कोहलपुर ।
बर्दिया बाँसगढी नगरपालिका, ०१ बबई चेपाङका आगलागी पिडितहरुलाई राहात उपलब्ध गराइएको छ । केही दिनअघि उक्त स्थानमा आगलागी हुँदा दुई घर पुर्ण रुपमा जल्दा चार घरपरिवार घरबारबिहिन बनेका थिए । उनीहरुलाई मंगलबार जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु र बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीको उपस्थितीमा राहात प्रदान गरिएको थियो ।
आगलागी पिडित धनमल बुढा, बुदे बुढा, लक्ष्छु खड्का र रामु खड्कालाई नगद पाँच हजारसहित अन्य साम्रगीहरु प्रदान गरिएको वडा अध्यक्ष जयराज पाण्डेले जानकारी दिए । उनीहरुलाई नगदसहित ओढ्ने ओछ्याउने, त्रिपाल, भाडाकुडा र सोलार सेट प्रदान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बाँसगढी उपशाखाको सहयोगमा राहात उपलब्ध गराइएको हो ।
गत आइतबार आगलागी हुँदा दुवै घरमा भएका सबै धनमाल जलेर नष्ट भएको वडाअध्यक्ष पाण्डेले बताए । सोही बेला नै खाद्यान्न सामग्री उनीहरुलाई प्रदान गरिएको उनले जानकारी दिए । बाँसगढी नगरपालिका प्रमुख अधिकारीले आगलागी पिडितहरुको घाउमा केही मल्हम लागोस् भनेर पहिलो चरणमा राहात उपलब्ध गराइएको बताएका थिए । आगामी दिनमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने उनले बताए । राहात पाएपछि उनीहरुले खुसी व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्