घरधनीहरुले घरभाडा मिनाहाको घोषणा



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका भित्रका केही घरधनीहरुले घरभाडा मिनाहाको घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरले व्यापार व्यवसाय बन्द रहेको कतीपय घरधनीहरुले घरभाडा बाफतको रकम नलिने घोषणा गरेका हुन् । मिसन टुडेलाई प्राप्त उनीहरुले गरेको घोषणा अनुसार कम्तीमा एक महिना देखि यो अवस्था सामान्य नहुँदासम्म छुट दिने बताइएको छ ।

कोहलपुरमा लामो समयदेखि व्यवसाय गर्दै आएका बिष्णु प्रसाद खनालले कोरोना भाइरसले ल्याएको यो अवस्था सामान्य नहुँदासम्म घरभाडा छुट दिने घोषणा गरेका छन् । कोहलपुर नगरपालिका ११ दशबिगाहमा घर भएका उनले अहिलेको अवस्था सामान्य नहुँदासम्म आफ्नो घरका कोठाहरु भाडामा लिई बस्नेहरुसँग भाडा नलिने घोषणा गरेका हुन् । ‘मैले घरभाडा बाफत मासिक ३४ हजार रुपैयाँ उठाउँने गरेको थिए’ उनले मिसन टुडेसँग भने, ‘अब अहिलेको अवस्था सामान्य नहुँदासम्म घरभाडा नलिने निर्णय गरेको छु ।’ घर भाडामा लिएर बस्नेहरुलाई उनले आफुले भाडा नलिने भन्दै घर पठाइसकेका छन् ।

‘लकडाउनका कारण उहाँहरुको (घर भाडा बस्ने) आम्दानी पनि हुन सकेको छैन’ खनालले भने, ‘यो अवधी दुई चार महिना जती लम्बीएपनि घरभाडा लिनेछैन ।’ कोहलपुरमा लामो समयदेखि व्यवसाय गर्ने खनाललाई व्यवसायीका नेता समेत भनेर चिनिन्छ । उनीहरुले केही दिनअघि कोहलपुरको न्यूरोड चोकमा निशुल्क रुपमा साबुन पानीले हात धुने व्यवस्था मिलाइदिएका थिए । बाँके कोहलपुर नगरपालिका, ११ का नवराज ओलीले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण व्यापार व्यवसाय नभएकाले उनले आफ्नो घरमा बस्नेहरुलाई एक महिनाको घरभाडा नलिने घोषणा गरेका हुन ।

नेपाल सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै गत चैत्र १० गतेदेखि आगामी २५ गतेसम्म ‘लकडाउन’ को घोषणा गरेको छ । यसले गर्दा अधिकांश मानिसहरु घरभित्र बस्न बाध्य छन् । कोहलपुर नगरपालिका ११ दशबिगाहमा नागरीक फार्मेसी सञ्चालन गर्दै आएका ओलीले सोही ठाउँमा रहेको घरमा बस्नेहरुलाई चैत्र महिनाको घरभाडा नलिने भएका हुन् । ‘विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण व्यापार व्यवसाय गरी बसेका व्यापारी साथिहरु तथा अन्यहरु मर्कामा परेका छन्’ उनले भने, ‘सोही कुरालाई मध्यनगर हामीले एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेका हौं ।’ सरकारले घरधनीहरुलाई एक महिनाको घरभाडा मिनाहा गरिदिन आग्रह गरिसकेको अवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २५ गते मंगलबार