नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा अटोरिक्सा चालकहरुले ट्राफिक प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । ट्राफिक प्रहरीले आफुहरुमाथि ज्यादती गरेको भन्दै बिहिबार स्थानीय बीपी चोकमा प्रदर्शन गरेका थिए । उनीहरुले केहीबेर नेपालगञ्ज उपमहानगरपालिकामा धर्ना दिनुका साथै सडक समेत अवरुद्ध पारे ।
ट्राफिक प्रहरीले आफुहरुलाई दुःख दिइरहेको, अनावश्यक रुपमा फाइन लिने गरेकाले आन्दोलन गर्न बाध्य भएको डुडुवा गाउँपालिका ६ हिरमिनियाका अटोरिक्सा चालक अमृतराम महाउतले बताए । दुःख गरेर कमाएको दिनभरीको रकम ट्राफिक प्रहरीले फाइनका नाममा लग्ने गरेको उनले आरोप लगाएका थिए । प्रर्दशनमा सहभागि भएका अटोरिक्सा चालकहरुले ट्राफिक प्रहरी विरुद्ध चर्का नाराबाजी गरेका हुन् ।
साइडमा रोक्दा पनि, पार्किङ्गमा बस्दा पनि प्रहरीले आफुहरुलाई दुःख दिने गरेको अर्का अटोरिक्सा चालक नेपालगञ्जका भेषण कुमार शाहले बताए । ‘रकम जम्मा गरी गरी रिक्सा किनेर पेट पाल्न खोजेपनि पाल्न गाह्रो भयो’ उनले भने, ‘हामी गरिबमाथि समेत ट्राफिक प्रहरीले अत्याचार गरिरहेको छ ।’ पार्किङ्गका बेलामा प्रहरीले आफुहरुलाई लट्ठी हान्ने गरेको रिक्सा चालकहरु बताउँछन् । बाँकेमा करिब १२ हजार अटोरिक्सा रहेको बताइन्छ । प्रर्दशनपछि केही समयसम्म अटोरिक्सा चेकजाँचलाई कडाईका साथ अगाडि नबढाउने मौखिक सहमती भएको छ । ट्राफिक प्रहरीले भने बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनको बाधक अटोरिक्साहरु रहेको बताउँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्