कोहलपुर ।
बाँके जिल्लामा सोमबार साँझसम्म गरिएको कोरोना भाइरस परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ । पीसीआर र आरडीटी प्रविधि मार्फत परीक्षण गरिएका सबै नमुनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दुवै प्रविधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी दिए ।
‘अहिलेसम्म पीसीआर र आरडीटी दुवै प्रविधिमार्फत गरिएका नमुनाहरुको रिपोर्ट नेगेटिभ आएको छ’ उनले भने, ‘अझै पनि हामीले दुवै प्रविधिको माध्यामबाट कोरोना परीक्षण गरिरहेका छौं ।’
पीसीआर परीक्षणका लागि काठमाडौं र रुपन्देही पठाइएका सबै ७६ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । त्यसैगरी सोमबार साँझसम्म जिल्लामा नै ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरीएका परीक्षणहरुको नतिजा समेत ‘नेगेटिभ’ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
‘सोमबारसम्म जिल्लाका विभिन्न क्यारेन्टाइनमा रहेका १ सय ५४ जनाको ¥यापिड टेस्ट गरिएको थियो’ उनले भने, ‘सबै जनाको कोरोना नेगेटिभ देखियो ।’ जिल्लाका क्यारेन्टाइनमा बसेको १४ दिन पुगेकाहरुको ¥यापिड टेस्ट गरिएको थियो ।
क्यारेन्टाइनमा रहेका १ सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएपछि थप ७ दिनसम्म होम क्यारेन्टाइनमा बस्ने कागज गराएर घर पठाइएको फोकल पर्सन श्रेष्ठले बताए । क्वारेन्टाइनमा निगरानीमा रहेकाको १४ औं दिन आरडीटी विधिबाट द्रुत परीक्षण गरिनेछ ।
रिपोर्ट नेगेटिभ आएमा थप सात दिन होम क्वारेन्टाइनमा राखिनेछ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखी पीसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिनेछ । बाँकेमा अब क्वारेन्टाइनमा ३ सय ४३ जना छन् ।
नेपालगञ्जमा २ सय ४, कोहलपुरमा ७५, जानकीमा २३, खजुरामा १४, डुडुवामा १२, राप्तीसोनारीमा १० र बैजनाथमा ५ जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । नरैनापुर गाउँपालिकामा कोही पनि क्वारेन्टाइनमा छैनन् ।











प्रतिक्रिया दिनुहोस्