गलत समाचारको भ्रममा नपर्न बैजनाथ गाउँपालिकाको आग्रह



कोहलपुर ।
बाँके बैजनाथ गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित प्रसारित सञ्चार सामग्री प्रति आपत्ति जनाएको छ ।

गाउँपालिका प्रवक्ता गुमानबहादुर दमाईले एक विज्ञप्ति जारी गरी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम अभियानमा गाउँपालिका क्रियाशिल भईरहेको बेला कार्यालय समयमा कार्यकक्ष नखुलेको भन्ने तथ्यहीन समाचार प्रकाशनप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘कार्यालय समय अगावै तस्बिर खिचेर सामाजिक सञ्जालमा बैजनाथ गाउँपालिकाको बारेमा आएको सञ्चार सामाग्रीमा कुनै सत्यता छैन, त्यसमा कसैलाई पनि भ्रममा नपर्न आग्रह छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘बैजनाथ गाउँपालिकाको सबै सेवा पारदर्शी रुपमा भएको छ, आवश्यक परे सम्बन्धित तालुक निकायबाट पनि कार्यालय र काम कार्वाहीवारे जानकारी लिन सकिन्छ ।’

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गाउँपालिकाले पालिकास्तर र वडास्तरमा रोकथाम तथा नियन्त्रण समन्वय समिति गठन गरी राहत सङ्कलन तथा वितरण गर्ने कार्य एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कोरोना भाईरस संक्रमण रोकथामका लागि जारी लकडाउनले प्रभावित दैनिक ज्यालादारी र विपन्न समुदायका तथ्याङ्क सङ्कलन वडागत तहबाट भईरहेको र केहीदिनमै राहत वितरण गर्ने गरी कार्य भईरहँदा गाउँपालिकाको बारेमा तथ्यहीन समाचार प्रकाशन गरी हतोत्साही बनाउने काम भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २३ गते आइतबार