बाँसगढीमा २ सय ५४ परिवारलाई राहत



रावन विश्वकर्मा, बाँसगढी

बर्दियाको बाँसगढी नगरपालिकाले खाद्यान्नको अभावमा दैनिकी चलाउन समस्यामा परेका २ सय ५४ परिवारलाई राहत वितरण गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका बेला समस्यामा परेका अति विपन्न परिवारको पहिचान गरी राहत वितरण गरेको हो ।

बिपत्को बेला घरमा खाद्यान्न नभएकै कारण कोही पनि नागरिक भोक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले बिहान साँझ छाक टार्न समस्या पर्ने अति विपन्न परिवारको लगत संकलन गरी वडागत रुपमा राहत वितरण गरिरहेको बाँसगढी नगर प्रमुख सालिकराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको राहात मापदण्ड २०७६ अनुसार जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवीको सहकार्यमा अति विपन्न र ज्याला मजदुरी गरी दैनिकी चलाउने परिवारहरुलाई राहात वितरण गरिएको हो ।

बाँसगढी नगरपालिका र सहयोगी मनकारीहरुबाट मंगलबारसम्म वडा नम्बर ३, ५, ६ र ८ का २ सय ५४ परिवारलाई राहत वितरण गरिएको बताइएको छ । बाँकी अन्य वडाहरुमा पनि राहत वितरण गरिने छ ।

मंगलबार वडा नम्बर ३ का ६० परिवारलाई राहत वितरण गरिएको थियो । स्थानीय सरकारको मापदण्ड अनुसार ५० परिवार र बाँसगढी ३ लखनाका भक्त बहादुर खत्री र वेलवाका रामचन्द्र थारुले ५/५ परिवारलाई गरी ६० परिवारलाई वडा कार्यालय मार्फत राहात वितरण गरिएको बाँसगढी वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम प्रसाद पौडेलले बताए ।

राहात वितरणको अवसरमा वडा अध्यक्ष पौडेलले आफ्नी स्वर्गीय श्रीमती पद्मा कुमारी पौडेलको नाममा नगरपालिकाको विपत् तथा प्रकोप व्यवस्थापन कोषमा नगद ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेका छन् ।

वडा अध्यक्ष पौडेलले नगर प्रमुख अधिकारीलाई सो रकम हस्तान्तरण गरेका थिए । त्यस्तै बाँसगढी नगरपालिका वडा नम्बर ८ मा १ सय ५ परिवार, ५ नं.वडामा ५५ परिवार र ६ नम्बर वडामा ३४ परिवारलाई राहात वितरण गरिएको छ ।

नगरपालिकाले प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल र २ वटा सावुन राहातको रुपमा वितरण आर्थिक अवस्था कमजोर भएका परिवारलाई उपलब्ध गराएको जनाएको छ ।

सरकारले लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी नमुना मापदण्ड बनाई सबै स्थानीय तहलाई पठाएको थियो ।

त्यस्तै बाँसगढी नगरपालिकाले स्थापना गरेको विपत् तथा प्रकोप व्यवस्थापन कोषमा मंगलबार पनि बिभिन्न व्यक्तित्वहरुले रकम जम्मा गरेका छन् ।

बर्दिया डिष्ट्रिलरीका प्रबन्धक नर बहादुर ओलीले १ लाख, बाँसगढी ३ का वडा अध्यक्ष प्रेमराज पौडेलले स्वं श्रीमतिको नामा ११ हजार १ सय ११ रुपैया र बाँसगढी नगरपालिका जिन्सी शाखा प्रमुख तथा विपत् व्यवस्थापन फोकल पर्सन शेर बहादुर केसीले १० हजार रकम कोषमा जम्मा गराएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २६ गते बुधबार