18 September 2024  |   बुधबार, अशोज २, २०८१

प्रदेश ५ सरकारको निर्णय, कोरोना नियन्त्रण गर्न ७८ लाख निकासा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ११, २०७७  

कोहलपुर ।

प्रदेश ५ सरकारले प्रदेश विपद् व्यवस्थापन कोषबाट ७८ लाख रुपैयाँ कोरोना भाइरस जोखिम व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई ७८ लाख रुपैयाँ दिने निर्णय गरेको हो । सरकारले तराईका ६ जिल्लालाई ८ लाख र पहाडी ६ जिल्लालाई ५ लाख रुपैयाँको दरले रकम दिने निर्णय गरेको मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

बैठकले २०७७ सालमा प्रदेशले दिने ६ दिनको विदा सम्बन्धी निर्णय पनि गरेको छ । जस अनुसार बकर इदमा एक दिन, माघीरमाघे संक्रान्तिमा माघ १ गते र २ गते गरी दुई दिन, फागुन ३ गते प्रदेश स्थापना दिवसमा एक दिन विदा दिने निर्णय भएको छ । यस्तै स्थानीय तहको निर्णयबाट स्थानीय तहलाई एक दिन बिदा दिन सक्ने निर्णय पनि बैठकले गरेको थियो ।

यसैगरी निश्चित पर्व मनाउने समुदाय र ठाउँमा दिने विदा अन्तर्गत रुकुम, रोल्पाका मगर समुदायलाई भूमे पूजामा एक दिन, थारु समुदायलाई बड्का अतवारीमा एक दिन र भगवती जात्राको दिन पाल्पा जिल्लामा एक दिन विदा दिने निर्णय भएको छ ।

प्रदेश सरकारले बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णयसमेत गरेको थियो । यसैबिच प्रदेश ५ को प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले वैशाख १० गते बुधबार राति १२ बजेदेखि प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ११, २०७७     7:23:22 AM  |