सुदीप अधिकारी । बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले ५ जना विदेशी पर्यटकलाई खाद्यान्न सहयोग गरेको छ ।
कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउनको आह्वान गर्नु भन्दा पहिला अघि नै बर्दिया घुम्न आएका ती विदेशी पर्यटकको खर्च सकिन थालेपछि नगरपालिकाले उनीहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
ठाकुरद्धारास्थित वाइल्ड ट्रेड रिर्सोटमा दुइ हप्ता अघिदेखि बसिरहेका ३ जना इंगल्याण्ड र २ जना इटालीका पर्यटकहरु बसिरहेका छन् । उनीहरुलाई एक हप्तासम्म पुग्ने चामल, दाल, नुन, तेल,तरकारी सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले पहिलो चरणमा एक हप्ताका लागि खाद्यान्न सहयोग गरिएको बताए । उनका अनुसार आवश्यकताका आधारमा सामान्य परिस्थिति नहुञ्जेल सम्म सहयोग नगरपालिकाले नै गर्नेछ ।
‘सबैजना अहिले सुरक्षित छन्, हामीले क्वारेन्टाइनमा बस्न आग्रह गरेका थियौ’ उनले भने, ‘छुट्टै क्वारेन्टाइनमा बस्न मानेनन् ।उनीहरु बसीरहेको होटल मै टेन्ट लगाएर क्वारेन्टाइनमा झै सुविधामा दिएर राखेको छौ ।’
यता नगरपालिकाले आफूहरुलाई खाद्यान्न सहयोग गरेको भन्दै ती पर्यटकहरुले खुसी व्यक्त गरेका छन् । बिदेशी पर्यटकका लिडर टोनीले आफूहरुलाई नगरपालिकाले सहयोग गरेको भन्दै खुसी लागेको बताए ।
सहयोग पाएपछि टोनीले भने, ‘ होटलको सहयोगमा खायौँ बस्यौँ । अहिले स्थानीय सरकारले खाद्यान्न सहयोग गरेको छ । अब होटललाई पनि दुःख दिन्नौँ, आफै पकाएर खान्छौ ।’ नेपालीहरुको अपनत्व देखेर आफूहरु निकै खुशी भएको उनले बताए ।
बेखर्ची भएका पाहुनालाई अहिलेसम्म आफूहरुले एक छाक खाना र बास निःशुल्क गरेको होटल संचालक ब्रिटिस नागरिक जोन र सीताराम थारुले बताए । उनीहरु केही महिना देखि सोही होटलमा बस्दै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्