर्ने मान्यता राख्छन् । सोही अनुसार आफ्नो स्वास्थ्य अनुकुलताका आधारमा उपवास भन्छन् । जसलाई मुस्लिम धर्म अनुसार रोजा भन्ने गरिन्छ भने रजमानको रोजामा चाहिने खजुर प्रयोग हुन्छ ।

खजुर नभएका कारण बजारमा पाइने फलफूल किनेर ल्याएको र विश्वबाटै कोरोना अन्त्यको कामना गरिएको सैहेत जाहिर बताउँछन् । उनका अनुसार उनीहरुले कोरोना भाइरसका कारण एक महिना देखि जारी लकडाउनमा आफ्नो धार्मिक परम्परा अनुसार पनि रमजान मनाउन पाएनन् । ‘कोरोना र लकडाउनका कारण परम्परा अनुसार मनाउन पाइएन । तर विश्वभरी नै कोरोना मुक्तिको कामना गरेका छौं । कसैलाई केही पनि नहोस् भन्ने हाम्रो प्रार्थना र कामना छ’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने ।

यस्तै घरमा जान नपाएपनि आफ्ना समुदाय मै मनाउनुपर्छ भन्नको लागि सुर्खेतको छिन्चुमा बस्दै आएको रेश्मा बेगमको परिवार कोहलपुर आएको छ । उनीहरुले यहाँ आफ्ना समुदायका आफ्न्तसँग रमजानको रोजा मनाइरहेका छन् । उनले श्रीमान र एक छोरी सहित २ दिन अघि सुर्खेतबाट प्रहरीको सहयोगमा कोहलपुर आएको जानकारी दिइन् । अब लकडाउन खोलेको खण्डमा एक महिनासम्म यतै बसेर रोजा पुरा गर्ने र त्यसपछि सुर्खेत फर्किने उनको भनाई रहेको छ । उनीहरु पनि सुर्खेतमा लामो समयदेखि भाडाकुडा बनाउने काम गर्छन् । यता बाँके जिल्लामा समेत ठूलो संख्यामा मुसलमान समुदाय बसोबास गर्दै आएका छन् ।

उनीहरुले यहाँ प्रहरी प्रशासनले घर भित्रै नमाज पढ्न सूचना नै जारी गरेर आग्रह गरिसकेको छ । यहाँको नेपालगञ्जमा मुस्लिमहरुको बाक्लो बसोबास रहेको छ । यस पर्वमा विशेषगरी पाँच पटकको नमाज, तराविहको नमाज घर भित्रै पढिदिन आग्रह गरिएको थियो । सोही अनुसार यसपटक विगतका वर्ष जस्तो नेपालगञ्जमा चहलपहल सुन्य जस्तै छ । कोहलपुरमा रहेका भारतीय नागरिकले समेत त्रिपालमै पाँच पटकको नमाज पढिरहेका छन् ।

प्रकाशित मितिः सोमवार, बैशाख १५, २०७७     10:42:26 AM  |