देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा रगत अभाव भएको छ । रगतको चरम अभाव देखिएपछि यतिबेला क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जमा रगतदान गर्नेको संख्या दिनानुदिन बढ्दै जान थालेको छ । यतिबेला रक्त सञ्चार केन्द्रमा इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखिएको छ । शुक्रबार मात्र ‘निगरानि समुह’ बाँकेले केन्द्रमा देखिएको रगत अभावलाई सहयोग पु¥याउने उद्देश्य अनुरुप रक्तदान गरेको थियो । निगरानी समुहको अनौपचारिक आयोजनामा गरिएको उक्त रक्तदान कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका भित्रका करि एक दर्जन युवाहरुले रगत दान गरेका थिए ।
कोरोना संक्रमणका कारण सरकारले लकडाउन र बाँके प्रशासनले जनता कफ्र्यू जारी राखेको अवस्थामा पनि ती युवाहरु रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गरेको निगरानी समूह बाँकेका अध्यक्ष कमल न्यौपाने जानकारी दिए । बाँकेमा रगत अभाव हुन नदिन कोरोना र लकडाउनको जोखिम मोलेरै भएपनि आम नागरिकले रगत दान गर्नुपर्ने उनले बताए । विशेषगरि संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको रक्तसञ्चार केन्द्रले जनाएको छ । संस्थागत रक्तदान नभएपछि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगञ्जले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए । रगत अभाव भइरहेको बेला रगत दान गरेर मानवीय सेवामा समर्पित हुन प्रेरित गर्दै रक्तदानमा लाग्न रक्तदाता ऋषी देवकोटाले आग्रह गरेका छन् ।
उनले स्वास्थ्य जोखिमको घडीमा रगत आवश्यक पर्ने भएकाले ब्यक्तिगत तथा संस्थागत नियमित रक्तदाताले रगत दान गर्न जोड दिए । कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै रक्तदाता अनील आचार्यले बाँकेमा देखिएको रगत अभाव पूर्तीका लागि बेलैमा रक्तदान गर्न आम नागरिकलाई अपील गरेका छन् । यतिबेला लकडाउन र कोरोना भाइरसको संत्रासका कारण नियमित रगतदाताले समेत रक्तदान नगरेकाले समस्या आएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्